महिना दिनभित्रै एमडीएमएस लागू गर्न निर्देशन दिएको छुः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताएका छन् ।

नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनसभामा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न एमडीएमएस तत्काल लागू हुने बताए ।

‘अबैध रुपमा आयात हुने मोबाइल फोन रोक्ने एमडिएमएसबारे हिजो मात्रै थाहा पाएँ,’ उनले कार्यक्रममा भने, ‘हिजोमात्रै तत्काल लागू गर्न निर्देशन दिइसकेको छु ।’

विदेशबाट बैधानिकरुपमा दैनिक हजारौं मानिसले ल्याइरहेको मोबाइल फोन रोक्न भने कठिन हुने बताए ।

‘हामी रेमिट्यान्सले अर्थतन्त्र चलाइरहेका छौं । विदेशमा दुःख गरेर नेपाल फर्किनेहरुलाई एउटा फोन पनि ल्याउन नदिनु अन्याय हुन्छ । ल्याउन दिएमा यहाँ दर्ता हुँदैन, यो समस्या छ । यद्यपि व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ,’ उनले भने ।

विभिन्न देशहरुबाट २५ देखि ३० प्रतिशत मोबाइल फोन अबैध रुपमा आयात भइ बिक्री बितरण भइरहेको स्वीकार गर्दै मन्त्री शर्माले यसलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

मोबाइलमा फोनको लागि मात्र नभएर विभिन्न सुविधा रहेको भन्दै त्यसलाई चलाउन क्षमति वृद्धि गर्नुपर्ने पनि बताए । मन्त्री शर्माले मोबाइल आवश्यकताको वस्तु भइसकेकाले यसलाई बिलासिताको रुपमा व्यवहार नगरिने पनि प्रतिवद्धता पनि जनाए ।

‘यो अत्यावश्यक वस्तु भएको छ । बिलासिताको बस्तुभित्र मोबाइल फोन परे पनि यसमा कडाइ हुँदैन ढुक्क हुुनुस्,’ उनले भने ।

उनले मोबाइलको कारण डिजिटल विश्व बनिसकेको र डिजिटल नेपाल निर्माणमा पनि मोबाइल फोनजस्ता डिभाइसको आवश्यकता छ रहेको बताउँदै यसबाट हुने बिकृत्तिबाट भने सबै बच्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मोबाइल फोनको अवैध आयात रोक्न सके अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने बताए ।

मोबाइल फोनलाई बिलासिता भन्नु गलत भएको गोल्छाको भनाइ छ । उनले मोबाइल फोन अवैध रुपमा आयात भइरहेको बताउँदै अर्थतन्त्रलाई व्यस्थित र औपचारिकरुपमा अघि बढाउन अबैध आयात रोक्नैपर्नेमा जोड थिए ।

यस्तै कार्यक्रममा बौल्दै व्यवसायी दीपक मल्होत्राले मोबाइल व्यवसायलाई व्यवस्थित गर्न एमडिएमएस लागू गर्नु अनिवार्य शर्त भएको बताए ।

‘चालू आर्थिक वर्षको बजेट दस्तावेजमै समेटिएको विषय भएकाले एमडिएमएस लागू हुनेमा हामी ढुक्क थियौं,’ मल्होत्राले भने, ‘तर त्यसो हुन सकेन । अब बल्ल अर्थमन्त्री तात्नुभएको छ । लागू हुन्छ भन्ने विश्वास लागेको छ ।’

यस्तै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मोबाइल फोन बिलाशिता नभएको बताउँदै यसमा लगानी गर्न बैंकिङ क्षेत्र तयार भएको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी सुरक्षा बलका डिआइजी सिपी गजुरेलले पनि सीमा क्षेत्रमा हुने अबेध निकासी पैयठारीलाई रोक्न संगठन तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले संस्थाको कानूनी अधिकारभित्र रहेर यही महिनाभित्र एमडिएमएस लागू गरी मोबाइल बजार व्यवस्थित गर्ने प्रतिबद्धता जनाए ।

‘मोबाइल फोन सेवाको व्यवस्थापनमा काम गरिरहेका छौं । एमडिएमएस लागू गर्ने अन्तिम तयारी भइरहेको छ,’ उनले भने, ‘कोरोना भाइरसका काराण सिस्टम लागू गर्न ढिलाइ भयो । यही महिनाको अन्तिममा यसलाई हामीले पूर्णरुपमा लागू गर्छौं ।’

संस्थाका दिनेश चुल्याद्योले मोबाइल बजारलाई व्यस्थित गर्दे माथि उठाउनका लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।

‘मोबाइल फोन अत्यावश्यक हुँदाहुँदै पनि महंगो भइरहेको छ । यसलाई कम गर्न करका दरमा हेरफेर हुनुपर्छ,’ उनले भने ।


क्लिकमान्डु