जडीबुटीको निर्यात बढ्दै, सहुलियत दिए वार्षिक ५ अर्बको निर्यात हुन सक्ने



काठमाडौं । नेपालबाट उत्पादन भई निर्यात हुने वस्तुको हिस्सा निकै कमजोर छ । तर, कतिपय क्षेत्रले निर्यातको हिस्सा निकै कम भए पनि सुधार गर्दै व्यापारघाटा कम गर्न योगदान पुर्याउँदै आएको छ ।

नेपालले मासिक रुपमा डेढ खर्ब रुपैयाँभन्दा बढी मूल्यको वस्तु आयात गर्दा नेपालको निर्यातित वस्तुको अवस्था निकै कमजोर हुँदा अर्थतन्त्र नै आयातमुखी बनेको छ । साथै, आयातित वस्तुले गर्दा अहिले अर्थतन्त्र नै धाराशायी बन्न पुगेको छ ।

नेपालले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा हालसम्मकै उच्च निर्यात गरी नयाँ रेकर्ड कायम गरेको छ । तर, उक्त निर्यात वस्तुमध्ये आयात गरेर प्रशोधन भई निर्यात हुनेको हिस्सा ५० प्रतिशत बढी भएकाले निर्यातमा खासै सुधार हुन नसकेको जानकारहरू बताउँछन् ।

नेपालबाट मुख्य उत्पादन भई निर्यात हुनेमा अलैंची, चिया, हस्तकला, कार्पेट, जडीबुटी, अदुवालगायतका वस्तु रहेको छ । साथै, सो वस्तुहरू निर्यात भई वैदेशिक व्यापारमा ठूलो योगदान पुर्याउँदै आएको छ ।

त्यस्तै, नेपालको व्यापारघाटा कम गर्न नेपालबाट मुख्य रुपमा निर्यात हुँदै आएको वस्तु हो जडीबुटी । निर्यातित जडीबुटीको हिस्सा धेरै ठूलो नभएपनि यसले प्रत्यक्ष रुपमा अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको छ ।

नेपालबाट प्रमुख निर्यात हुँदै आएको जडीबुटीमा व्यवसायीहरूले उत्पादन बढाएर वार्षिक डेढ अर्बभन्दा बढी मूल्य बराबरको जडीबुटी निर्यात गर्दै आएका छन् ।

नेपालका जडीबुटी व्यवसायीहरूले देशभरबाट संकलन गरेर उत्पादित जडीबुटी विभिन्न मुलुकमा निर्यात गर्दै आएका छन् । तर, सरकारले यस क्षेत्रलाई प्रत्यक्ष रुपमा सहयोग नगर्दा लाभ लिन नसकेको जडीबुटी व्यवसायीहरूको भनाइ छ ।

नेपाल हब्र्स तथा हर्बल उत्पादक संघका उपाध्यक्ष सुशील ज्ञवालीले वैदेशिक व्यापारघाटामा ठूलो योगदान पुर्याउने जडीबुटी क्षेत्रलाई निर्यातमा सरकारले बेवास्था गर्दा लाभ लिन नसकेको बताए ।

उनका अनुसार निर्यात क्षेत्रमा निकै सम्भावना बोकेको यस क्षेत्रमा सरकारले कुनै प्रकारको ध्यान दिन नसक्दा जडीबुटीको निर्यातमा विकास गर्न सकेको छैन ।

‘नेपालबाट हरेक वर्ष जडीबुटीको निर्यात बढ्दै गएको अवस्थामा कोभिडकै समयमा झनै बढेको छ,’ उनले भने ।

नेपालको जडीबुटीको अधिकांश हिस्सा चीन र भारत भएकाले चीन र भारतसँगको खुल्ला सिमानाले गर्दा उक्त निर्यात वस्तुको यकिन तथ्याङ्क नदेखिएको उनको भनाइ छ । यदि उक्त खुल्ला सिमानाबाट निर्यात हुने वस्तुलाई नियन्त्रण गर्ने हो भने पनि नेपालबाट वार्षिक २ अर्बको हाराहारीमा निर्यात हुँदै आएको उनले जिकिर गरे ।

‘जडीबुटीको निर्यातलाई औपचारिक रुपमा पठाउने हो भने निर्यात मूल्य अझ धेरै हुन्थ्यो,’ उनले भने ।

विश्व बजारमा नेपाली जडीबुटीको बजार हिस्सा ०.२ प्रतिशतले ओगट्न सकेको विभिन्न अध्ययनले देखाएको छ । नेपालबाट विशेषगरी छिमेकी मुलुक भारत र चीनमा ९० प्रतिशत नेपाली जडीबुटीहरू कच्चा पदार्थको रुपमा निर्यात हुँदै आएको छ ।

भारत र चीनले सजिलै कच्चा पदार्थ लिने भएका कारण उक्त देशहरूले प्रशोधन गरी अन्य मुलुकहरूमा उत्पादनहरू निर्यात गर्छन । तर, नेपाल आफैले भारतमा कच्चा पदार्थ निर्यात गरी भारतबाट आयुर्वेदिक औषधी भने उच्च रुपमा आयात गर्दै आएको छ ।

अमेरिका मुख्य बजार हुन सक्ने
नेपालको मुख्य बजार अहिले भारत र चीन भएकाले आगामी दिनमा मुख्य बजार युरोप, अमेरिका हुने सक्ने व्यवसायीहरूको अनुमान छ । अहिले पछिल्लो समय अमेरिकाका उच्च रुपमा नेपाली जडीबुटीको माग भएकाले नेपालबाट निर्यात गर्न सके धेरै लाभ लिन सक्ने संघको भनाइ छ ।

तर, अमेरिकामा तथा युरोपमा निर्यात गर्नका लागि आइएसो प्राप्त अर्थात् अर्गानिक वस्तुको इजाजत प्राप्त भएको वस्तु हुने पर्ने मापदण्ड राखेको छ । नेपालको अधिकांश वस्तु अर्गानिक भनिए पनि अन्तर्राष्ट्रिय बजारमा मान्यता प्राप्त नहुँदा पनि व्यवसायीहरूले पर्याप्त मात्रामा जडीबुटी निर्यात हुन नसकेको व्यवसायीहरूले बताएका छन् ।

हाल नेपालबाट अमेरिकामा सुगन्धित तेल निर्यात गर्दै आएको छ । तर, आगामी दिनमा सरकारले जडीबुटी निर्यातमा जोड दिएमा अमेरिका तथा युरोप मुख्य बजार हुन सक्ने उनीहरूको अनुमान छ ।

त्यस्तै, संघका निवर्तमान अध्यक्ष गोविन्द घिमिरेले अमेरिका गन्तव्य बजार हुन सक्ने बताउँदै जडीबुटीको गुणस्तर उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

उनका अनुसार सरकारले कलेक्निटभ ट्रेडमार्कको बजार प्रवद्र्धन, अर्गानिक प्रमाणीकरण, युएस एफडीए, इराडिकेशन प्रविधिको प्रविधिको प्रयोग तथा प्याकेजिङ, ब्रान्डिङमा सुधार र भोलेण्टरी सर्टिफिकेटहरूमा सुधार गर्न सके निर्यातमा सुधार गर्न सक्नेछ ।

सरकारले सहुलियत दिए वार्षिक ५ अर्बको सहजै निर्यात गर्न सक्ने

अहिले नेपालले वार्षिक रुपमा डेढ अर्बभन्दा बढी मूल्य बराबरको जडीबुटी निर्यात गर्दै आएको छ । तर, हाल निर्यात भइरहेको अवस्थामै सरकारले किसान, व्यवसायीलाई सहुलियत प्रदान गरे उत्पादन बढाउन सक्ने ज्ञवालीको भनाइ छ ।

उनकाअनुसार अहिले नेपालमा जडीबुटी उत्पादनमा कुनै समस्या छैन । तर, अन्तर्राष्ट्रिय बजारमा जडीबुटीबारे जानकारी दिन नसक्दा, व्यापार मेलामा सहभागी हुन नसक्दा र प्रदर्शनी गर्न नसक्दा नेपालले जडीबुटी निर्यातमा सुधार गर्न सकेको छैन ।

‘व्यवसायीहरू आफैले खर्च गरेर अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी हुन सक्दैन,’ उनले भने, ‘सरकारले सो व्यवस्था गरे बजारीकरण गर्न सहज भई निर्यातमा सहयोग टेवा पुग्नेछ ।’

अहिले नेपालमा उत्पादनको समस्या छैन । तर, विभिन्न नीतिगत कार्य निकै झन्झटिलो भएकाले बजार हिस्सा गुमाउँदै गएको उनको भनाइ छ ।

यदि सरकारले व्यवसायीलाई सहुलियत दिने, प्रवद्र्धन गर्न सहयोग गर्ने, व्यवस्थापन गर्ने, कोल्ड स्टोर बनाउने, संकलन उपकरण दिने, अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सर्टिफिकेट प्रदान गर्ने र खुल्ला सिमाना नियन्त्रण गर्ने हो भने वार्षिक ५ अर्ब बढीको निर्यात गर्न सक्ने उनले बताए ।

त्यससँगै, प्याकिङ तथा ग्रेडिङ गरेर गुणस्तरीय रुपमा पठाउन सके अझै आभ दिन सक्ने उनले उल्लेख गरे ।

‘जडीबुटी व्यवसायीहरूले अहिलेसम्म सहज तरिकाले ऋण दिँदैन । यस्तो अवस्थामा कसरी लगानी गरेर जोखिम लिन सक्छ,’ उनले भने । सरकारले नीतिगत रुपमा मात्रै सहयोग गरे पनि यस क्षेत्रमा सुधार गर्न सक्ने उनको दाबी छ ।

जडीबुटीको निर्यात बढ्दो अवस्थामा
कच्चा पदार्थको रुपमा निर्यात हुँदै आएको जडीबुटीको पछिल्लो समय वार्षिक रुपमा निर्यात बढ्दै गएको देखिन्छ । हरेक वर्ष नेपालले जडीबुटीको निर्यातमा सुधार गर्दै वार्षिक रुपमा डेढ अर्बभन्दा बढी मूल्य बराबरको निर्यात गर्न सफल भएको छ ।

नेपालले आर्थिक वर्ष २०७७/७८ मा मात्रै १ अर्ब ६९ करोड ५० लाख रुपैयाँ बराबरको जडीबुटी निर्यात गरेको सरकारी तथ्याङ्क छ । साथै, चालु आवको फागुन मसान्तसम्ममा भने २३.२८ प्रतिशतले निर्यात घटेको छ ।

नेपालले गत वर्षको फागुन मसान्त्सम्ममा १ अर्ब २४ करोड ७ लाख रुपैयाँको जडीबुटी निर्यात गर्दै आएकोमा यो वर्षको सोही अवधिमा भने ९५ करोड १९ लाखको मात्रै निर्यात गर्न सफल भएको छ ।

त्यस्तै, नेपालले आव २०७६/७७ मा १ अर्ब ५६ करोड ५१ लाख रुपैयाँको, आव २०७५/७६ मा १ अर्ब ४३ करोड ९८ लाख, आव २०७४/७५ मा १ अर्ब १३ करोड ३७ लाख रुपैयाँको, आव २०७३/७४ मा ९९ करोड ५६ लाख रुपैयाँको र आव २०७२/७३ मा १ अर्ब २४ करोड ४० लाख रुपैयाँको निर्यात गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्कले उल्लेख गर्दछ ।


क्लिकमान्डु