नियामकले बनाएको कुलिङ पिरियड नीतिको सीईओहरुबाटै भद्र अवज्ञा



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्समा वरिष्ठ डेपुटी सीईओमा आइतबारदेखि प्रविणरमण पराजुली नियुक्त भए । पराजुली ६ महिनापछि नेपाल लाइफको सीईओ हुने गरेर रिलायन्स लाइफ छाडेर आएका हुन् ।

नियामक बीमा समितिको निर्देशिका अनुसार पराजुली ६ महिनासम्म अर्को बीमा कम्पनीमा सीईओ बन्न पाउने थिएनन् । तर, सीइओ बन्न नपाएपनि पराजुली वरिष्ठ डेपुटी सीईओ बनेर नेपाल लाइफ भित्रिएका हुन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सीईओलाई अर्को संस्थामा सीईओ बन्नका लागि ६ महिनाको कुलिङ पिरियडको व्यवस्था गरेको छ । राष्ट्र बैंकले कुलिङ पिरियड सम्बन्धी नीति ल्याएपछि त्यसको सिको गर्दै बीमा समितिले पनि कुलिङ पिरियडको व्यवस्था ल्यायो ।

राष्ट्र बैंकले ल्याएको कुलिङ पिरियड सम्बन्धी नीतिको भद्र अवज्ञाको शुरुवात अनिल शाहले गरे । मेगा बैंकबाट नबिल बैंकमा उनी डेपुटी सीईओ भएर गए । जबकी शाह मेगा जानुअघि नै नबिलमा सीईओ थिए । ६ महिनापछि शाह नबिल बैंकमा सीईओ भए ।

बीमा क्षेत्रमा भने प्रुडेन्सियल इन्स्योरेन्सबाट नेपाल इन्स्योरेन्समा बीके महर्जनले डेपुटी सीईओ बनेर नीतिको भद्र अवज्ञा गरे । अहिले महर्जन नेपाल इन्स्योरेन्समा कामू सीईओ पदमा कार्यरत छन् ।

महर्जनकै शैली नेपाल लाइफले पनि पराजुलीलाई नियुक्त गर्दा अपनाएको छ । रिलायन्स लाइफमा सीईओ भएका पराजुली ६ महिनासम्म सीइओको रुपमा काम गर्न नपाउने भएपछि डेपुटी सीइओ भनेर नेपाल लाइफ भित्रिएका हुन् ।

बीमा समितिद्वारा जारी बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका अनुसार प्रमुख कार्यकारी अधिकृतलाई ६ महिनाको कुलिङ पिरियड लागू हुने व्यवस्था छ । एउटा कम्पनीबाट राजीनामा दिएको ६ महिनाभित्र अर्को कम्पनीको सीईओ बन्न नपाउने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनमा पनि एउटा बैंकमा सीईओ रहेको व्यक्ति अर्को बैंकमा गएमा ६ महिनाको कुलिङ पिरियडमा बस्नुपर्ने व्यवस्था छ । बैंकमा अनिल शाह बाहेक सबैले कुलिङ पिरियडको नियम कार्यान्वयन गरेका थिए ।

एभरेष्ट बैंकमा सुदेश खालिङ सिटिजन्सको सञ्चालकबाट राजीनामा गरेको ६ महिनापछि सीईओ बनेका थिए । नियुक्त भएको ६ महिनापछि सीईओ जिम्मेवारी सम्हाले पनि खालिङलाई विभागीय प्रमुखले कार्यभार नसमाल्दासम्म रिर्पोेटिङ गर्ने गरेका थिए ।

बैंक तथा वित्तीय संस्थामा ३ महिनाभन्दा बढी सीईओ पद खाली राख्न नहुने व्यवस्था छ । तर, सो व्यवस्था भने कार्यान्वयन हुँदैन । यस्तै नीति बीमा कम्पनीमा छ । तर, सो व्यवस्था नियामकले कार्यान्वयन गर्न सकेको छैन ।

एउटा संस्थामा सीइओ रहेको व्यक्ति भोलिपल्ट नै अर्कोमा सीइओ बन्न गएपछि गोप्य सूचनाहरु लैजाने र नैतिकता नदेखिने भएपछि कुलिङ पिरियडको व्यवस्था ल्याएको हो ।
आफूले ल्याएको नीतिको भद्र अवज्ञा भएपनि बीमा समितिले भने यसमा चासो दिएको छैन । बीमा समितिका अध्यक्ष सूर्य सिलवाल निर्देशिका कार्यान्वयन भएको बताउँछन् ।

हामीले जारी गरेको निर्देशिकाले कुनै एक कम्पनीको प्रमुख कार्यकारी अधिकृत तत्काल अर्को कम्पनीमा सोही पदमा नियुक्त गर्न नपाउने व्यवस्था गरेको छ, कुनै कम्पनीबाट सीईओ पदबाट बाहिरिएको व्यक्ति अन्य कुनै कम्पनीमा तल्लो पोष्टमा जानुलाई स्वभाविकरुपमा लिन सकिने उनको भनाइ छ,’ उनले यिक्लकमाण्डूसँग भने ।

समितिले सीईओ पदलाई मात्र चिन्ने भएको हुँदा सीईओ भएको व्यक्ति तल्लो तहमा जाने प्रवृति भने रोक्न नसकिएको बताउँछन् ।

बैंक तथा बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । लगातार २ कार्यकालभन्दा बढी एउटा संस्थामा सीइओ बन्न नपाइने व्यवस्था छ । ६ महिनाको कुलिङ पिरियडको व्यवस्थाको कार्यान्वयन नहुने देखिएपछि यसलाई संशोधन गर्नुपर्ने माग बैंक बीमामा काम गर्ने कर्मचारीहरुको छ ।


क्लिकमान्डु