पुँजी बढाउन बीमा संस्थानले आइपीओलाई प्राथमकिता दिने



काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित दुई बीमा कम्पनीहरू पुँजी वृद्धि योजनाको आन्तरिक तयारीमा जुटेका छन् । 

बीमा समितिको सञ्चालक समितिको बैठकले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ ।

 समितिका अनुसार बीमा कम्पनीहरूले सो पुँजी २०७९ साल चैत मसान्तसम्ममा पुर्याईसक्नु पर्ने छ । समितिले सबै बीमा कम्पनीहरूलाई १ महिनाभित्र पुँजी वृद्धिको योजना बनाएर पेस गर्नुपर्ने समय सीमा तोकेको छ । 

सोही बमोजिम सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी पनि पुँजी वृद्धिको आन्तरिक तयारीमा जुटेका हुन् ।बीमा समितिले बीमकको दर्ता र व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका २०७३ जारी गर्दै ०७४/७५ को अन्त्यसम्म सबै बीमा कम्पनीहरूलाई तोकिएको पुँजी पुर्‍याउन निर्देशन दिएको थियो । 

निर्देशिकाअनुसार निर्जीवन बीमा कम्पनीले एक अर्ब र जीवन बीमा कम्पनीले दुई अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्ने थियो ।०७४÷७५ अन्त्यसम्म पुँजी जुटाउन नसक्ने कम्पनीका लागि पुँजी पुर्‍याउन समितिले पटक पटक समय पनि थप गरेको थियो ।तर, आर्थिक वर्ष २०७८/७९ को आठ महिना बित्दा पनि सरकारी स्वामित्वमा रहेका दुई बीमा कम्पनीले सो बमोजिमको चुक्ता पुँजी पुर्‍याउन सकेका छैनन् ।

हाल १८ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको राष्ट्रिय बीमा संस्थानले अब ५ अर्ब रुपैयाँ पुँजी पुर्‍याउनु पर्छ । ५ अर्ब रुपैयाँको पुँजी कायम गर्न संस्थानले हालको पुँजीमा ४ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ रकम थप गर्नु पर्छ ।

 यस्तै, २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी भएको राष्ट्रिय बीमा कम्पनीले समितिले निर्जीवन बीमा कम्पनीका लागि तोकिदिएको साढे २ अर्ब रुपैयाँ पुँजी पुर्याउनका लागि २ अर्ब २३ करोड ३३ लाख ८६ हजार रुपैयाँ रकम थप गर्नुपर्ने छ ।यी कम्पनीले समितिले दिएको एक महिनाको अवधिमा पुँजी वृद्धिको योजना पेस गर्ने तयारीमा जुटेका छन् ।

राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि पाठकले सञ्चालक समितिको बैठकले पुँजी वृद्धिको योजना बनाउन कमिटी गठन गरेको जानकारी दिए । १८ करोड १० लाख रुपैयाँ मात्रै चुक्ता पुँजी रहेको संस्थानलाई ५ अर्ब रुपैयाँ पुँजी पुर्‍याउन खासै समस्या नपर्ने उनको भनाइ छ । 

संस्थानमा नेपाल बैंक, नेपाल राष्ट्र बैंक र नेपाल सरकारको स्वामित्व छ । तीन ठुला प्रमोटर भएकाले संस्थानलाई पाँच अर्ब रुपैयाँ पुँजी पुर्‍याउन अफ्टयारो नहुने उनको भनाइ छ ।

‘कमिटी गठन भएको छ । तर, छलफल कै क्रममा छौँ । समितिले पुँजी वृद्धिको योजना बुझाउन दिएको समयमा योजना पेस गर्ने छौँ,’ पाठकले क्लिकमाण्डूसँग भने, ‘तीन वटा ठूला ठूला प्रमोटर छन् । २/४ अर्ब प्रमोटरले थप्ने भन्ने योजना नि बन्न सक्ला ।’

उनले प्रमोटरको प्रतिशत घटाएर पब्लिकमा जाने भन्ने निर्णय पनि हुन सक्ने बताए । प्रमोटरहरूसँगको छलफलपश्चात पुँजी बढाउनका लागि कसरी जाने भन्ने निर्णयमा पुग्न सकिने उनको भनाइ छ । 

हकप्रद नै जारी गर्नुपर्ने अवस्था नहुने उनको भनाइ छ । यद्यपी संस्थानले पुँजी वृद्धिको योजनामा आइपीओलाई प्राथमिकतामा राख्ने आन्तरिक तयारी भने गरिरहेको छ ।

‘हामीले समितिसमक्ष पुँजी वृद्धिको योजना पठाउँदा कति प्रमोटरले थप्ने र कति सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भन्ने पठाउने हो । हकप्रद जारी गर्नुपर्ने अवस्था हुँदैन ।’ पाठकले थपे ।

यस अघि जीवन बीमा कम्पनीका लागि समितिले तोकिदिएको २ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्‍याउन संस्थानले सर्वसाधारणका आइपीओ निष्कासनलाई प्राथमिकतामा राखेको थियो । २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन संस्थानले सर्वसाधारणका लागि ३० प्रतिशत आइपीओ जारी गर्ने योजना बनाएको थियो ।

तर, यस अघि संस्थानले पुँजी वृद्धिका लागि पेस गरेको उक्त योजना पारित नहुँदै समितिले पुँजी वृद्धिको नयाँ योजना ल्यायो । पुरानै योजनालाई परिमार्जन गर्दै ५ अर्ब रुपैयाँ पुँजी पुर्‍याउन संस्थानले आइपीओलाई नै प्राथमिकता दिने भएको छ । 

५ अर्ब रुपैयाँ पुँजी पुर्याउनका लागि संस्थानले सर्वसाधारणका लागि निष्कासन गरिने आइपीओको ३० प्रतिशतको अनुपात ४९ प्रतिशतसम्म पुग्न सक्ने प्रशासक पाठकको भनाइ छ । हालसम्म संस्थान ऐनअनुसार सञ्चालन हुँदै आएको छ ।

जसअनुसार संस्थानको चुक्ता पुँजी ५० करोड रुपैयाँभन्दा भन्दा बढी नहुने व्यवस्था छ । संस्थान कम्पनीमा रुपान्तरण भएपछि मात्रै सर्वसाधारणका लागि सो अनुपातको आइपीओ जारी गरिने उनको भनाइ छ ।

 तर, संसदमा पेस भएको नयाँ बीमा ऐन पारित भएपछि मात्रै राष्ट्रिय बीमा संस्थान कम्पनीमा रुपान्तरण हुने छ । र, त्यसपछि मात्रै आइपीओको प्रक्रिया अघि बढ्ने छ । यस अघि बुझाएको सो योजनामा पुनः छलफल गरी नयाँ योजना बनाईने पाठकको भनाइ छ ।

संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको अनुपात ३० प्रतिशत नै राख्ने वा सो अनुपाताई फेरबदल गरी ५१:४९ बनाउने भन्ने योजना पनि बन्न सक्ने उनले बताए । 

तर, संस्थापक सेयरधनी र सञ्चालक समितिसँगको छलफल पछि मात्रै कस्तो खालको योजना बन्ने भन्ने निर्णय हुने उनको भनाइ छ ।संस्थानले गत भदौंमा एकै पटक तीन आर्थिक वर्षको वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थानले आर्थिक वर्ष २०६८/०६९ सालसम्मको मात्रै साधारण सभा सम्पन्न गर्न सफल भएको छ । राष्ट्रिय बीमा कम्पनीले भने पुँजी वृद्धिको योजना बनाउनका लागि कम्पनीको लेखा विभागलाई जिम्मा दिएको छ ।

लेखा विभागले तयार पारेको पुँजी वृद्धिको योजनालाई सञ्चालक समितिमा पेस गरिने कम्पनीका एक अधिकारीले जानकारी दिए । कम्पनीले साधारण सभा सम्पन्न गरी बोनसबाट यस अघि तोकिएको १ अर्ब रुपैयाँको पुँजी पुर्‍याउन योजना बनाएको थियो । तर, साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनका लागि कम्पनीले बोनससँगै हकप्रद जारी गर्ने समेत आन्तरिक योजना बनाएको ती कर्मचारीको भनाइ छ ।

 ‘बाँकी रहेको साधारण सभा सम्पन्न गर्ने र बोनसबाटै १ अर्बको पुँजी पुर्‍याउने कम्पनीको योजना थियो,’ कम्पनीका ती कर्मचारीले क्लिकमाण्डूसँग भने, ‘साढे २ अर्ब चुक्ता पुँजी पुर्याउनका लागि कम्पनीले बोनससँगै हकप्रदसहतिहको योजना बनाउन सक्छ ।’कम्पनीले आर्थिक वर्ष २०६८/६९ देखि साधारण सभा गर्न बाँकी छ ।


बिजया बास्कोटा