आम्दानीको राम्रो स्रोत बन्दै गएपछि बट्टाईपालनमा बढ्दो आकर्षण



फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७ का प्रेमसिंह तामाङ अहिले बट्टाई चरा पालनबाट राम्रो आम्दामी गरिरहेका छन् । उनले सदरमुकाममा मेकानिक पसल बेचेर व्यावसायिक रुपमा बट्टाईपालनतिर लागेका हुन् ।

उनले सातामा ४ हजार रुपैयाँको बट्टाईको अण्डा बिक्री गर्दै आएका छन् । बजारमा प्रतिअण्डा १० रुपैयाँमा बिक्री हुँदै आएको छ । मासुका लागि एउटा बट्टाई २०० रुपैयाँदेखि ४०० रुपैयाँसम्ममा बिक्री गर्दै आएको तामाङले बताए । लामो समय घडी, रेडियो बनाउने मेकानिक पसल खोलेर बसेको तामाङ बट्टाई चरासँग रमाउन थालेको दुई वर्ष भयो । उनले अहिले घरमा ३ सयभन्दा बढी बट्टाई पाल्दै आएका छन् ।

राम्रो आम्दानीको स्रोतसँगै घरमा सुन्दरता समेत दिने भएकाले बट्टाई व्यवसायबाट आफू सुन्तुष्ट रहेको तामाङको भनाइ छ ।

‘अन्य जिल्लाबाट चल्ला ल्याउन पर्थ्यो । बाहिर जिल्लाबाट चल्ला ल्याउँदा धेरै बच्चा मर्ने भएकाले अहिले आफैँ हेचिङ मेसिन बनाएर बच्चा उत्पादन गर्न थालेको छु,’ उनले भने ।

तामाङ लामो समयसम्म मेकानिक क्षेत्रमा काम गरेकाले बट्ट्राईको चल्ला उत्पादन गर्ने हेचिङ मेसिन ताप्लेजुङमै पहिलोपटक आफैँले बनाएको दाबीसमेत गरे ।

कृषि क्षेत्रमा राम्रो सम्भावना देखेरै फुङ्लिङ नगरपालिका–५ का डिल्ली लिम्बूले एक दशकदेखि सञ्चालन गर्दै आएको कपडा पसल बेचेर अहिले कृषि क्षेत्रमा रमाउन थालेका छन् ।

लिम्बूले पसल बेचेर फुङ्लिङ नगरपालिका–८ मा १०० रोपनी जग्गा खरिद गरेर व्यावसायिक रुपमा मुक्कुमलुङ मोल्टी कृषि फार्म स्थापन गरेसँगै बट्टाई पालन गर्दै आएका छन् । लिम्बूले लोकल कुखुरा, कोरथनाथ कुखुरा, विभिन्न जातका बाख्रा, बङ्गुर, फलफूलतर्फ केरा, सन्तला, कागतीलागयत व्यावसायिक रुपमा उत्पादन गर्दै आएका छन् ।
त्यसमध्ये बट्टाई पनि एक शाखाको रुपमा व्यावसायिक पालन गर्दै आएको उनले बताए । अहिले र्फाममा ५०० को हाराहारीमा बट्टाई रहेको उनको भनाइ छ । दैनिक ९० भन्दा बढी अण्डा उत्पादन हुँदै आएको छ ।

मासु र अण्डामा प्रोटिनको मात्रा प्रशस्त पाइने भएकाले बिक्री गर्न समस्या नरहेको उनको भनाइ छ । सानो क्षेत्रफलमा पालन गर्न सकिने र रोगको प्रकोप देखा नपर्ने हुँदा सहजरुपमा पालन गर्न सकिने भएकाले बट्टाईपालनप्रति किसानको आकर्षण बडेको प्रेमससिं तामाङले बताए ।

‘यो चरा चिसो मौसममा बढी बिक्री हुनेरहेछ । घरमै खानका लागि किन्ने धेरै आउँछन्,’ उनले भने, ‘बजारको चिन्ता छैन । जति पाले पनि बिक्री हुन्छ ।’

बट्टाईपालनका लागि थोरै लगानीबाट शुरु गर्न सकिने र डेढ महिनाको भएपछि निरन्तर आम्दानी गर्न सकिने भएकाले बट्टाई चरा राम्रो आम्दानीको स्रोत बन्दै गएको लिम्बूको भनाइ छ ।
‘अण्डासँगै चल्लाको बजार राम्रो रहेको छ,’ उनले भने, ‘अहिले व्यावसायिकरुपमा चल्ला उत्पादन गर्दै आएको छु ।’

सानो ठाउँ सानो लगानी र कम परिश्रममा ठूलो आम्दानी लिन सकिने भएकाले बट्टाईपालनप्रति आकर्षण बढ्दै गएको छ ।


क्लिकमान्डु