प्रभु मनी ट्रान्सफरको आम्दानी लगातार घट्दै, २ वर्षमा ३७ प्रतिशतले ओरालो लाग्यो



काठमाडौं । प्रभु मनी ट्रान्सफरको आम्दानी सन् २०१९ यता लगातार घटिरहेको छ ।

सन् २०१९ मा ८७ करोड २० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२० मा जम्मा ७० करोड रुपैयाँको आम्दानी गरेको थियो । त्यसैगरी सन् २०२१ मा आइपुग्दा आम्दानी घटेर ५४ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ ।

त्यसैगरी ब्याजदर, लिज रेन्टल, डिप्रिसिएसन तथा करभन्दा अघिको आम्दानी पनि ४७.७१ प्रतिशतबाट घटेर ३६.०१ प्रतिशतमा सीमित भएको छ ।

कम्पनीले सन् २०२० को तुलनाम सन् २०२१ को अन्त्यसम्म आइपुग्दा कुल ऋणको मात्रा पनि घटाएको छ । सन् २०२० मा कुल १ अर्ब ५० करोड रुपैयाँबाट कम्पनील सन् २०२१ को अन्त्यसम्म आइपुग्दा १ अर्ब २५ करोड ९० लाख रुपैयाँमा सीमित गर्न सफल भएको छ ।

कम्पनीका अनुसार पछिल्लो समय रेमिट्यान्स व्यवसायमा कैयन अन्य कम्पनीहरु प्रवेश गरेपछि प्रतिष्पर्धा बढेको छ । पछिल्लो केही वर्षमा कमर्सियल बैंक, फाइनान्स इन्स्टिच्युसनका साथै अन्य मनी ट्रान्सफर कम्पनीहरुको प्रवेशले प्रतिष्पर्धा बढाएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार ५ वटा देशबाट भित्रिने रेमिट्यान्सको रकम कुल रकममध्ये ९० प्रतिशतभन्दा बढी छ । जसमा अधिकांश गल्फ अन्तर्गतका देश छन् ।

कम्पनीका अनुसार सन् २०२१ मा कम्पनीले दैनिक ३० करोड रुपैयाँ बराबरको रेमिट्यान्सको कारोबार गर्दै आएको थियो । हाल कम्पनीको नेपाल र विदेशमा गरी १२ हजारभन्दा बढी नेटवर्क सञ्जाल कायम छ ।

प्रभु ग्रुप अन्तर्गतको यो कम्पनी सन् २००२ जुलाई १६ मा स्थापना भएको हो । हाल कम्पनीले देश र विदेशमा गरी विभिन्न २५ वटा कम्पनीसँग व्यवसायिक साझेदारीका लागि सम्झौता गरिसकेको छ भने ६ हजार बैंकिङ शाखा, ३ हजार व्यक्तिगत एजेन्ट र ३ हजार सहकारी एजेन्टमार्फत् कारोबार गर्दै आएको छ ।

प्रभु रेमिटका लागि विशेष गरी जसमा मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, यूएई र अमेरिका रेमिट्यान्स ल्याउनका लागि प्रमुख गन्तव्य हुन् ।


क्लिकमान्डु