कोरोनापछि गार्मेन्टको व्यवसाय चम्कियो, कालिगढ अभाव कायमै



काठमाडौं । सामान्य अवस्थामा समेत आन्तरिक खपत तथा निर्यातको अवस्था निकै नाजुक रहेको गार्मेन्ट उद्योगमा कारोनाका कारण स्वरुप फेरिएको छ । विगतका दिनमा आन्तरिक बजारमा निकै कम माग हुने गार्मेन्ट उद्योगमा कोरोनाले यस उद्योगमा उर्जा थपिएको छ ।

नेपालमा आन्तरिक गार्मेन्ट उद्योग सञ्चालनको ठूलो संघर्षको कथा छ । नेपालमा आयातित गार्मेन्टको उच्च बजार हुँदा आन्तरिक उद्योग सञ्चालन गरेर टिकाउ हुन निकै मुस्किल थियो ।

नेपालले कच्चा पदार्थ विदेशबाट आयात गरेर उत्पादन गरेका गार्मेन्टले आयातित गार्मेन्टसँग प्रतिस्पर्धा गर्न नसक्दा यस उद्योगको कथा बिजोगकै अवस्थामा थियो । साथै, व्यवसाय सञ्चालन भएपनि रफ्तारमा चल्न नपाउँदा धेरै व्यवसायी पलयानसमेत भएको धेरै उदाहरणहरू छन् ।

तर, अहिले भने गार्मेन्ट क्षेत्रमा बाहार आएको छ । कोरोना महामारीका कारण अधिकांश क्षेत्रमा निकै असर परेको छ । सोही समयमा भने गार्मेन्ट उद्योगमा नयाँ उर्जा थपिएको व्यवसायीहरूको भनाइ छ ।

कोरोना महामारीका कारण लामो समय नाका हालसम्म सहज हुन सकेको छैन । जसले गर्दा पर्याप्त मात्रामा भनेअनुसार तयारी पोशाक भित्रिन सकेको छैन ।

बजारमा सिजनअनुसारको तयारी पोशाक आवश्यक पर्दछ । तर, बजारमा कोरोनाका कारण समयमै तयारी पोशाक आयात गर्न नसक्दा आन्तरिक बजारमा उत्पादन गरिरहेको उद्योगबाट आपूर्ति भइरहेको छ ।

सामान्य अवस्थामा नेपालमा उत्पादन भएको भन्ने वित्तिकै नाक खुम्चाउने व्यवसायीहरूले पनि नेपालमै उत्पादन भएका गार्मेन्ट बिक्री गर्न थालेको गार्मेन्ट उद्योगीहरूको भनाइ छ ।

कोरोनाका कारण फस्टाएको गार्मेन्ट उद्योगमा अहिले पनि नेपाली तयारी पोशाकको माग उच्च छ । शुरुवाती चरणमा कोरोना महामारीका कारण उच्च फस्टाएको व्यवसाय हालसम्म पनि कायमै रहेको व्यवसायीहरूको भनाइ छ । साथै, बजारमा अधिकांश नेपाली तयारी पोशाक रहेको व्यवसायीहरूको दाबी छ ।

थ्रेड गार्मेन्ट उद्योगका सञ्चालक कृष्णराज तिमल्सिनाले कोरोनाका कारण यस क्षेत्रमा नयाँ उर्जा थपिएको बताए । उनकाअनुसार बजारमा आवश्यक तयारी पोशाकको उच्च माग रहेको र आपूर्ति गर्नै कठिन भएको छ ।

‘पहिलो चरणको कोरोनापश्चात चम्किएको गार्मेन्ट उद्योग अहिले भने बिस्तारै स्लोडाउन भएको छ,’ उनले भने, ‘तर, सामान्य अवस्थाो तुलनामा भने उद्योग राम्रोसँग सञ्चालन भइरहेको छ ।’

त्यसैगरी, अबको केही हप्तापछि भने गर्मी मौसमका लागि तयारी पोशाक आवश्यक पर्छ । सोहीअनुसार गार्मेन्ट उद्योगीहरू गर्मी मौसमको तयारी पोशाक बजारमा आपूर्ति गर्नका लागि तयारी थालिसकेको छन् ।

आगामी फागुनबाट भने गर्मीको तयारी पोशाक बजारमा गइसक्ने व्यवसायीहरूको भनाइ छ । सोहीअनुसार आन्तरिक बजारलाई आवश्यक तयारी पोशाक खपतमा ध्यान दिएका छन् ।

त्यस्तै, देउराली गार्मेन्टका सञ्चालक रत्नराज्य महर्जनले पनि कोभिडपश्चात आन्तरिक गोर्मन्ट उद्योग निकै फस्टाएको बताउँछन् । कोभिडभन्दा अगाडि यस क्षेत्रमा टिक्न निकै गाह्रो थियो । तर, अहिले आन्तरिक बजारमा खपत हुने तयारी पोशाकको माग उच्च हुँदा सञ्चालनमा कुनै समस्या नरहेको उनको भनाइ छ ।

निर्यातमा पनि बाहार
कोरोना महामारीका कारण आन्तरिक खपत मात्रै नभएर निर्यात पनि उच्च भएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालले हालसम्मकै उच्च निर्यात गर्न सफल भएको छ । सामान्य अवस्थामा ३ अर्बमा सीमित रहेको निर्यात चालु आवको ६ महिनाको अवधिमा करिब ४ अर्ब बराबरको निर्यात गरेको सरकारी तथ्याङ्क छ ।

निकासी तथा प्रवर्द्धन केन्द्रको तथ्याङक्अनुसार नेपालले आव २०७४/७५ मा ३अर्ब ८ करोड ६० लाख रपैयाँ बराबरको तयारी पोशाक निर्यात गरेको थियो भने आव २०७५/७६ मा ३ अर्ब ३७ करोड २६ लाख रुपैयाँको तयारी पोशाक निर्यात गरेको थियो ।

त्यस्तै, आव २०७६/७७ मा ३ अर्ब ३३ करोड ८ लाख रुपैयाँको र आव २०७७/७८ मा ३ अर्ब ४ करोड २ लाख रुपैयाँको निर्यात गरेको थियो । सो वर्ष कोरोनाका कारण उत्पादन तथा आन्तरिक बजारमा खपत बढ्दा ८.७२ प्रतिशतले निर्यातमा ह्रास आएको थियो ।

त्यस्तै, चालु आवको ६ महिनाको अवधिमा नेपालले ३ अर्ब ८४ करोड ८६ लाख रुपैयाँ बराबरको ६० लाख ४९ हजार पिस तयारी पोशाक निर्यात गर्न सफल भएको छ । जुन गत वर्षको तुलनमा २६.५९ प्रतिशतले बढी हो ।

त्यस्तै, विगत लामो समयदेखि विभिन्न देशमा तयारी पोशाक निर्यातगर्दै आएका ब्ल्याक फेसन उद्योगका सञ्चालक भीमकुमार गिरीले अन्तर्राष्ट्रिय बजारमा तयारी पोशाकको माग उच्च रहेको बताए ।

उनकाअनुसार पछिल्लो समयमा कार्गोको मूल्य उच्च रुपमा बढेको छ । तर, मागभने रोकिएको छैन । साथै, अहिले विभिन्न देशबाट उच्च रुपमा तयारी पोशाकको माग आएको उनको भनाइ छ ।

कच्चा पदार्थ र कालिगढको अभाव
बजारमा गार्मेन्टको उद्योगमा उच्च माग भए पनि कच्चा पदार्थको अभाव र कालीगढको समस्याले गर्दा आन्तरिक अपत तथा निर्यातमा निकै प्रभाव परेको व्यवसायीहरूको भनाइ छ । एकातिर माग उच्च रहेको छ भने अर्कोतर्फ कच्चा पदार्थको अभाव भएको व्यवसायीहरूले बताएका छन् ।

त्यति मात्रै नभएर उद्योगलाई आवश्यक कालिगढको पनि अभावका कारण मागअनुसार आपूर्ति गर्न नसकेको उनीहरूको गुनासो छ ।

‘अहिले बजारमा तयारी पोशाकको माग उच्च छ । तर, पर्याप्त कालीगढ नहुँदा उत्पादनमा निकै असर पुर्याएको छ,’ गिरिले भने ।

त्यसैगरी, आवश्यक कच्चा पदार्थको मूल्य पनि निकै आकासिएको हुँदा उत्पादित तयारी पोशाकको लागत बढेको व्यवसायीहरूको भनाइ छ ।


क्लिकमान्डु