कांग्रेसले २०४८ सालमा लिएको नीतिले अहिलेसम्म देशको अर्थतन्त्र जिवित छ



मैले धेरै पटक भन्ने गरेको छु, नेपालमा वृहतरुपमा धेरै परिवर्तनहरु भए । २००७ सालदेखिकै कुरा गर्दा पनि कैयन परिवर्तन भएका छन् । ती परिवर्तनमा राजनीति मात्रै परिवर्तन भएको छैन । राजसंस्थादेखि एकदलीय प्रजातन्त्र र बहुदलीय प्रजातन्त्र मात्रै परिवर्तन भएको छैन । अघोषित निरंशुकताबाट बाँधिएका राजनीतिक परिवर्तन पनि भए । खाली सरकारको मात्रै परिवर्तन होइन । धेरै ठूला परिवर्तन भए । तर, अहिलेसम्म पनि मुलुक बनेन ।

आखिर किन बनेन त मुलुक ? किन आर्थिक मुद्दाहरु राजनीतिक पार्टीका प्राथमिकतामा परेनन् ? मुलुकका अर्थतन्त्रका प्राथमिकताहरु कहाँ छन् ? र, ती प्राथमिकतालाई हेर्ने दृष्टिकोण र रणनीतिलाई सम्बोधन गर्नेहरुको भूमिका कहाँ छ ? त्यसमा पनि म जस्ता भर्खरै राजनीतिमा प्रवेश गरेकाहरुका भूमिका हुन्छ ?

अहिले राजनीतिक पार्टीहरुमा आर्थिक विचार र नीति त छँदै छैन । खाली बजेट पेश गर्ने समयमा मात्रै केही बहसबाहेक हुँदैन । म पहिलो पटक संविधान सभामा र अहिलेको प्रतिनिधि सभामा सांसद भएर बसेँ । यो दुबै पटकमा एकपटक पनि मसँग कुनै पनि नेताले कहिल्यै पनि आर्थिक दृष्टिकोणका विषयमा कुरा गरेको थाहा छैन ।

विपी कोइरालाको व्यक्तित्वको विषयमा थप कुरा गर्ने आवश्यकता नै छैन । किनभने, यो विश्वले बुझिसकेको छ । विपी जत्तिको राजनीतिज्ञ नेपालमा जन्मेको छैन भन्दा फरक पर्दैन ।

मैले विपीले भनेको कुरा एउटा कुरा सम्झन्छु ।

राजनीति भनेको पेशा होइन । यो सेवा गर्ने माध्यम हो । र, गरिखाने अभियानको मर्म पनि त्यही हो । यसअर्थ आफ्नै खुट्टामा उभिएको राजनीतिक कार्यकर्ता हुनु पनि हो । जसलाई उसको प्रचारका लागि मोटरसाइकलमा २ लिटर तेल अरुले हालिदिनु नपरोस् भन्ने हो । जबसम्म त्यस्ता कार्यकर्ता जन्मिँदैनन् तबसम्म कार्यकर्ताहरुले नेता पनि जन्माउँदैनन् । र, केही अपवादबाहेक यो समस्या आजसम्म सबै पार्टीहरुमा विद्यमान छ ।

त्यबाहेक विपीले के भन्नु हुन्थ्यो भने यदि १५ वर्षभित्रमा मेरो जीवनस्तरको तहमा जनताको जीवनस्तर पुर्याउन सके भने मात्रै मेरो राजनीतिक, आर्थिक र विकासको दृष्टिकोण सार्थक हुनेछ । उहाँको सामाजवादको परिभाषा पनि त्यही हो । मैले बुझेको समाजवादको अर्थ, अग्लोलाई होचो बनाएर हुँदैन । अग्लोलाई अझ अग्लो बनाउने र होचोलाई पनि अग्लो बनाउने भन्ने भन्नुहुन्थ्यो ।

मैले बुझेको नेपालको विकासको श्रृंखलालाई हेर्ने हो भने एउटा समय थियो राणाको समयमा नेपालमा औद्योगिकरण शुरु भयो । बिराटनगरमा कटन मिल र जुट मिल स्थापना भए । तर, ती क्रमशः कमजोर हुँदै बन्द हुने अवस्था आयो । त्यसपछिको ठूलो चरण २०३६ सालदेखि ४६ सालसम्म भयो । त्यो समयमा सबै उत्पादन नेपालमै बनाउँछौं भन्ने मानिसकता शुरु भयो । त्यो मुलुकका लागि अर्को र्याडिकल टर्निङ प्वाइन्ट थियो ।

किनभने, वस्तुको उत्पादन हाम्रा बलियो पक्ष नहुन सक्छ किनभने हामी भारत र चीनको बीचमा छौं । वस्तुको उत्पादन सबैभन्दा बलियो पक्ष नहुन सक्छ भन्ने सही रुपले विश्लेषण गर्न हामीले सकेनौं ।

तर २०४८ सालपछि बनेको नेपाली कांग्रेसको नेतृत्वको सरकारले ल्याएको २ वर्षको नीतिले ७ वटा यस्ता क्षेत्रमा सकारात्मक हस्तक्षेप गर्यो । जसले कृषिमा भएको जीडीपीको निर्भता घटाउन सहयोग गर्यो । बैंकिङ, रियल स्टेट, एभिएसन, आइपीपी, मेडिकल कलेज, इन्जिनियरिङ कलेज, नयाँ विश्वविद्यालय खुलेका, शिक्षामा निजी क्षेत्रको सहभागीता बढ्यो र यसले जीडीपीमा ३५ प्रतिशत योगदान गर्यो । मुलुक चरम द्धन्द्धमा फस्दा र चरम राजनीतिक तरलता हुँदा पनि कांग्रेसको त्यही नीतिका कारण देशको अर्थतन्त्र अहिलेसम्म चलिरहेको छ ।

विपीले त्यो समयमा बोकेको सपनामध्ये के कति यी नीतिमा समावेश भए भन्ने त अध्ययनको विषय हुन सक्ला । तर, अहिलेको समयमा विपीको आर्थिक सोच र विचारमा केन्द्रित भएर कसैले सोचेको बहस गरेको पाइँदैन ।

अहिले राजनीतिक पार्टीहरुमा आर्थिक विचार र नीति त छँदै छैन । खाली बजेट पेश गर्ने समयमा मात्रै केही बहसबाहेक हुँदैन । म पहिलो पटक संविधान सभामा र अहिलेको प्रतिनिधि सभामा सांसद भएर बसेँ । यो दुबै पटकमा एकपटक पनि मसँग कुनै पनि नेताले कहिल्यै पनि आर्थिक दृष्टिकोणका विषयमा कुरा गरेको थाहा छैन ।

(पूर्वगभर्नर एवं अर्थशास्त्री डा. चिरञ्जीबि नेपालद्धारा लिखित बिपी कोइरालाको आर्थिक बिचार नामक पुस्तक बिमोचन कार्यक्रममा कांग्रेस नेतासमेत रहेका खर्बपति चौधरीले व्यक्त गरेको बिचार ।)


क्लिकमान्डु