काठमाडौं उपत्यकामा वार्षिक करिब ८० हजार घरजग्गा किनबेच, राजस्वको हिस्सा ४०%भन्दा बढी
काठमाडौं । देशभरका १२६ वटा मालपोत कार्यालयबाट ६ लाखको हाराहारीमा घरजग्गा किनबेच हुँदै आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले वार्षिक देशभर ६ लाखको हाराहारी घरजग्गा किनबेच हुँदै आएको देखाउँदछ ।
नेपालमा अधिकांश घरजग्गा शहर केन्द्रित बढी कारोबार भएको देखिन्छ । साथै, सेवा सुविधा र विकासक्रमको आधारमा विभिन्न ठूला शहर केन्द्रित तीब्र घरजग्गा कारोबार भएको विभागको तथ्याङ्कले पनि उल्लेख गरेको छ ।
पछिल्लो समय चितवन, कास्की, काभ्रेपलाञ्चोक, सुनसरी मोरङ, झापालगायत अन्य शहर केन्द्रित जिल्लाहरूमा घरजग्गा कारोबार उच्च हुँदै आएको छ । कोरोनाका कारण अधिकांश व्यापार व्यवसाय बन्द हुँदा घरजग्गा कारोबारमा कुनै असर देखिएन । जसले गर्दा जग्गाको मूल्य निकै महंगो भएको छ ।
त्यस्तै, देशभर सबैभन्दा बढी घरजग्गा कारोबार हुनेमा उपत्यका पनि एक हो । सुवा सुविधाको हिसाबले सम्पूर्ण व्यवस्था रहेको उपत्यकामा बढ्दो घरजग्गाको कारोबार हुँदै आएको छ ।
उपत्यकाका ३ जिल्लामा ९ वटा मालपोत कार्यालय छन् । काठमाडौंमा ६ वटा, ललितपुरमा २ र भक्तपुर १ मालपोत कार्यालय छन् । उक्त मालपोत कार्यालयबाट वार्षिक उपत्यकामा ८० हजारको हाराहारीमा घरजग्गा कारोबार हुँदै आएको विभागको तथ्याङ्कले देखाउँदछ ।
विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा देशभरबाट ३ लाख ९६ हजार घरजग्गा किनबेच भएकोमा उपत्यकामा ७५ हजार १४७ घरजग्गाको किनबेच भएको थियो ।
त्यस्तै, आव २०७६/७७ मा ५ लाख ६९ हजार घरजग्गा किनबेच हुँदा उपत्यकामा ८० हजार ६ सय ४८ र २०७७/७८ मा देशभर ६ लाख बढी घरजग्गा किनबेच हुँदा ७८ हजार ५ सय ५४ घरजग्गाको किनबेच भएको थियो ।
साथै, चालु आवको ५ महिनाको अवधिमा उपत्यकामा ४४ हजार ५ सय ४३ घरजग्गा किनबेच भएको छ । सो तथ्याङ्कले उपत्यकामा घरजग्गाको कारोबार उच्च रुपमा बढेको देखिन्छ ।
उपत्यकामा कारोबार भएकामध्ये पछिल्लो समय काठमाडौंबाहेक अन्य दुई जिल्ला बढी कारोबार भएको तथ्याङ्कले देखाउँदछ । विगतको दिनमा काठमाडौंमा केन्द्रित भएको घरजग्गा कारोबार अहिले काठमाडौं क्षेत्रका घरजग्गा निकै महंगो हुँदा नजिकका जिल्लातर्फ आकर्षण भएको विभागले जनाएको छ ।
साथै, शान्त वातावरण र अन्य जिल्लाबाट बसाईंसराई गर्न चाहनेहरू भक्तपुर तथा ललितपुर केन्द्रित भएको विभागको भनाइ छ ।
त्यस्तै, आव २०७७/७८ मा उपत्यकाका मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भक्तपुरमा बढी घरजग्गा कारोबार भएको थियो ।
उक्त जिल्लामा गत वर्ष १७ हजार ५१९ घरजग्गा किनबेच भएको थियो भने लगनखेल मालपोत कार्यालयबाट १७ हजार ३२४ घरजग्गा किनबेच भएको थियो ।
त्यस्तै, काठमाडौंमा कलंकीबाट १४ हजार ८५, चावहिालबाट ८हजार ३७९, साँखुबाट ८ हजार २९४, मनमैजुबाट ६ हजार ११९, डिल्लिबजारबाट ३३ सय १९, टोखाबाट ३२ सय र गोटीखेल ललितपुरबाट ३१५ घरजग्गाको किनबेच भएको थियो ।
उपत्यकाका मालपोत कार्यालयका राजस्वको हिस्सा ४० प्रतिशत बढी
कारोबारको हिसाबले अन्य जिल्लाको तुलनामा कम भए पनि राजस्व संकलनमा भने उपत्यकाका ९ वटा मालपोत कार्यालयको ठूलो योगदान रहेको छ । मासिक रुपमा ९ हजारको हाराहारीमा घरजग्गाको किनबेच हुँदै आएको उपत्यकामा घरजग्गा महंगोका कारण विभिन्न क्षेत्रअन्तर्गत ठूलो रकम उठ्ने गर्दछ ।
उपत्यकाका अधिकांश मालपोत कार्यालयबाट उच्च रुपमा कारोबार बढ्दै आएकोमा गोटीखेल लिलितपुरबाट भने कम कारोबार हुँदै आएको विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।
त्यसैगरी, आव २०७५÷७६ मा देशभरबाट ३५ अर्ब ४५ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गदा उपत्यकाबाट १७ अर्ब १० करोड ४० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
त्यस्तै, आव २०७६÷७७ मा ३४ अर्ब ८४ करोड २६ लाख रुपैयाँ राजस्व संकलन गर्दा उपत्यकाबा १४ अर्ब ४९ करोड २२ लाख र आव ५७ अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन गर्दा उपत्यकाबाट २२ अर्ब २८ करोड ३५ लाख रुपैयाँ संकलन गरेको थियो । जुन देशभरबाट संकलित रकममा उपत्यकाबाट संकलित रकमको हिस्सा ४० प्रतिशत बढी हो ।
साथै, ५ महिनाको अवधिमा उपत्यकाका ९ मालपोत कार्यालयबाट १५ अर्ब ५१ करोड २३ लाख रुपैयाँ राजस्व संकलन गरिसकेको छ ।