घरेलु तथा साना उद्योग दर्ता हालसम्मै बढी, २ खर्ब लगानी प्रस्ताव



काठमाडौं । कोरोना महामारीका कारण थला परेको अर्थतन्त्र यतिबेला रिभाइभको चरणमा छ । अर्थतन्त्रका कारण ७० प्रतिशत उद्योग मात्रै पूर्ण सञ्चालनमा आएको समयमा गत वर्ष हालसम्मकै सबैभन्दा धेरै घरेलु उद्योग दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा हालसम्मकै उच्च लघु, घरेलु तथा साना उद्योग दर्ता भएको उद्योग विभागको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको मातहतमा रहेको उद्योग विभागले सार्वजनिक गरेको तथ्याङकमा गत वर्ष लघु, घरेलु तथा साना उद्योग दर्ता भएको उल्लेख छ ।

विभागको तथ्याङकअनुसार आव २०७७/७८मा ८३ हजार ३ सय ८६ घरेलु तथा साना उद्योग फर्म दर्ता भएका छन् । जुन गत वर्षको तुलनामा लगभग दोब्बर हो ।

विभागले ७७ वटै जिल्लामा दर्ता भएको लघु, घरेलु तथा साना उद्योगको संख्या संकलन गरेर सो तथ्याङ्क सार्वजनिक गरेको जनाएको छ ।
कोरोना महामारीका कारण थलिएको अर्थतन्त्रमा उक्त संख्यामा उद्योग थपिएको सकारात्मक पक्ष रहेको सरोकारवालाहरू बताउँछन् ।

लघु, घरेलु तथा साना उद्योगका योजना शाखाका तथ्याङ्क अधिकृत पुष्पराज सिवाकोटीले गत वर्ष हालसम्मकै उच्च फर्म दर्ता भएको जानकारी दिए ।

उनकाअनुसार विभागले देशभरका जिल्लामा दर्ता भएको उद्योगका आधारमा हालसम्मकै उच्च उद्योग दर्ता भई नयाँ रेकर्ड कायम गरेको छ ।

कोरोना महामारीले अधिकांश श्रमिकको रोजगारी गुमेको र वैदेशिक रोजगारी ठप्प भएकाले नेपालमै उद्योग दर्ता गरी रोजगारी सिर्जना गरेको उनको भनाइ छ ।

‘नयाँ व्यवसाय गर्ने मानिसको संख्या बढेको देखिन्छ । सोही अनुसार लगानीसमेत बढेको छ,’ उनले भने ।

लघु, घरेलु तथा सामा उद्योग महासंघका पूर्वअध्यक्ष सुरेश प्रधानले आपत विपतको समयमा दर्ता गर्नुपर्छ भन्ने जागरणले बढी उद्योग दर्ता भएको बताए ।

त्यसैगरी, महासंघले अनौपचारिक रुपमा काम गर्नुहुँदैन औपचारिक रुपमा काम गर्नुपर्छ भन्नेमा जोड दिएको अर्को कारण रहेको बताउँछन् ।

उनका अनुसार नयाँ युवा पुस्ताले औपचारिक रुपमा उद्योग सञ्चालन गर्नुपर्छ भन्ने मानसिकताका कारण उद्योग दर्ता भएको बताए ।

‘कतिपयले ऋण लिनकै लागि उद्योग दर्ता गर्नुपर्ने बाध्यता हुन्छ । साथै, अहिले सबै स्थानीय तहमा उद्योग दर्ता गर्ने व्यवस्था छ । त्यसैले, सहज भएकाले उद्योग दर्ता बढी भएको हो,’ उनले भने ।

हाल स्थानीय तहले पनि साना तथा घरेलु उद्योगलाई प्राथमितामा राखेको हुनाले उत्पादन भएका वस्तुकोसमेत खपत भएको भइरहेको जानकारी दिए ।

यसअघि सबैभन्दा बढी अधिकतम वार्षिक ५२ हजार दर्ता भएको रेकर्ड छ ।

विभागकाअनुसार आव २०७६/७७ मा ४८ हजार ८५४, आव २०७५/७६ मा ५२ हजार ६२९, आव २०७४/७५ मा ३७ हजार १४३, आव २०७३/७४ मा ३२ हजार ३९ वटा लघु, घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

हालसम्ममा देशभर ६ लाख २ हजार ९२१ लघु, घरेलु तथा साना उद्योग औपचारिकरुपमा दर्ता भई सञ्चालनको अवस्थामा छन् ।

जसमा उक्त उद्योगमध्ये प्राइभेट फर्म ५ लाख ४४ हजार ९४५, साझेदारी फर्म २९ हजार ३६ र प्राइभेट फर्म ३४ हजार ५२९ वटा दर्ता छन् । उक्त दर्ता भएका फर्म तथा उद्योगमा हालसम्ममा ८ खर्ब १ अर्ब ८९ करोड रुपैयाँ लगानी भएको तथ्याङ्कले उल्लेख गरेको छ ।

साथै, ३२ लाख ८९ हजार ५१६ जनाले रोजगारी प्राप्त गरेका छन् । उक्त संख्या आव २०४६/४७ देखि २०७७/७८ सम्मको तथ्याङ्क हो ।

करिब २ खर्ब लगानी प्रस्ताव
आर्थिक वर्ष २०७७/७८ मा हालसम्मकै उच्च ८३ हजार लघु, घरेलु तथा साना उद्योग दर्ता हुँदा करिब २ खर्ब लगानी प्रस्ताव गरेको छ ।

गत वर्ष देशभर दर्ता भएका लघु, घरेलु तथा उद्योगबाट १ खर्ब ८५ अर्ब २० करोड ६ लाख रुपैयाँ लगानी प्रस्ताव भएको छ । जुन हालसम्मकै उच्च हो ।

ती उद्योगले ३ लाख ११ हजा ६७९ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएको विभागको भनाइ छ । त्यसमध्ये, १ लाख ९३ हजार ४११ पुरुष र १ लाख १८ हजार २८२ जना महिलाले रोजगारी सिर्जना गर्नेछन् ।

यसअघि सबैभन्दा बढी आव २०७६/७७ मा १ खर्ब ११ अर्ब १५ करोड ९ लाख रुपैयाँ लगानी प्रस्ताव आएको थियो । उक्त वर्ष १ लाख ६९ हजार ७७१ जनलाई रोजगारी सिर्जना हुने जनाएको थियो ।

त्यसैगरी, आव २०७५/७६ मा ९३ अर्ब ५६ करोड, आव २०७४/७५ मा ५८ अर्ब ८४ करोड र आव २०७३/७४ मा ३३ अर्ब ७९ करोड रुपैयाँको लगानी प्रस्ताव भएको थियो ।

सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग दर्ता
विभागले सार्वजनिक गरेको तथ्याङ्कले वर्गीकरणको आधारमा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग दर्ता भएको देखाउँदछ ।

उक्त क्षेत्रमा मात्रै ४८ हजार ८५२ उद्योग दर्ता भएका छन् । अन्यमा उत्पादन मूलकमा ९ हजार ६८९, उर्जा मूलकमा ७, पर्यटनमा ५ हजार ६९३, खनिजमा ३, सेवाममा १८ हजार २१८, पूर्वाधारमा ८८६ र सुचना तथा प्रविधिमा ४८ उद्योग गरी ८३ हजार उद्योग दर्ता भएका छन् ।

हालसम्ममा सबैभन्दा बढी उद्योग वागमती प्रदेशमा उद्योग दर्ता गरेका छन् ।

वागमतिमा ३२ प्रतिशत, लुम्बिनीमा १७ प्रतिशत, प्रदेश १ र २ मा १४/१४ प्रतिशत, गण्डकीमा ११ प्रतिशत, सुदूरपश्चिममा ७ प्रतिशत कर्णाली प्रदेशमा ५ प्रतिशत मात्रै लघु, घरेलु तथा साना उद्योग दर्ता छन् ।


क्लिकमान्डु