चैतमा मात्रै १२८४ वटा सवारी आयातका लागि खोलियो एलसी, सबैभन्दा बढी कियाको



फाइल फाेटाे

काठमाडौं । उच्च आयातले गर्दा विदेशी सञ्चिति घट्दै गएको, तरलता अभाव भएपछि गत पुसमा राष्ट्र बैंकले सवारी साधन आयातमा प्रतितपत्र (एलसी) खोल्न ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो ।

उक्त व्यवस्थाले पनि सवारी साधन आयातमा कमी नआएपछि राष्ट्र बैंकको निर्देशनमा गत चैतको अन्त्यतिर बैंकर्स संघले एलसी नखोल्ने निर्णय गरेको थियो । राष्ट्र बैंकले सवारी साधनको आयातमा ५० प्रतिशत मार्जिनको व्यवस्था गरेपनि चैत महिनामा विद्युतीय सवारी साधनसहित १२ सय ८४ वटा सवारी साधन आयातका लागि एलसी खोलिएको छ ।

उक्त सवारी साधनको आयातका लागि चैत १ देखि २५ गतेसम्ममा पेट्रोलियम गाडीसहित विद्युतीय गाडी, तीन पाङ्ग्रे गाडी र स्कुटरसहित १२ सय ८४ वटा सवारी साधन आयातको लागि एलसी खोलिएको पाइएको छ । जसमध्ये ३३२ वटा सवारी साधन भने विद्युतीय तीन पाङ्गे र स्कुटर रहेका छन् ।

चैत २५ गतेसम्ममा विभिन्न मोडलका गाडी आयात गर्न ११ वटा वाणिज्य बैंकबाट एलसी खोलिएको छ । उक्त एलसी खोलिएको मध्ये सबैभन्दा बढी किया मोटर्स रहेको छ ।

किया मोटर्सका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नबिल बैंकबाट एलसी खोलेको छ । नबिलबाट ६३० वटा गाडी आयात गर्नका लागि एलसी खोलेको प्राप्त विवरणमा उल्लेख छ । उक्त कम्पनीको २८० वटा किया सेल्टोस र ३५० वटा किया सोनेट आयात गर्न एलसी खोलिएको जनाएको छ ।

कियासँगै धेरै एलसी खोल्नेमा टाटा मोटर्स रहेको छ । टाटा मोटर्सका लागि आधिकारिक विक्रेता सिप्रदी टे«ेडिङले २५ दिनको अवधिमा पेट्रोलियम र विद्युतीय गरी १५३ वटा सवारी साधन आयातका लागि दुई वटा बैंकबाट एलसी खोलेको छ । कम्पनीले नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्यान्डर्ड च्याटर्ड बैंकबाट एलसी खोलेको हो ।

त्यस्तै रेनल्ट गाडीको आधिकारिक विक्रेता एड्भान्स अटोमोबाइलले स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट ३० वटा र महिन्द्राको लागि आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेट प्रालिले स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १२५ वटा महिन्द्रा स्कोर्पियो आयात गर्न एलसी खोलेको छ ।

सोही अवधिमा स्याकर ट्रेडिङले ग्लोबल आइएमी बैंकबाट ४ वटा, पारामाउन्ट मोटर्स (मज्दा)ले एभरेष्ट बैंकबाट २ वटा, विद्युतीय तीन पाङ्ग्रे सवारी सानध (पियजीओ)को आधिकारिक विक्रेता भिभेक अटोमोबाइलले सिटिजन बैंकबाट ६० वटा, टोयोटाको लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर सिण्डिकेट प्रालिले बैंक अफ काठमाण्डूबाट ४ वटा, बीएमडब्लूका लागि आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सले नेपाल इन्भेष्टमेन्ट बैंकबाट २ वटा, जीप भेकल्सले २ वटा, शदाब एण्ड कम्पनीले २७० वटा इलेक्ट्रिक स्कुटर र न्यू साक्क्षी मोटर्सले विद्युतीय सवारी साधन २ सवारी साधान आयातका लागि एलसी खोलेको हो ।


क्लिकमान्डु