वैदेशिक रोजगारमा जाँदा भिजिट भिसामार्फत् नजान सुझाव



काठमाडौं । वैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नजान सरोकारवालाहरूले आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भिजिट भिसाः समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरूले सो आग्रह गरेका हुन् ।

पछिल्लो समय भिजिट भिसामा वैदेशिक रोजगारीका लागि जाने क्रम बढ्दो रहेको छ । यसकारण विभिन्न मुलुकमा पुगेर युवाहरू अलपत्र पर्ने गरेका छन् । त्यसैले यस क्षेत्रमा प्रत्यक्ष संलग्न रहेका सरोकारवालाहरूले भिजिट भिसामा नजान आग्रह गरेको हो ।


प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले पछिल्लो समय विभिन्न प्रलोभन देखाएर भिजिट भिसामा युवाहरू ओसार्ने प्रवृत्ति बढेको बताए । यसरी जानेहरू समस्या पर्नुका साथै विभिन्न सेवा सुविधाबाट बञ्चित हुने बताए ।

त्यसैले, भिजिट भिसालाई नियन्त्रण गर्न नसके उक्त समस्या आगामी दिनमा आइरहने उनको भनाइ छ । साथै, दुःख पाउँदा परिवारबाट पैसा मगाएर फर्किनुपर्ने बाध्यता रहेको उनले औंल्याए ।

एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका महासचिव मधुकर रिजालले भिजिट भिसामा जाने कामदारलाई सचेतनाको आवश्यक रहेको बताए । उनकाअनुसार भिजिट भिसामा जाने मानिस भनेको घुम्न जाने भएकाले कामदारहरूले उक्त कार्य बुझ्नु पर्दछ ।

कामदारको मात्रै नभएर सरकारको कममजोरीले पनि भिजिट भिसामा जाने श्रमिक बढ्दो रहेको बताए । ‘नेपालबाट वैदेशिक रोजगारमा जाने प्रक्रिया निकै लामो रहेको छ । कामदारहरू छोटो समयमा वैदेशिक रोजगारीमा जाने चाहन्छन्,’ उनले भने, ‘कामदारलाई छिटो र सहज ढङ्ग खोज्ने भएकाले भिजिट भिसामा जाने गरेको देखिन्छ ।’

श्रमविज्ञ रामेश्वर नेपालले भिजिट भिसाको समस्या अहिलेदेखि मात्रै नभएर विगतको दिनमा पनि रहेको बताए । भिजिट भिसाको आवरणमा युवा तस्करी भइरहेको बारे सम्बन्धीत सरोकारवालाहरु जानकार भए पनि कडाई गर्न नसकिएको उनको भनाइ छ ।

‘यो समस्याको समाधानका लागि सरकार, व्यवसायी तथा कामदार पनि इमान्दार हुन पर्छ । साथै, समस्या समाधानका लागि डिप्लोमेटिक पहल आबश्यक छ,’ उनले भने ।

यसबारे सबै जानकार भए पनि कुनै समस्याको समाधान गर्न चासो नदेखाएको भन्दै एकजुट भएर काम गर्नुपर्ने बताए ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसियसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले अज्ञानीभन्दा सबैभन्दा बढी जाने नेपाली भिजिट भिसामा जाने गरेको बताए । भिजिट भिसामा जाँदा व्यवसायीहरु पनि मारमा पर्ने र श्रमिकहरूले पनि समस्यामा पर्दा कुनै सरकारले प्रदान गर्ने सेवा सुविधा नपाउने उनले जिकिर गरे ।

‘श्रम स्वीकृति लिएर गएका श्रमिकले मृत्यु वा अंगभंग भएमा ७ लाख पाउने र बिरामी भए स्वास्थ्य खर्चबापत राहत पाउनेछ,’ उनले भने ।
उनकाअनुसार भिजिट भिसामा धेरै समस्या स्वीकार्दै उक्त समस्या समाधानका लागि सरकार, व्यवसायीलगायत कामदारसमेत उत्तरदायी भएर सचेत हुनुपर्छ । साथै, भिजिट भिसामा पठाई मोटो रकम उठाउने व्यापार बन्द गर्नुपर्ने उनको भनाइ छ ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक रानाले कामका लागि भिजिट भिषामा जाँदै नजान आग्रह गरे । ‘अहिले नेपालीहरुको संस्कृति नै जस्तो भइसकेको छ भिजिट भिसामा जाने तर उहाँहरुको उद्देश्य भनेको काम गर्ने र पैसा कमाउने नै हो । यसरी जाँदा उहाँहरुले दुःख पाउनु भएको छ ,’ उनले भने ।

सरकारले म्यानपावर कम्पनीहरुका एजेन्ट खारेज गरे पनि एजेन्टमार्फत नै काम भइरहेको अध्यक्ष रानाले बताए । सरकारले कार्यविधि नै बनाएर भिजिट भिसामा कडाई गर्नुपर्ने उनले उल्लेख गरे ।

वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले भिजिट भिसामा एनआरएनएले नै लैजाने गरेको बताए ।
‘जुन म्यानपावरले भिजिट भिसामा पठाउँछ त्यो दलाल हो । आफन्त र सरकारका विभिन्न तहका कर्मचारीको सेटिङ हो । र अर्को भारतको बाटोमार्फत पनि युवाहरु भिजिट भिसामा जाने गरेका छन्,’ कार्यक्रममा बोल्दै तामाङले भने ।

लामो यात्रा ९० दिन र छोटो ३० दिनका लागि जाने गरेको उनले बताए।

सरकारको दलाली र विदेशमा गएका व्यक्तिहरुमार्फत भिजिट भिसा मौलाउँदै गएको उनले जिकीर गरे ।

भिजिट भिसामा दक्ष र शिक्षित युवाहरु नै गइरहेको समेत कार्यबाहक अध्यक्ष तामाङले उल्लेख गरे ।
‘एउटा म्यानपावरको व्यक्तिले सेटिङ गरेर पठायो। यो निजी क्षेत्रको दलाली हो। तर भिजिट भिसामा जान दिने त अध्यागमन होइन। त्यसले सरकारको जागिर खाँदा कसम खाएको थियो होला नि त । किन जान दिइयो । किन पत्ता लगाइएन ?,’ उनले प्रश्न गरे ।
आइएनजिओ र एनजिओहरुले पनि पाँचतारे होटलमा कार्यक्रम गर्ने गरेको तर समस्या सुल्झाउन कुनै पहल नगरेको भन्दै उनले दुःख व्यक्त गरे ।
वैदेशिक रोजगारको क्षेत्रमा आफ्नो १८ वर्षको अनुभव भए पनि आफैँले बुझ्न नसकेको उनले बताए ।
सबै ट्राभल तथा म्यानपावर व्यवसायीहरुलाई सरकारले कडाई गर्न सके भिजिट भिसाको आवरणमा युवा तस्करी रोक्न मद्धत पुग्ने कार्यबाहक अध्यक्ष तामाङको भनाई छ ।
ट्राभल एजेन्सी र कन्सल्टेन्सीहरुले भिजिट भिसामा युवा ओसारिरहेको भए पनि यसको सबै दोष म्यानपावर व्यवसायीमाथि थुपारिएको भन्दै उनले दुःख व्यक्त गरे।

यस्तो समस्या आउन नदिन वैदेशिक रोजगारमा जाने व्यक्तिहरु सचेत हुनुपर्ने उनले बताए।

‘सरकार सुध्रिने हो भने आजैबाट सबै समस्या सल्टिन्छ,’ उनले भने,‘सरकारको कर्मचारी संलग्न हुने हो भने यो समस्या सधै रहिरहन्छ ।’

पछिल्लो समय युरोपियन मुलुकहरुमा भिजिट भिसाको आवरणमा युवा तस्करी बढिरहेको उनले औँल्याए ।
‘वैदेशिक रोजगारीले बेरोजगारी घटाएको छ, रेमिट्यान्स भित्र्याएको छ । गरिबी घटाएको छ तर वैदेशिक रोजगारीमा पठाउने व्यवसायीलाई राम्रो नजरले हेरिँदैन,’ उनले भने ।
मानव वेचविखन अनुसन्धान व्यूरोका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मनिराम भट्टले वैदेशिक रोजगारमा जाँदा कसैले राम्रो काम पाउने र योसँगै बेचबिखनमा पर्ने जोखिम पनि रहने बताए ।

अप्ठ्यारोमा परेकाहरु पनि उजुरी गर्न प्रहरीसम्म नपुग्ने समस्या रहेको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक भट्टले उल्लेख गरे ।
‘सकेसम्म वैदेशिक रोजगारीमा जाँदा भिजिट भिसामा जाँदै नजानुस् । यसरी जाँदा समस्यामा परिन्छ । यसरी जाँदा धेरै मानिसहरु बेचबिखनमा परेका छन,’ उनले भने ।

भिजिट भिसामा जानेलाई रोक्न नसके पनि न्यूनतम मापदण्ड तोकेर कडाई गर्नुपर्ने उनले बताए ।

म्यानपावरमार्फत गएका त्यति धेरै मानिसहरु समस्यामा परेका हुँदैनन् तर व्यक्तिगतमार्फत गएका व्यक्तिहरु बेचबिखनमा पर्ने गरेका उजुरीहरु धेरै आएका छन् ।
भिजिट भिसाको दुरुपयोगका कारण मानिसहरु अप्ठ्यारोमा पर्ने गरेको भन्दै दुरुपयोग नगर्न उनले आग्रह गरे ।

‘वैदेशिक रोजगारमा जानेले शुल्क बुझाउँदा प्रमाण लिनुपर्छ । कुन उदेश्यका लागि पैसा दिएको हो त्यो खुलाउनुस् त्यति भयो भने पछि समस्या पर्दा त्यो पैसा फिर्ता पाउन सहज हुन्छ,’ उनले भने ।

भिजिट भिसामा जानेहरुले उजुरी दिने उजुरीको काम नसकिइ फेरि सोही प्रकृयामार्फत विदेश पुगिसकेको उनले बताए ।

जनचेतनाको अभावका कारण पनि युवाहरुले भिजिट भिसाको दुरुपयोग गरिरहेको उनले जिकिर गरे ।

कसैले पिआर दिलाउँछु भनेर पनि पठाउने रहेछन् । आर्थिक वर्ष २०७७/७८ मा पिआर दिलाउँछु भनेर पठाइएका १३ जना मानिसहरुले ब्यूरोमा उजुरी गरेका थिए । उनले भने ।


क्लिकमान्डु