उमेशको इन्ट्रीसँगै बेस्ट फाइनान्सको छलाङ, समस्याग्रस्त संस्थालाई यसरी गरे सुधार



काठमाडौं । बिग्रेको संस्थामा जाने र त्यसलाई सुधार गर्ने बैंकरको परिचय बनाएका उमेश भण्डारीले बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढी समय व्यतित गरिसकेका छन् ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा काम गरेको अनुभव संगालेका उनले बेस्ट फाइनान्समा प्रमुख कार्यकारी अधिकृत (सीइओ)का रुपमा काम गरेको एक वर्ष भइसकेको छ ।

कुनैबेला समस्याग्रस्त भएको उक्त फाइनान्सको चैत महिनाको वित्तीय विवरणमा सुधारका संकेतहरु देखिइसकेका छन् ।

चैत मसान्तको विवरण अनुसार फाइनान्सको नाफा अघिल्लो आवको तुलनामा दोब्बर भइसकेको छ । अघिल्लो आवको चैत महिनासम्म ७ करोड ११ लाख गरेको नाफा आर्जन गरेको बेस्ट फाइनान्सले चालु आवको चैतसम्ममा १५ करोड २६ लाख नाफा आर्जन गरिसकेको छ ।

समस्याग्रस्त संस्थालाई सुधार गर्ने चुनौतीले बेस्ट फाइनान्स आफू आएको भण्डारीको भनाइ छ ।

‘कुमारी बैंकबाट बाहिरिएपछि म बेस्ट फाइनान्समा एउटा सपना लिएर आएको छु, यसलाई संस्थागत बनाएर अघि बढाउने योजनामा हामी छौ,’ भण्डारीले भने ।

भण्डारीसँग माछापुच्छ्रे बैंक, स्ट्यान्डर्ड फाइनान्स र काष्ठमण्डप डेभलपमेन्ट बैंक, एनबीदेखि नारायणी नेशनल फाइनान्समा काम गरेको अनुभव छ ।

उनले नेतृत्व गरेका संस्थालाई मर्ज गराउँदै समेत लगेका छन् । नारायणी नेशनलदेखि शुरु भएको मर्जरको यात्रा स्ट्यान्डर्ड फाइनान्स हुँदै काष्ठमण्डप डेभलपमेन्टसँग पुग्यो ।

मर्जरको अनुभवका आधारमा भण्डारी यसलाई आवश्यता अनुसार चलाउनु पर्ने बताउँछन् । स्ट्यान्डर्ड फाइनान्स र माछापुच्छ्रेको मर्जर सफल भएको तर, काष्ठमण्डपलाई कुमारीमा लैजाने निर्णय गलत भएको अनुभव भण्डारी बताउँछन् ।

‘कुमारीमा मर्ज भएपछि नयाँ सीइओ आउनुभयो उहाँले मर्जरको भावना बुझ्न नसक्दा सफल देखिएन, जुन एनएमबिमा देखियो,’ भण्डारीले भने ।

एनपीएलमा सुधार गर्दै आगामी वर्ष प्रतिफल दिने रणनीति
समस्याग्रस्त संस्था भएकाले बेष्ट फाइनान्सको अघिल्लो वर्षसम्म खराब कर्जा अनुपात १५ प्रतिशतभन्दा बढी थियो । भण्डारी आउने समयमा बेष्ट फाइनान्सको एनपीएल ३० प्रतिशतको हाराहारीमा थियो । चैत मसान्तको वित्तीय विवरणले एनपिएल २.२४ प्रतिशतमा झरेको छ ।

‘समस्याग्रस्त हुने वित्तीय संस्थामा एनपीएल मुख्य समस्या हो, यसलाई घटाउन सफल भएका छांै,’ भण्डारीले भने ।

फाइनान्सले अब आफूले सकारेको गैरबैकिङ सम्पत्ति (एनबिए)लाई बेच्ने नीति लिएको छ । आगामी वर्षसम्ममा लाभांश दिनसक्ने क्षमतामा फाइनान्सलाई पुर्याउने लक्ष्य लिएको भण्डारीले जानकारी दिए ।

‘आगामी वर्षसम्ममा ५ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमतामा फाइनान्स पुग्ने देखिन्छ । त्यसपछिका वर्षमा फाइनान्सले राम्रो गर्छ,’ भण्डारीले सुनाए ।

९ महिनामा १५ करोड रुपैयाँ नाफा गरे पनि फाइनान्स अहिलेसम्म नोक्सानीमा छ । चैत मसान्तको वित्तीय विवरण अनुसार २४ करोड ६८ लाख रुपैयाँको नोक्सानीलाई नाफामा लगेर लाभांश खुवाउने रणनीति भण्डारीले बनाएका छन् ।

समस्याग्रस्त अवस्थाबाट सुधार भएकाले कर्मचारीको मनोबल बढाउन सबैलाई तालिम तथा प्रविधिमैत्री बनाएर कामअघि बढाएको हुँदा केही सुधारको संकेत देखिएको दाबी भण्डारीको छ ।

८२ करोड ८९ लाख चुक्ता पुँजी रहेको फाइनान्सको पुँजीकोष अनुपात २४.१९ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.६८ प्रतिशत छ ।

समस्याग्रस्त अवस्थाबाट हटेको हुँदा फाइनान्स पुँजीको अनुपातमा व्यवसाय गर्न सकेको छैन । फाइनान्सले चैत मसान्तसम्ममा ३ अर्ब २२ करोड निक्षेप संकलन गरेर २ अर्ब ९० करोड कर्जा प्रवाह गरेको छ ।

राष्ट्र बैंकले तोकेको सीडी रेसियोको सीमामै बस्दा पनि फाइनान्स अझै केही रकम कर्जा दिनसक्ने अवस्थामा छ । यस्तै पुँजीकोष अनुपात २४ प्रतिशत भएकाले हुँदा अहिलेको पुँजीमा व्यवसाय बढाउन सकिने स्पेस बाँकी नै छ ।

पुँजीका आधारमा व्यवसाय गर्न सक्ने र प्रतिफल दिन सक्ने सम्भावना फाइनान्ससँग छ । वाणिज्य बैंकहरु पुँजीको आकारले ठूला भइसके । राष्ट्रियस्तरका विकास बैंकहरु पनि ठूला हुन थालिसकेका छन् । यस्तोमा फाइनान्स कम्पनीको महत्व अझै बढ्ने र अहिले सञ्चालनमा रहेका फाइनान्स कम्पनी चल्न सक्ने बुझाइ भण्डारीको छ ।

सुधारपछि उद्यमशिलता बढाउन फोकस गर्ने

तीन दशक बैंकिङ क्षेत्रमा बिताएका भण्डारी अहिलेसम्म बैंकरका रुपमा पिरामिडको माथिल्लो तहमा मात्रै काम गरेको महशुस भण्डारीले गरेका छन् ।

‘३० वर्षमा टाइसुट लगाएर कर्पोरेटलाई मात्र बढी फोकस हुने काम गरियो,अब पिरामिडको तल्लो तहलाई फोकस हुने गरेर काम गर्ने योजना बनाएका छौ,’ भण्डारीले भने ।

उनको योजना छ, पहिलो चरणमा फाइनान्सलाई सुधार गर्ने र त्यसपछि उद्यमशिलता विकासमा काम गर्ने । फाइनान्सको सुधारपछि व्यवसायको दायरा बढाउन सजिलो हुने तथा आफूले सोचे अनुसारको काम गर्ने योजना बनाएका छन् ।

‘कृषि र उद्यमशिलतामा काम गर्नका लागि केही योजना अगाडि बढेका छन्, आगामी आर्थिक वर्षदेखि त्यो काम शुरु हुन्छ,’ भण्डारीले भने ।

वित्तीय क्षेत्रमा वर्ग विभाजन हटाउन जरुरी

अहिले राष्ट्र बैंकले वर्ग विभाजन गरेर बैंक तथा वित्तीय संस्थालाई सञ्चालन गर्ने छ । ‘क’ वर्गमा वाणिज्य बैंक, ‘ख’मा विकास बैंकका साथै वित्त कम्पनी ‘ग’ वर्ग र लघुवित्तलाई ‘घ’ वर्गमा विभाजन गरिएको छ ।

नेपाल राष्ट्र बैंकले गरेको सर्भेले वर्ग विभाजन हटाएर युनिभर्सल बैंकिङमा जानुपर्ने सुझाव दिएको छ ।
वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीमा काम गरेका आधारमा भण्डारी वर्ग विभाजन हटाउन आवश्यक भएको बताउँछन् ।

‘एलसी, ग्यारेन्टी र विदेशी मुद्राको कारोबार फाइनान्सले गर्न नपाउने व्यवस्था छ, यसबाहेक बैंक र फाइनान्सको काममा फरक छैन, यो वर्ग राख्नुभन्दा युनिभर्सल बैंकिङमा जानुपर्छ,’ भण्डारीले भने ।

राष्ट्र बैंकले ‘क’ र ‘ख’ वर्गका बैंकलाई पछाडि बैंक लेख्न दिन्छ । तर, ‘ग’ वर्गको फाइनान्सले बैंक लेख्न नपाउने व्यवस्था छ । जसले गर्दा सर्वसाधारणमा ‘ग’ वर्गको फाइनान्स र सहकारी एउटै हो भन्ने भ्रम छ ।

‘फाइनान्स र सहकारी एउटै हो भन्ने बुझाइले हामीलाई समस्या भएको छ, फाइनान्सलाई वित्तीय बैंक लेख्न दिनुपर्छ,’ भण्डारीले भने ।


क्लिकमान्डु