कस्ता कम्पनीको सेयर कति मूल्यमा किन्दा राम्रो ?
सम्भावित दुर्घटना वा हाम्रो योजना अनुसार काम नभए आइपर्ने वित्तीय संकट वा समस्याबाट बच्न हामीले धेरै उपाय अपनाइ रहेका हुन्छौं । जस्तोः बीमा गरेका हुन्छौं, पैसा बचत गरेका हुन्छौं, यात्रा गर्दा चाहिनेभन्दा केही बढी पैसा बोकेका हुन्छौं, गाडी चढ्न जाँदा समयभन्दा केही अगाडि पुग्छौं, प्लेनमा यात्रा गर्दा पनि दिएको समयभन्दा अगाडि पुग्ने कोसिस गरिरहेका हुन्छौं ।
त्यस्तै स्वास्थ्यमा पनि रोग लाग्नुभन्दा लाग्न नदिनु नै उत्तम भनेर सतर्कता अपनाइरहेका पनि हुन्छौं । यी सबै काममा हामी केही मार्जिन राखेर बढी सुरक्षित हुन प्रयास गरिरहेका हुन्छौं । चाहे बढी पैसा जोहो गरेर होस् या बढी समय छुट्याएर होस् ।
यो मार्जिन अफ सेफ्टी हो । लगानीमा पनि सुरक्षित रहन मार्जिन अफ सेफ्टीको कुरा गरिन्छ । वारेन वफेटजस्ता संसारका सफल लगानीकर्तालाई सुन्ने हो भने सेयरमा सफल हुन बारम्बार मार्जिन अफ सेफ्टीको कुरा गरिरहेका हुन्छन् । उनी सफल हुनुको एउटा रहस्य मार्जिन अफ सेफ्टीको प्रयोग गर्नु पनि हो भन्छन् ।
सेयरको लगानीमा मार्जिन अफ सेफ्टीको कुरा सर्वप्रथम बेन्जामिन ग्राहमले गरेका थिए । ग्राहमलाई भ्यालु इन्भेष्टमेन्टका पिता पनि भनिन्छ भने वारेन वफेट उनलाई गुरु मान्छन्। ग्राहमका अनुसार मार्जिन अफ सेफ्टीको उद्देश्य एकदमै सरल छ । ग्राहमको यो सिद्दान्तका बारेमा चार्ली मंगर भन्छन्, ‘मार्जिन अफ सेफ्टीको सिद्दान्त कहिले पनि काम नलाग्ने भन्ने हुँदैन ।’
मार्जिन अफ सेफ्टीले वास्तविक मूल्य (इन्ट्रिन्जिक भ्यालु) र सेयरको बजार मूल्यको फरकलाई जनाउँछ । सेथ क्लामम्यान आफ्नो किताव मार्जिन अफ सेफ्टीमा भन्छन्, ‘जब हामी सेयरको वास्तविक मूल्यभन्दा धेरै नै कम मूल्यमा सेयर, ऋणपत्र किन्छौं भने यो मानवीय गल्ती, अभाग्य, अति नै उतारचढाव, अनुमान गर्न नसकिने कुरा, तीव्ररुपमा परिवर्तित संसारबाट बच्नका लागि गरिहेका हुन्छौं।
इन्ट्रिन्जिक भ्यालु के हो ?
उदाहरणका लागि तपाईंसँग १००० रुपैयाँ छ । १० प्रतिशत ब्याजमा एक वर्षका लागि बैंकमा जम्मा गर्नुभयो । एक वर्षपछि १०० रुपैयाँ ब्याज प्राप्त हुन्छ । एक वर्षपछि ब्याजसहित खातामा ११ सय रुपैयाँ हुन्छ ।
यो उदाहरणमा अहिलेको १ हजारलाई आजको मूल्य (लगानी) भन्छौं । लगानीको भाषामा यसलाई प्रिजेन्ट भ्यालु पनि भनिन्छ । एक वर्षपछि प्राप्त हुने ११०० लाई भविष्यको मूल्य (फ्यूचर भ्यालु), १० प्रतिशतलाई ब्याजदर र एक वर्षलाई लगानीको अवधि भनिन्छ । यो उदाहरणमा हामीले आज एकहजार रुपैयाँ लगानी गर्दा एक वर्षपछि कति हुन्छ ? भनेर बुझ्ने प्रयास गर्यौ ।
यहि उदाहरणलाई हामी केही फरक तरिकाले पनि हेर्न सक्छौं । कसैले हामीलाई एक वर्षपछि ११ सय रुपैयाँ दिनुछ । बजारमा ब्याजदर १० प्रतिशत छ । एक वर्षपछि पाउने ११ सय रुपैयाँ आज नै लिने हो भने हामी कति पैसा स्वीकार्न तयार हुन्छौं ? बजारमा १० प्रतिशत ब्याज हुँदा आज एक हजार लिएर १० प्रतिशत ब्याजमा लगाउनु वा एक वर्षपछि ११ सय लिनु एउटै हुन जान्छ ।
यसको अर्थ एक वर्षपछिको ११ सयको आजको मूल्य एक हजार रुपैयाँ बराबर हुन्छ । एक वर्षपछि पाउने ११ सयलाई भविष्यको नगद प्रवाह (फ्युचर क्यास फ्लो) भनिन्छ । यो ११ सयको आजको भ्यालु १ हजार रुपैयाँलाई डिस्काउन्टेट भ्यालु पनि भनिन्छ । १० प्रतिशत ब्याजदरलाई डिस्काउन्ट रेट वा हामीले चाहेको प्रतिफल दर पनि भनिन्छ ।
यसरी भविष्यमा पाउने नगद प्रवाहलाई निश्चित डिस्काउन्ट रेटले आजको मूल्यमा परिणत गर्दा आउने मूल्य वा अंकलाई इन्ट्रिन्जिक भ्यालु (वास्तविक मूल्य) भनिन्छ । एक वर्षपछि पाउने ११ सयलाई १० प्रतिशतले डिस्काउन्ट गर्दा आउने आजको मूल्य १००० रुपैयाँलाई नै सामान्य अर्थमा इन्ट्रिन्जिक भ्यालु भनिन्छ ।
यही अवधारणा हामी सेयर, ऋणपत्रजस्ता धितोपत्रको आजको वास्तविक मूल्य गणना गर्न पनि प्रयोग गर्छौं । इन्ट्रिन्जिक भ्यालु भनेको भविष्यमा पाउन सक्ने अनुमानित नगद प्रवाहलाई आजको भ्यालुमा परिवर्तन गर्दा आउने मूल्य हो । त्यसैले कुनै कम्पनीको सेयरको इन्ट्रिन्जिक भ्यालु भनेको उक्त सेयरले भविश्यमा दिन सक्ने अनुमानित नगद प्रवाह (लाभांश)को आजको मूल्य हो ।
त्यस्तै ऋणपत्रको आजको वास्तवित मूल्य (इन्ट्रिन्जिक भ्यालु) भनेको ऋणपत्रले उसको समय अवधिभरीमा दिने अनुमानित व्याज र फिर्ता गर्ने साँवाको आजको मूल्य हो ।
उदाहरणका लागि एभरेष्ट बैंकले ८ प्रतिशत ब्याजदरमा ५ वर्षका लागि १००० रुपैयाँ अंकित मूल्य भएको ऋणपत्र जार गर्यो । त्यस्तै जोखिम भएको अर्को हिमालयन बैंकले सोही अवधिको ऋणपत्र ९ प्रतिशत ब्याज दिनेगरी जारी गरेको छ । यदि एभरेष्ट बैकको ऋणपत्र आज बजारमा किन्नु परेमा वास्तविक मूल्य कति होला ? बजारको मूल्य सस्तो हो कि महंगो ?
कुनै पनि धितोपत्रको इन्ट्रिन्जिक भ्यालु गणना गर्दा हामी भविश्यमा प्राप्त हुने नगद प्रवाहलाई अर्को त्यस्तै अवसर (विकल्प)मा प्राप्त हुने प्रतिफलले डिस्काउन्ट गर्छौं। जस्तो एभरेष्टको ऋणपत्रका लागि त्यस्तै अर्को लगानी अवसर भनेको हिमालयन बैंकको ऋणपत्रको ब्याज हो ।
एभरेष्टको ऋणपत्रमा पाउने ब्याज र ५ वर्षपछि पाउने साँवा १००० रुपैयाँलाई ९ प्रतिशतले डिस्काउन्ट गर्दा आजको मूल्य ९६१.१० पैसा हुन्छ । यो एभरेष्टको ऋणपत्रको वास्तविक मूल्य हो । यसको अर्थ आज हामीले एभरेष्टको ऋणपत्र किन्नु परेमा बढीमा ९६१.१० रुपैया तिर्छौं ।
यदि नेप्सेमा एभरेष्टको ऋणपत्र योभन्दा बढी मूल्यमा किनबेच भइरहेको छ भने महंगो भयो । यस्तो अवस्थामा यदि हामीसँग एभरेष्टको ऋणपत्र भएमा विक्री गर्छौं । यदि नेप्सेमा ९६१.१० भन्दा कम मानौ ९५० रुपैयाँमा किनवेच भइरहेको भए वास्तविक मूल्य ९६१.१० भन्दा ११ रुपैयाँ सस्तो भयो भन्छौं । र, हामी यो ऋणपत्र किन्छौं । यस्तै प्रकृयाबाट सेयरको वास्तविक मूल्य निर्धारण र सस्तो महंगो छुट्याउन पनि प्रयोग गरिन्छ ।
उदाहरणका लागि कुनै कम्पनीको सेयरको इन्ट्रिन्जिक भ्यालु ३०० रुपैयाँ छ । बजारमा यो सेयर २०० रुपैयाँमा किनवेच भइरहेको छ। यो अवस्थामा हामी के भन्छौं भने ३०० रुपैयाँ पर्ने सेयर २०० रुपैयाँमा पाइरहेको छ । यसको अर्थ यो त सस्तो भयो नि । ३०० सय र २०० सयको फरक १०० रुपैयाँलाई मार्जिन अफ सेफ्टी भनिन्छ ।
यहाँ वास्तविक मूल्यभन्दा १०० रुपैयाँ छुटमा सेयर प्राप्त भयो । वास्तविक वा हुनुपर्ने मूल्यभन्दा जतिधेरै छुट (डिस्काउन्ट)मा सेयर किन्न पाइन्छ, त्यति नै बढी मार्जिन अफ सेफ्टी प्राप्त हुन्छ । यसैले वास्तविक मूल्यभन्दा निकै नै छुटमा सेयर किन्न सकिए मूल्य गिरावट हुदा नोक्सानीमा सुरक्षा प्रदान गर्छ । सेथ क्लामम्यान भन्छन्, ’सेयरमा पैसा बनाउन मार्जिन अफ सेफ्टीमा सेयर किन्नुहोस् र पर्खनुहोस् ।’ तर टम पेट र हर्टब्रेकर लिरिक भन्छन् ’पर्खनु सबैभन्दा गाह्रो काम हो ।’
मार्जिन अफ सेफ्टीलाई विभिन्न तरिकाबाट बुझ्न सकिन्छ । सेयर धितो राखेर बैंकले ऋण दिँदा सेयरको कुल मूल्य बराबर कहिले पनि ऋण दिँदैन । ६०-७० प्रतिशत दिइरहेको हुन्छ । १००० रुपैयाँ मूल्य बराबरको सेयरमा ७०० मात्र ऋण दिनु भनेको सेयरको मूल्यमा आउने गिरावटका कारण उत्पन्न हुन सक्ने जोखिमबाट बच्न ३०० रुपैयाँको मार्जिन राख्नु हो । यस्तै घर अथवा जग्गाको भ्यालुएसन गरेर ऋण प्रदान गर्दा पनि बैंकले पूरा रकम ऋण नदिई कम दिएर त्यस्तै प्रकारको मार्जिन प्रयोग गरिरहेको हुन्छ ।
मार्जिन अफ सेफ्टी कार वा सवारी साधन चलाउँदा २ सवारी साधनबीचको फरकजस्तै हो । अगाडिको सवारी साधनभन्दा आफ्नो सवारी साधन जति बढी फरकमा राख्न सकियो त्यतिनै अगाडिको सवारी साधनको व्यवहारको मूल्यांकन गर्न सकिन्छ । र, आफूलाई सुरक्षित राख्न सकिन्छ । यदि अगाडिको सवारी साधनभन्दा आफ्नो साधनको दुरी एकदमै नजिक भए अगाडिको सवारी साधनको व्यवहारको मूल्यांकन गर्न निकै नै गाह्रो हुन्छ, जसका कारण दुर्घटनाको सम्भावना बढेर जान्छ ।
मार्जिन अफ सेफ्टीलाई वारेन वफेट पुलको निर्माणसँग पनि तुलना गर्छन् । उनी भन्छन् ‘पुल निर्माण गर्दा हामी ३० हजार पाउण्डको वजन धान्ने गरी बनाउछौं । तर, वास्तवमै १० हजार पाउण्डसम्म मात्रका सवारी साधन चलाउने अनुमति दिन्छौं भने त्यहाँ पर्याप्त मात्रामा वजनको मार्जिन रहेको हुन्छ । र, दुर्घटना हुने सम्भावना अत्यन्तै न्युन हुन्छ । लगानीमा पनि यहही नियम लागु हुन्छ । चार्ली मंगर भन्छन्, ‘इन्जिनियरिङमा सुरक्षाको अति नै ध्यान दिइन्छ । तर, वित्तीय संसारमा मतलव राखिँदैन ।’
सेयर किन्दा पनि हामीले अतिनै खराब अवस्थामा पनि लगानी सुरक्षित हुन सक्ने गरी कम्पनी र मूल्य हेर्नुपर्ने हुन्छ । मार्जिन अफ सेफ्टीले हामीले गर्ने गल्तीबाट पनि सुरक्षित राख्छ । र, यो एक रुपैयाँलाई ७० पैसामा किन्नुजस्तै हो । हरेकले गल्ती गरिरहेकै हुन्छन् । त्यसबाट बच्न बीमा गरिनु राम्रो हुन्छ । र, मार्जिन अफ सेफ्टीले बीमाको काम पनि गरिरहेको हुन्छ । सही मार्जिन अफ सेफ्टीसहितको लगानी प्राप्त गर्नु निकै नै गाह्रो छ यसैले हामी धैर्य हुन आवश्यक छ ।
कति मार्जिन अफ सेफ्टी ठीक वा, सेयरको वास्तविक मूल्य र बजार मूल्यको कति फरक हुँदा किन्दा ठीक ? भन्ने प्रश्न हुनसक्छ । मार्जिन अफ सेफ्टी र हाम्रो जोखिम लिनसक्ने क्षमता एकआपसमा सम्बन्धित छन् । हामी जति बढी जोखिम लिन तयार छौं त्यति नै यसको फरक कम भए पनि लगानीका लागि तयार हुन सकिन्छ । यदि ‘क’ भन्दा कम जोखिम लिन तयार हुन्छौं भने बढीभन्दा बढी मार्जिन अफ सेफ्टी आवश्यक हुन्छ । र, वास्तविक मूल्यभन्दा धेरै नै कममा सेयर किन्नु पर्छ ।
(भट्टराई सेयर बजार विश्लेषक हुन् । विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन्। उनले सेयरबाट करोडपति, सेयर मन्त्र, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, हाउ टु इनभेष्ट इन स्टक मार्केटजस्ता कितावहरु लेखेका छन् ।)