भारत सरकारले ३०० स्टार्टअप कम्पनीलाई बिउ पुँजी उपलब्ध गराउने



भारत सरकारले सूचना प्रविधि क्षेत्रका ३०० स्टार्टअपलाई सहयोग गर्न बिउ पुँजी उपलब्ध तथा मार्गनिर्देशन गर्नका लागि समृद्ध कार्यक्रम सञ्चालन गरेको छ । यस योजनालाई भारतमा स्टार्टअपलाई हौसला दिने कार्यक्रम मैती स्टार्टअप हवले लागू गर्दैछ ।

यस कार्यक्रम अन्तर्गत ३ वर्षमा १०० युनिकर्न तयार गर्ने लक्ष्य भारत सरकारले लिएको छ । बजार मूल्य १ अर्ब डलर भएको स्टार्टअपलाई युनिकर्न भनिन्छ ।

भारत सरकारले समृद्ध कार्यक्रमअन्तर्गत छानिएका स्टार्टअपलाई साझेदारीका लागि आमन्त्रण गर्नेछ । उनीहरुलाई ४० लाख रुपैयाँसम्म बिउ पुँजी उपलब्ध र ६ महिनासम्मको मार्गनिर्देशन समेत गर्नेछ । स्टार्टअपलाई बिउ पुँजी र मार्गदर्शन दिनुका साथै बजारमा पहुँचयोग्य बनाउन पनि सहयोग गर्नेछ ।

सूचना प्रविधि एवम् दूरसञ्चारमन्त्री अश्विनी वैष्णवले समृद्ध कार्यक्रमको उद्घाटनमा यसभन्दा पहिले २० भन्दा धेरै स्टार्टअपलाई मार्गदर्शन दिइएको र आइडियाले प्रोडक्टको रुप लिने समयमा मार्गदर्शनको आवश्यकता रहेको बताए ।

‘आइडियाले प्रोडक्टको रुप लिने समय स्टार्टअपका लागि अत्यन्तै कठिन समय हो । आधाभन्दा धेरै स्टार्टअपले कुनै न कुनै कारणले यो तह पार गर्न सक्दैनन् । स्टार्टअपलाई फण्डको कमी हुनु ठूलो कुरा होइन, चूनौती त आइडियालाई प्रोडक्टको रुप दिनु या त्यसका लागि स्किल सेट जुटाउने कमीको हुन्छ । सरकारले इनक्युबेटर र स्टार्टअपको नेटवर्क १०/२० र यो भन्दा धेरैगुणा ठूलो बनाउन चाहन्छ । सरकारले स्टार्टअपलाई सहयोग गर्योभने मज्जाले मूल्य थप हुनेछ,’ उनले भने ।

इलेक्ट्रोनिक्स एवं आइटी मन्त्रालयका विशेष सचिव ज्योती अरोडाले समृद्ध स्टार्टअप एक्सेलेटर अफ मैती फर प्रोडक्ट इनोभेसन, डेभलपमेन्ट एण्ड ग्रोथको कन्सेप्टलाई सिलिकन भ्यालीको एक्सेलेटर वाइकम्बिनेटरका रुपमा विकसित गरिएको बताए ।

यो योजनामा तीन वर्षसम्म इन्क्युवेसन बिजनेसमा रहेका ५० भन्दा धेरै स्टार्टअप र कम्तीमा १० वटा नन पब्लिक बिजनेसलाई सहयोग गरेका, कार्यक्षेत्र भारत भएका, अत्यावश्यक स्थल र पूर्वाधार भएका कम्पनीहरु एक्सेलेटर तहमा जोडिन सक्नेछन् ।

भारत सरकारले यसअघि पनि ‘सोमा’ कार्यक्रममा मैती स्टार्टअप हवसँग सहकार्य गरेको थियो ।


क्लिकमान्डु