स्वदेशी सेनिटरी प्याड उद्योगलाई सहुलियत दिँदा किन भयो आन्दोलन, कति लाग्छ कर ?



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेट प्रतिस्थापन विधेयकमा स्वदेशी सेनिटरी प्याड उद्योगलाई उत्पादनमा विशेष प्रोत्साहन गर्ने नीति ल्याएको छ । उक्त नीतिले स्वदेशी उद्योगलाई थप सहज र प्रोत्साहन मिल्ने सेनिटरी प्याड तथा टेक्पोन उत्पादन कम्पनीहरूले जनाएको छ ।

तर, स्वदेशी सेनिटरी प्याड तथा टेम्पोन उद्योगलाई सरकारले प्रोत्साहन गरेपनि बिहीबार युवाहरुले राजधानीका सडकमा विरोध जनाए । उनीहरुले माइतिघर मण्डलामा ‘रातो कर खारेज गर’लगायत अन्य विभिन्न नाराका साथ विरोध जनाए ।

आर्थिक ऐन २०७७ मा सेनिटरी प्याड आयातमा १५ प्रतिशत भन्सार महशुल लाग्ने उल्लेख छ । सोही महशुल यो वर्ष पनि कायमै छ । अर्थात् यो वर्ष सरकारकाले कर बढाएको छैन ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा उक्त सेनिटरी प्याड र टेम्पोनका कुनै पनि कर तलमाथि गरेको छैन । सरकारले विगतका भएको कर, दस्तुर र महशुलमा कुनै पनि परिवर्तन नगरे पनि विरोधमा उत्रिएपछि सरोकारवालाहरूले बिनाकारण विरोध गरेको बताएका छन् ।

राजश्व सचिव कृष्णहरि पुस्करले ट्वीट गर्दै सरकारले अहिले सेनिटरी प्याडमा कुनै कर, दस्तुर, महशुल वृद्धि नगरेको स्पष्ट पारेका छन् । साथै, सरकारले देशभित्र सेनिटरी प्याडको उत्पादनलाई विशेष प्रोत्साहन गर्ने नीति लिएको जनाएका छन् ।

त्यस्तै, प्रतिस्थापन विद्येयकमार्फत् ल्याएको ७३ नम्बर बुँदाले पनि करको कुनै कुरा उल्लेख गरेको छैन । त्यसमा थप आन्तरिक उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ छुटको व्यवस्था गरेको छ ।

‘स्वास्थ्य खोप, अक्सिजन ग्याँस तथा सेनिटरी प्याड उत्पादन गर्ने उद्योगलाई उत्पादन शुरू भएको मितिले ती वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछिको दुई वर्षसम्म ५० प्रतिशत छुट हुनेछ,’ प्रतिस्थापन विद्येयकमार्फत् ल्याएको बजेटमा उल्लेख छ ।

त्यसैगरी, आर्थिक वर्ष २०७७÷७८ मा नेपालमा १ अर्ब १७ करोड ७४ लाख रुपैयाँको सेनिटरी प्याड आयात गरेको छ । उक्त आयातित सेनिटरी प्याड र टेम्पोनबाट नेपाल सरकारले ३४ करोड २४ लाख राजस्व संकलन गरेको छ ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो साउन महिनामा ८ करोड ७९ लाख रुपैयाँको सेनिटरी प्याडमात्रै आयात भएको छ । उक्त महिनामा सरकारले २ करोड ५६ लाख राजस्व संकलन गरेको छ ।

नेपालमा वर्षिक ३ अर्ब बढी सेनिटरी प्याड र टेम्पोन खपत हुने गर्दछ । उक्त खपतमध्ये अधिकांश आयातमै भर पर्नुपर्ने अवस्था छ । तर, आन्तरिक प्रोत्साहनको नीतिले नेपालमा उद्योगको संख्या थप हुने उद्योगीहरू बताउँछन् ।

नेपालमा सेनिटरी प्याड र टेम्पोन भारत, चीन, डेनमार्क, हङकङ, फिलिपिन्स, बेलायत, अमेरिकीलगायत मुलुकबाट आयात गरेको पाइन्छ ।

सहुलियतले स्वदेशी उद्योगलाई राहत

रुपन्देहीमा उद्योग स्थापना गरी सगुन ब्राण्डमा सेनिटरी प्याड उत्पादन गर्ने डोलराज अधिकारी बजेट प्रतिस्थापन विधेयकमार्फत् सेनिटरी प्याड सञ्चालन गर्ने उद्योगलाई प्रोत्साहन दिने नीतिसँगै यसले उद्योगीलाई सहज भएको बताउँछन् ।

उनका अनुसार हाल नेपालमा विदेशी ब्राण्डका सेनिटरी प्याडको बोलबाला रहे पनि बिस्तारै आयात प्रतिस्थापन गर्दै स्वदेशी उद्योगबाट उत्पादिन सेनिटरी प्याडले बजार बढ्दै गइरहेको छ । सरकारले कच्चा पदार्थ आयातमा सहजताका साथै यस प्रकारको सुविधालाई निरन्तरता दिन सके सेनिटरी प्याडमा नेपाल आत्मनिर्भर बन्न सक्ने बताए ।

‘सरकारको नीति स्वदेशी उद्योगमैत्री छ, यसले विदेशी ब्राण्डलाई बिस्तापित गर्दै स्वदेशी ब्राण्डका उत्पादन उपभोग बढाउने अनुमान गर्न सकिन्छ,’ एजी हेल्थ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक डोलराज अधिकारीले भने ।

‘अहिले मास प्रडक्सनमा डाइपर उत्पादन गर्ने २ वटा कम्पनीमात्रै छौं, बाँकी डाइपर विदेशबाट आयात गर्नुपर्छ,’ अधिकारीले क्लिकमाण्डूसँगभने, ‘प्रत्येक वर्ष व्यवसाय ३० देखि ३५ प्रतिशतले बढाइरहेका छौं । जसले गर्दा बजारमा बलियो उपस्थिती बन्दै गएको छ ।’


अरिष्मा मोक्तान