टर्कीको अर्थतन्त्रमा विकराल समस्याः रोटी किन्न पसलहरुमा लामा लाइन



एजेन्सी । सोमबार हामीले पाकिस्तानको अर्थतन्त्रका बारेमा सामान्य जानकारी दिने प्रयास गरेका थियौं । समस्यामा फस्दै गएको पाकिस्तानको अर्थतन्त्रको पछाडि कोरोना कहर देखिएको थियो । यस्तै महंगीमा भएको वृद्धि तथा आम मानिसमा फैलिएको निराशालाई पनि जोडिएको थियो ।

यसै क्रममा मंगलबार भने टर्कीको बारेमा जानकारी दिने प्रयास गरिएको छ । कोारोले पारेको प्रभावका कारण संसारकै अर्थतन्त्र संकटको घडीमा छ । केही देशले विस्तारै सुधारको दिशामा लगेपनि, क्रमशः एक प्रकारको ‘ववल’हरु देखा परेका छन् ।

त्यसले अर्थतन्त्रलाई एउटा राम्रै धक्का दिन्छ भन्नेमा अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक जस्ता संस्थासमेत सहमत छन् । फुकीफुकी अगाडि बढ्नुपर्ने चुनौती विश्वका सामु देखिएको छ । खास गरेर सबल भनिएका देशहरुमा पनि अवस्था सोचेजस्तो राम्रो छैन ।

कोरोना कहरको बीचमा चीनको अर्थतन्त्र तुलनात्मक रुपमा सन्तुलनमा रहेपनि पछिल्ला दिनमा के हो के हो भन्ने अवस्थामा पुगेको छ । यूरोपको अवस्था त हरेक दिन नै के हुने हो भन्नेमा पुगेको छ । अब रह्यो अमेरिका, क्यानडा र अष्ट्रेलिया तथा जापानको अर्थतन्त्र ।

ती देशको अवस्था पनि तुलनात्मकरुपमा ठिकठाक देखिएापनि सन् २००८ के जस्तो अवस्था कुन बेला कुन क्षेत्र मार्फत आउने हो भन्नेमा प्रष्ट छैन । किनकी, अर्थतन्त्रका अनेकन हाँगा छन्, तीमध्ये कुन चाँही हाँगामा ऐजेरु लागेको छ भन्ने कुरा नांगो आँखाले देख्न मुस्किल परिरहेको छ ।

यस्तै, समस्याको जडमा फसेको छ, टर्की । पछिल्ला दिनमा अमेरिकासँगको सम्बन्धमा उतार चढाव देखिएको छ । नेपालका लागि त टर्की एउटा ट्रान्जिट प्वाइन्ट जस्तो पनि छ । टर्किस एयरका कारण नेपाल र टर्कीबीचको सम्बन्ध एक आपसमा जोडिएको छ ।

तर, खास अर्थमा अन्य औपचारिक सम्बन्धहरु छैनन् । भारत, पाकिस्तान जस्ता देशसँग नेपाल एक अर्कामा निर्भर भएपनि टर्कीसँग त्यस्तो सम्बन्ध भने छैन । यद्यपी अर्थतन्त्रमा परेको संकट नेपालका लागि पनि सिक्न मिल्ने खालको भएकाले यसमा जोड दिन खोजिएको हो ।

एउटा शासकले मनोमानी गर्दा अर्थतन्त्र कसरी समस्यामा पर्छ भन्ने बारेमा नेपाल र टर्कीका बीचमा समानता छ । अघिल्ला प्रधानमन्त्री खड्गप्रसाद ओलीको कार्यकालमा डा. युवराज खतिवडामार्फत् जुन खालको प्रणाली नेपालमा स्थापना गर्न खोजिएको थियो, त्यस्तै खालको अवस्था टर्कीमा देखा परेको छ । यद्यपी, टर्की र नेपालको अर्थतन्त्रको आकारकाबीचमा तुलना नै हुन सक्दैन ।

यतिबेला टर्कीका राष्ट्रपति रेचेप तैथ्यप अर्दोगानका कारण अर्थतन्त्र संकटको डिलमा पुगेको विवरणहरु सार्वजनिक भएका छन् । मानौ कि भीरको टुप्पोमा रहेको फर्सीजस्तै कुनै पनि बेला खस्ने अवस्थामा पुगेको छ ।

संसारभरका इस्लामहरुको खलिफा बन्ने इच्छा राखेका राष्ट्रपति अर्दोगानका कारण पाकिस्तान जस्तै आर्थिक संकटमा परेको छ । रमाइलो के छ भने पाकिस्तान र टर्कीका बीचको सम्बन्ध असाध्यै न्यानो र मैत्रीपूर्ण छ । तर, टर्कीको मुद्रा लीरा लगातार कमजोर बन्दै जाँदा त्यसले समग्र क्षेत्रमा समस्या खडा गरेको छ । सोही कारण महंगीको मात्रामा २१ प्रतिशतले वृद्धि भएको छ ।

खाने पिउने सामानको मूल्य यतिधेरै बढेको छ कि कुरा गरी साध्य छैन । सरकारले अन्ुदानमा उपलब्ध गराउने सस्तो रोटीका लागि पसल बाहिर लामा लामा लाइनहरु लागेका छन् ।

खासमा टर्कीमा रोटी त्यहाँ मानिसको सांस्कृतिक जीवनसँग जोडिएको एउटा महत्वपूर्ण हिस्सा हो । हरेक जसो खानाका साथ रोटी हुनुलाई महत्वपूर्ण मानिन्छ ।

टर्कीको अवस्था आगामी दिनमा अझै भयानक बन्ने अवस्था देखिएको छ । किनकी राष्ट्रपति अर्दोगान अर्थतन्त्रको सामान्य सिद्धान्तभन्दा पनि बाहिर गएर चल्न थालेका छन् ।
खासमा संकटको मुख्य कारण नै त्यही बन्न पुगेको छ । उनले लगातार बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा कटौती गरिरहेका छन् । उनको दावी छ कि यसो गरिएको खण्डमा महंगाई ४ प्रतशितको हाराहारीमा लयाउन सकिन्छ ।

टर्कीमा सन् २०१८ मा पनि यस्तै खालको संकट देखा परेको थियो । तर, त्यस समयमा अमेरिकाको प्रतिबन्ध लागेको अवस्था थियो । हालको स्थिती पूर्ण रुपमा फरक रहेको छ ।

यस्तो बेलामा सवाल यो उठेको छ कि अर्दोगानको मनोमानीका कारण देशको अर्थतन्त्र पूर्णरुपमा डुबिरहेको त छैन ? आम रुपमा जिज्ञासा छ । किनकी, अवस्था र संकेतहरु ओरालो लागेको बाच्छालाई मृगले पनि खेद्छ भने जस्तै भएको छ ।

टर्कीको मुद्रा लीरा पछिल्लो एक महिनामा अमेरिकी डलरको तुलनामा ५० प्रतिशतले कमजोर भएको छ । २० नोभेम्बर, २०२१ मा डलरको तुलनामा लीराको मूल्य ११.२३ थियो ।

पछिल्लो एक महिनामा वा २० डिसेम्बरमा आइपुग्दा त्यो बढेर १६.७६ मा पुगेको छ । एक वर्ष पहिले १ डलर खरिदका लागि ७.६६ लीरा मात्रै खर्च गरे हुने अवस्था थियो ।
भारतीय मुद्रामा हेर्दा एक महिना पहिले १ लीरा खरिदका लागि ६.६२ भारु तिर्नुपर्दथ्यो । अब यो घटेर ४.५४ मा पुगेको छ । एक महिना पहिले १०० लीरा बराबर ६६२ पाउने अवस्था थियो । त्यो अहिले घटेर ४५४ मा आइपुगेको छ ।

सन् २००७–२००८ मा लीरा काफी मात्रामा महंगो थियो । त्यस समयमा १०० लीरा बराबर ३ हजार ७०० भारु बराबर प्राप्त हुन्थ्यो ।

मुद्रामा भारी मात्रामा गिरावट आएका कारण आयातमा प्रभाव परेको छ । विदेशबाट आाउने सामानको मूल्यवृद्धि भएको छ । सोही कारण आयात घटीरहेको छ । आयात घटेपछि बजारमा सामानको अभाव देखिएको छ ।

सोही कारण बजारमा महंगी अत्याधिक मात्रामा वृद्धि भएको छ । २०२१ को जनवरीमा मुद्रास्फिती १४.९७ प्रतिशत थियो । त्यो बढेर नोभेम्बरमा २१.३१ प्रतिशत भएको छ । यो सरकारी तथ्यांक हो । तर बजारमा यसको तुलनामा महंगी दुईगुणा भन्दा बढी हो ।

महंगाईमा भएको बृद्धिका कारण यहाँ खान पिउनका लागि नै समस्या पैदा भएको छ । इन्धन तथा औषधी खरिद गर्न पनि मुस्किल भएको छ । आलु, आटा, कुखुराको मासुको मूल्यले आकाश छोएको छ । ती सामान खरिद गर्नु भनेको सुन खरिद गर्नु जस्तै हुन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको विवरणमा उल्लेख छ ।

खासगरी टर्कीको अर्थतन्त्र आयातमा निर्भर रहेको छ । सोही कारण लीराको भाऊ क्रमशः ओरालो लाग्नु र डलर बलियो भन्दै जाँदा उपभोग्य सामग्रीमा चाप परेको छ । सुपर मार्केटहरुमा हरेक दिन नै तीन देखि चार पटकसम्म मूल्यवृद्धि भएको सूची सार्वजनिक हुने गरेको छ ।

अनुदानका उपलब्ध हुने रोटीका लागि लाइनमा बसेका एक ५७ वर्षीय टर्कीस नागरिले भने ‘म यहाँको विश्वविद्यालयमा २१ वर्षसम्म क्लीनरको रुपमा काम गरे , अब भने म खानका लागि रोटीको लाइनमा बसीरहेको छु ।’

यस्तै, एक इलेक्ट्रिसियन भन्छन् ‘मैले महिना दिनभरीमा मात्रै २ हजार ९०० कमाई गर्छु । तर, भाडा नै २००० लीराले बढेको छ । यस्तोमा अत्यावश्यक सामान खरिदका लागि मैले कटौती गर्नुपर्छ ।’

टर्की सरकारले एउटा रोटीको मूल्य २.५ लीरा तोकिदिएको छ । त्यो भन्दा बढी मूल्य लिन पाइने छैन । सरकारको आदेश अनुसार रोटी बिक्री गरिरहेका व्यापारी भन्छन् ‘अब यो मूल्यमा रोटी बिक्री गर्न सकिदैन ।’

यो बीचमा तेल, बिजुली र ग्यासको मूल्यमा समेत वृद्धि भएको छ । यस्तै, पसलको भाडा समेत बढेको छ ।

अर्थतन्त्रका जानकारहरुका अनुसार सन् २००३ मा जब अर्दोगान सत्तामा आए, तब अर्थतन्त्रमा सुधार देखियो । उनले विदेशी लगानीकर्तालाई बोलाएर लगानी गर्न भने, लगानीकर्ता आकर्षित पनि भए । अर्थतन्त्र तिव्र गतिमा अगाडि बढ्न पनि थाल्यो । अर्दोगान शासनको पहिलो दशकमा अर्थतन्त्रमा मिराकल नै देखिएको थियो ।

गरिबी आधाभन्दा बढीले घटेको थियो । लाखौं मानिस मध्यम वर्गको श्रेणीमा रुपान्तरित भएका थिए । तर अर्दोगानले पछिल्ला दिनमा आफैले अगाडि सारेका नीतिहरुमा खासै ध्यान दिएनन् । विदेशी लगानीकर्ताले पाएका सुविधा समेत खोसिन थाल्यो ।

सन् २०१९ मा जब त्यहाँको केन्द्रीय बैंकका गभर्नरले ब्याज दर कम गर्ने विषयमा अर्दोगानको आदेशलाई अस्वीकार गरे, तब उनले जागिरबाट हात धुनुपर्यो ।

लीराको मूल्य लगातार ओरोलो लाग्न थालेपछि अर्दोगानले बैंकहरुमा रहेको डलर धमाधम बिक्री गर्न थाले । त्यसबाट डलरको भण्डारण समेत कमी हुन पुग्यो ।

सन् २०२० मा कोरोना भाइरसका कारण संसारभरको अर्थतन्त्रमा नै समस्या देखा पर्यो । टर्कीको निर्यातसमेत प्रभावित भयो । पर्यटन क्षेत्रसमेत धारासायी भयो । टर्कीको अर्थतन्त्र खासमा पर्यटन उद्योगमा आधारित छ ।

महामारीका कारण समस्यामा परेको पर्यटन क्षेत्रमा केही सुधार आयो । गत सेप्टेम्बरमा केही सुधार आउँदा मात्रै १.७ अर्ब डलर बराबरको चालु खातामा सरप्लस देखियो ।
सन् २०२० भने २.३ अर्ब डलर बराबरको घाटा हुन पुगेको थियो । कोरोना महामारी कम भएपनि अर्थतन्त्रमा समस्या देखा परिरहेकै छ । खासमा राम्रा दिन आउला भनेको, अवस्था झनै विकराल भएको छ ।

अर्दोगान पछिल्ला दुई दशकदेखि टर्कीको शासनमा छन् । उनी सन् २००३ देखि सन् २०१४ स्म्म प्रधानमन्त्रीका रुपमा थिए । सन् २०१४ पछि उनी राष्ट्रपतिका रुपमा क्रियाशिल छन् ।

आगामी १८ महिनापछि सन् २०२३ मा निर्वाचन हुनेवाला छ । सो चुनाव उनका लागि मुस्किल पर्ने देखिएको छ । १२ डिसेम्बरमा टर्कीमा करिब ५ हजार मानिसले प्रदर्शन गरेका थिए । महंगीका कारण जनजीवन प्रभावित भएको भन्दै मानिसहरुले विरोध गरेका थिए । विपक्षी पार्टीहरुले मध्यावधी चुनावको माग गरिरहेका छन् ।

टर्कीको कूल हिस्सामध्ये ३ प्रतिशत हिस्सा यूरोपमा र ९७ प्रतिशत हिस्सा एशियामा छ । यूरोप र एशियालाई जोड्ने पुल भएकाले यसलाई यूरोसिया पनि भनिन्छ । यूरोपको हिस्सा कम भएपनि यो देश यूरोपेली संघमा छ ।

रुस, इरान, इराक, सिरिया, भूमध्यसागर, ग्रीस, बुल्गेरिया र कृष्णसागर टर्कीको सीमा हुन् । टर्कीमा कूल ८ करोड २० लाख मानिस बसोबास गर्छन् । त्यसमा ९९ प्रतिशत जनसंख्या मुसलवान छन् । त्यसमा पनि ८४ प्रतिशत सुन्नी र बाँकी शिया समुदायका छन् ।

टर्कीको राजधानी इस्तानबुलमा मात्रै १ करोड ५० लाख मानिसको बसोबास रहेको छ । संसारको एक मात्रै यस्तो शहर हो इस्तानबुल जो दुई वटा महादेशमा फैलिएको छ ।

संसारकै सबैभन्दा बढी चिया खपत हुने देशका रुपमा समेत टर्की परिचित छ । त्यहाँका हरेक व्यक्तिले वर्षदिनभरीमा ३.१५ किलो बराबरको चिया खपत गर्छन् । मुसलवानको जनसंख्या अत्याधिक धेरै भएपनि यो धर्मनिरपेक्ष देश हो ।


क्लिकमान्डु