भारतीय लगानी भित्र्याउन न्यूनतम लगानीको सीमा घटाउन सरोकारवालको सुझाव



काठमाडौं । सूचना प्रबिधि तथा साना तथा मझौला उद्योगको क्षेत्रमा लगानीका लागि न्यूनतम सीमा १ करोड रुपैयाँ बनाए भारतबाट आउने लगानी बढ्ने जानकारहरुले बताएका छन् ।

बिहीबार नेपाल–भारत उद्योग वाणिज्य संघले उद्योग बिभागमा महानिर्देशक रामचन्द्र तिवारीसँगको अन्तरक्रियामा नेपालमा औद्योगिक क्षेत्रको लगानी अभिबृद्धिका लागी आवश्यक नीतिगत सुधारका साथै सरलीकरण र सहजीकरणका लागि अनुरोध गरेको हो ।

त्यस्तै बिदेशी लगानीमा सञ्चालित कम्पनीहरुले आफ्नो माउ कम्पनीबाट उत्पादित केही प्रमुख वस्तुहरु, जुन उत्पादनका हिसाबले ठूलो लगानी आवश्यक हुने तर बजारको आकारको हिसाबले नेपालमा लगानी गर्न सम्भव नहुने भएको कारण त्यस्ता वस्तुहरुलाई माउ कम्पनीबाट आयात गरेर बजार परीक्षण गर्न नेपाली बजारमा बिक्री वितरण गरी आवश्यक पहल गर्न नीतिगत व्यवस्थाका लागि पहल गर्न संघका उपाध्यक्ष सैवाल घोषले आग्रह गरेका थिए ।

घोषले नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धी बिषयमा समस्या रहेको भन्दै नेपालमा संचालित भारतीय तथा बिदेशी लगानीका कम्पनीहरुले प्रतिलिपी तथा ट्रेडमार्क दर्ता सम्बन्धी समस्याको अन्त्य हुनुपर्ने बताए ।

उनले प्रतिलिपि तथा ट्रेडमार्क दर्ता गर्ने प्रक्रियालाई सहज बनाउन तथा अन्तर्राष्ट्रिय प्रचलन अनुसार काम गर्न पनि सुझाव दिए ।

कार्यक्रममा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले उद्योगहरु स्थापनाका लागि विदेशी लगानी आवश्यक भएको बताए ।

उनले विदेशी लगानी ल्याउनका लागि प्रक्रिया सहज बनाउन एकद्वार प्रणालीको व्यवस्था गरिएको भन्दै अझै सुधार आवश्यक रहेको बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष सुनिल केसीले नेपालमा आउन चाहने साना तथा ठूला सबै किसिमका लगानीहरुका लागी बिभागले सहजीकरण गर्न सकिने र सोका लागि क्षेत्रगत रुपमा न्यूनतम लगानीको परिमाण तोकिनु उपयुक्त हुने सुझाव दिँदै सो सम्बन्धी नीतिमा परिमार्जन गर्न अनुरोध गरे ।

उपाध्यक्ष केसीले नेपाल–भारत उद्योग वाणिज्य सघ नेपालमा बिदेशी लगानी बिशेष गरी भारतीय लगानी भित्र्याउन प्रयास गरिरहेको भन्दै ९० को दशकमा जसरी डाबर, लिभर, सूर्य नेपाल जस्ता कम्पनीहरु नेपाल आएको भन्दै सोही रुपमा अहिले पनि लगानीमैत्री कालखण्डको पूनरावृति आवश्यक रहेको बताए ।

‘भारतमा थुप्रै नयाँ तथा ठूला उद्योग व्यवसायहरु स्थापित भैसकेको अवस्थामा अबको दिनमा ९० को दशकमा जस्तै वातावरण सिर्जना गरी लगानी भित्र्याउनु पर्ने आवश्यक छ,’ उनले भने ।


क्लिकमान्डु