निर्यातित वस्तुको करिब आधा हिस्सा वीरगञ्ज भन्सारको



काठमाडौं । नेपालबाट निर्यातित वस्तुमध्ये करिब आधा हिस्साको वस्तु वीरगञ्ज भन्सारबाट मात्रै निर्यात भएको छ ।

चालु आर्थिक वर्षको २०७८/७९ को पहिलो तीन महिनाको तथ्याङ्कअनुसार निर्यातित भएकोमा ४८.६८ प्रतिशत हिस्सा वीरगञ्ज भन्सार रहेको छ ।

विगतको दिनमा पनि आयात निर्यातमा ठूलो हिस्सा रहेको सो भन्सारबाट तीन महिनाको अवधिमा उल्लेख्य आयात निर्यात भएको छ ।

विभागको तथ्याङ्कअनुसार तीन महिनाको अवधिमा ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख बराबरको वस्तु आयात भएको छ भने ६५ अर्ब ५ करोड २८ लाख बराबरको वस्तु् निर्यात भएको छ ।

उक्त अवधिमा नेपालले सबै भन्सारबाट आयात गरेको देखिन्छ । तर, नेपालबाट भने करिब आधा भन्सारबाट मात्रै निर्यात भएको तथ्याङ्कले देखाउँदछ ।

नेपालको मुख्य भन्सार वीरगञ्ज भन्सारबाट तीन महिनाको अवधिमा नेपालले १ खर्ब ६६ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको आयात गरेको छ । जुन आयाततित वस्तुको ३४.७९ प्रतिशत सो भन्सारको हिस्सा रहेको छ ।

त्यस्तै, सोही अवधिमा उक्त भन्सारबाट नेपालले ३१ अर्ब ६६ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । जुन नेपालबाट निर्यातित वस्तुको ४८.६८ प्रतिशत हिस्सा हो । नेपालको वैदेशिक व्यापारमा ठूलो हिस्सा रहेको देश हो भारत । नेपालबाट अत्याधिक आयात निर्यात भारतसँग भएकाले सो भन्सारको ठूलो योगदान रहेको छ ।

त्यसैगरी, वीरगञ्जपछि सबैभन्दा बढी विराटनगर भन्सारबाट निर्यात भएको विभागको तथ्याङ्कले देखाउँदछ । तीन महिनाको अवधिमा विराटनगरबाट ५८ अर्ब ४१ करोड ४१ लाख रुपैयाँको आयात गर्दा नेपालबाट १७ अर्ब ३० करोड ९३ लाख रुपैयाँको निर्यात भएको छ । उक्त तथ्याङ्कअनुसार सो अवधिमा निर्यात भएको वस्तुको २६.६१ प्रतिशत विराटनगर भन्सारको हिस्सा रहेको छ ।

वैदेशिक व्यापारको लागि नेपालमा २४ वटा भन्सार नाका रहेका छन् । तर, उक्त नाकाबाट सबैभन्सारबाट आयात हुन्छ भने निर्यात भने १२ वटा भन्सारबाट मात्रै हुँदै आएको छ । त्यसमा, वीरगञ्ज र विराटनगर भन्सारको ठूलो हिस्सा रहेकाले अन्य भन्सारको हिस्सा कम रहेको छ ।

त्यस्तै, तीन महिनाको अवधिमा नेपाल अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ अर्ब ४८ करोड ३८ लाख रुपैयाँको निर्यात गरेको छ । जुन १४.५८ प्रतिशत हिस्सा हो । साथै, मेची भन्सारबाट २ अर्ब ८३ करोड २२ लाख, भैरहवाबाट २ अर्ब ११ करोड १७ लाख, ड्राईपोर्टबाट ८१ करोड ५९ लाख, नेपालगञ्जबाट ४८ करोड ४३ लाख, कैलालीबाट २३ करोड ६८ लाख, कृष्णनगरबाट ५ करोड ३८ लाख, सुठाउलीबाट ४ करोड ३८ लाखको, कन्चनपुबारबाट १ करोड १४ लाख र जलेश्वरबाट २१ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

अन्य भन्सार रसुवा, तातोपानी, सर्लाही, गौर, भद्रपुर, जनकपुर, महेश्वर, सती, सिराहा, राजविराज र ठाडीबाट कुनै पनि वस्तु निर्यात भएको छैन ।


क्लिकमान्डु