कोभिडको उपलब्धीः इन्टरनेट अत्यावश्यक सेवा, ८ लाख प्रयोगकर्ता थपिए
काठमाडौ । दुई वर्षअघि चीनले कोरोना संक्रमण गर्न लकडाउन गर्दा यो विश्वकै लागि नौलो थियो । चीनले पूरै सहर नै लकडाउन गरेर मान्छेलाई घरभित्र थुनेर राखेका समाचार आए ।
केही समयमै विश्वभर कोरोना संक्रमण फैलियो र विश्वका अधिकांश देशले पनि लकडाउन गरे । नेपाल पनि संक्रमणबाट अछुतो रहेन । २०७६ चैत ११ गतेदेखि नेपालमा पनि लकडान शुरु भयो ।
घरभित्र थुनिएपछि के काम गर्ने ? सबैको लागि फुर्सदिला भए । मनोरञ्जन र समय बिताउनुबाहेक अर्को काम भएन । सामाजिक सञ्जाल र टिभीको प्रयोग धेरै भयो । घरमै बसेर फिल्म हेर्ने काम शुरु भयो ।
यसका लागि चाहिन्थ्यो, इन्टरनेट । पहिलेदेखि इन्टरनेट भएकाले इन्टरनेट प्रयोग गरे भने नभएकाले नयाँ लाइन जोडे ।
‘यसले गर्दा इन्टरनेटको प्रयोग ह्वात्तै बढ्यो,’ नेपाल इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले भने, ‘युट्युव हेर्नेदेखि टिकटक प्रयोग ह्वात्तै बढे । जसले गर्दा इन्टरनेटको खपत बढ्यो ।’
दुई तीन महिना यसैगरी बित्यो । कोरोना संक्रमण रोकिने लक्षण देखिएन । त्यसपछि भने विभिन्न व्यवसाय, कार्यालय, स्कुल, कलेजहरु कसरी खुलाउने भन्ने तर्फ सबैको ध्यान मोडियो ।
विश्वभर नै अनलाइन माध्यमबाट कामहरु भइरहेका थिए । नेपालमा पनि विभिन्न व्यवसाय, कार्यालय, स्कुल, कलेजहरु अनलाइन चलाउन सकिन्छ भनेर अनलाइन कक्षा, वर्कफ्रम होमको कल्चर शुरु भयो ।
लकडाउनको शुरुमा इन्टरनेटलाई मनोरञ्जनका हिसाबले प्रयोग भइरहेकोमा दोस्रो चरणमा भने यसलाई व्यवसायीकरुपमा प्रयोग गर्न थालियो । बच्चलाई पढ्नदेखि बाबुआमालाई काम गर्नका लागि इन्टरनेट चाहिने भयो ।
‘कोरोना संक्रमण शुरु भएको दुई तीन महिनापछि भने अनलाइन कक्षा र ‘वर्क फ्रम होम’को चलन आयो,’ पराजुली भन्छन्, ‘अब भने इन्टरनेट मनोरञ्जनमात्र नभएर दिनचर्या र अत्यावश्यक सेवाको रुपमा परिणत भएको थियो ।’
व्यक्ति उपभोक्तादेखि विभिन्न कम्पनी, व्यवसायिक प्रतिष्ठान, स्कुल, कलेजहरुले इन्रनेटको लागि पैसा खर्च गर्न थाले ।
कोरोना संक्रमण शुरु भएको ६ महिनापछि सरकार इन्टरनेट सेवालाई अत्यावश्यक सेवा भनेर घोषणा गर्यो । जसले गर्दा कोरोना संक्रमणको समयमा पनि इन्टरनेट जोड्न र यसको बिस्तारमा तीव्रता पायो ।
‘ट्रान्सफरमेसन गजबले भएको छ,’ पराजुली भन्छन्, ‘फेसबुक हेर्नका लागि नै इन्टरनेट हो भन्ने मानसिकता परिवर्तन भएर अत्यावश्यक वस्तु हो भन्ने भएको छ ।’
आम उपभोक्तादेखि सरकारको पनि इन्टरनेट मनोरञ्जनको सेवामात्र नभएर अत्यावश्यक सेवाको रुपमा आत्मसाथ गरेको छ । इन्टरनेट उद्योगमा सकारात्मक प्रभाव पारेको छ ।
यसले गर्दा कोरोना संक्रमणमा पनि इन्टरनेट उपभोक्ता ह्वात्तै बढेका छन् ।
‘शुरुको एक वर्षमा ग्राहक संख्या दोब्बरले बढ्यो,’ पराजुली भन्छन्, ‘दोस्रो वर्षमा अलि कम वृद्धि भएको छ ।’
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको विवरण अनुसार कोरोना संक्रमण शुरु भएको २०७६ चैत महिनादेखि २०७८ मंसिरसमम इन्टरनेटका ग्राहक ७०.८७ प्रतिशतले वृद्धि भएका छन् ।
२०७६ चैत महिनामा फिक्स्ड लाइन इन्टरनेटका ग्राहक ११ लाख ५ हजार १ सय १७ थिए । त्योबेला सञ्चालनमा आएका इन्टरनेट सेवा प्रदायकको संख्या ४० थियो । २०७८ मंसिर महिनामा आइपुग्दा भने इन्टरनेटका ग्राहक १८ लाख ८८ हजार ३ सय ६४ पुगेका छन् । पछिल्लो २० महिनामा ७ लाख ८३ हजार इन्टरनेटमा नयाँ ग्राहक थपिएका छन् ।
त्यस्तै, दुई वर्षमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको संख्यामा पनि वृद्धि भएको छ । दुई वर्षमा १३ वटा नयाँ इन्टेनर कम्पनी सञ्चालना आएका छन् । दुई वर्षअघि ४० वटा इन्टरनेट सेवा प्रदायक रहेकोमा यस वर्षको मंसिर महिनामा ५३ पुगेका छन् ।