स्मार्ट सिटीको निर्माण कार्य अघि नबढाइ जग्गा रोक्का नराख्नुः महालेखा
काठमाडौं । स्मार्ट सिटी निर्माण कार्य सम्पादन प्रक्रियालाई यथासमयमा अगाडि नबढाई नागरिकको जग्गा लामो समयसम्म रोक्का नराख्न महालेखाले निर्देशन दिएको छ ।
महालेखापरीक्षकको ५८औं प्रतिवेदनमा स्मार्ट सिटी निर्माण कार्यमा चासो देखाउँदै लामो समयसम्म रोक्का राखेको औचित्यपूर्ण नरहेकाले रोक्का नराख्न निर्देशन दिएको हो ।
महालेखाका अनुसार जग्गा रोक्का राखेको ४ वर्षसम्म बिस्तृत आयोजना प्रतिवेदन नै स्वीकृत हुन नसकेकाले आयोजना तत्काल कार्यान्वयनमा लैजानुपर्ने जनाएको छ ।
नेपाल सरकारले २०७४ साल वैशाख २५ गते स्मार्ट सिटीको अवधारणा स्वीकृत गरेको थियो । उपत्यका विकास प्राधिकरणले उपत्यकाका ३ जिल्लामा ४ स्मार्ट सिटी निर्माण गर्ने निर्णय गरेको थियो । त्यसमा काठमाडौं उत्तरपूर्व (ईसान)मा १ लाख रोपनी, काठमाडौं उत्तरमा १० हजार रोपनी तथा ललितपुर र भक्तपुरमा १०÷१० हजार रोपनी क्षेत्रफलमा स्मार्ट सिटी निर्माण गर्ने जनाएको थियो ।
तर, प्राधिकरणले सिटीको अवधारणा ल्याए पनि आयोजनाको बिस्तृत आयोजना प्रतिवेदन स्वीकृत हुन सकेको छैन । स्मार्ट सिटी निर्माणको पूर्व तयारीको लागि प्राधिकरणले २०७६÷७७ सम्ममा १५ करोड ६५ लाख ४० हजार खर्च गरिसकेको प्रतिवेदनमा उल्लेख छ ।
ललितपुर महानगरपालिकाले स्वीकृत नदिएको कारणले विस्तृत आयोजना प्रतिवेदन कार्यान्वयन नुहने अवस्था रहेको छ । स्मार्ट सिटीको अवधारणा अघि बढाएपछि प्रस्तावित क्षेत्रको जग्गा बेचबिखान गर्न नपाइने निर्णय भएको छ । यसले गर्दा महालेखाले सहज बनाउन आग्रह गरेको छ ।
प्राधिकरणमा तत्कालीन आयुक्त भाइकाजी श्रेष्ठ हुँदा तीन जिल्ला स्याटालाइट सिटी निर्माण गर्ने योजना बनाएको थियो । सोही अनुसार प्राधिकरणले तीन वटा स्याटलाइट सिटी बनाउन गुरुयोजना तयार गरी मन्त्रालयमा पेश गरेको थियो । तर, मन्त्रालयले स्पष्ट योजना नभएको भन्दै फर्काइएको थियो ।
हाल प्राधिकरणमा नयाँ आयुक्त जानुका ढकाल छिन् । उनीले उक्त योजनालाई पूर्णता दिनका लागि स्पष्ट योजना र नीतिसहित मन्त्रीपरिषद्मा पेश गर्ने सुझाव दिएको छ ।
कति जग्गा रोक्का ?
इशान शहरः काठमाडौंको पूर्व उत्तरतर्फ प्रस्तावित ‘इशान’को किल्ला पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक र तेलकोट भन्ज्याङ्सम्म रहेको छ । त्यस्तै पश्चिम जोरपाटी क्रिकेट स्टेडियम जोरपाटी क्रिकेट स्टेडियम, मुलपानी, गोठाटर हुँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटोसम्म रहेको छ । त्यसमा उत्तरमा साँखु बजार र साँखु जाने मुल सडक, दक्षिणमा भक्तपुर पुरानो बाटो (नेपाल सैनिक प्रतिष्ठान– खरिपाटी, देवोमिबा इतापाके जग्गा एकिकरण आयोजना, सिन्टीटार जग्गा एकिकरण आयोजना र दिव्यश्वरी जग्गा एकिकरण आयोजना बाहेकको क्षेत्रहरु मात्र) भित्रको करिब १ लाख रोपनी क्षेत्रफल जग्गामा नयाँ नगरको भौतिक विकास योजना तर्जुमा गर्ने गरी जग्गा रोक्का राखेको छ ।
यो सहरले कागेश्वरी मनोहरा नगरपालिकाको ४, ५, ६, ७, ८ र ९ नम्बर वडा, शंखरापुर नगरपालिकाकाको ५, ६, ७ र ९ नम्बर वडा, भक्तपुर नगरपालकाको २, ६ र १० नम्बर वडा, मध्यपुर थिमी नगरपालिकाको २, ६, ७, ८ र ९ नम्बर वडा र चाँगुनारायण नगरपालिकाको १, २, ३, ४ ५ नम्बर वडाको पूरै भाग र ६, ७, ८ का केही भाग समेट्छ ।
आयोजनाको कुल लागत २ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ प्रस्ताव गरेको थियो ।
आग्नेय शहरः काठमाडौं आग्नेय (पूर्व–दक्षिण) काठमाडौं उपत्यकाभित्र भक्तपुर जिल्लाको नयाँ सहर विस्तार क्षेत्र हो । उक्त शहहर कटुन्जे, गुण्डु, दधिकोट, शिरुटार, बालकोटभित्रको जग्गाहरू रहेका छन् । त्यसमा पूर्वमा अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सुर्यविनायक मन्दिर अगाडी वनलाई बाहिर पार्दै फेदको बाटो, पश्चिममा खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्याकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्ग सिमाना, उत्तरमा अरनिको राजमार्गको सिमाना रहेको छ ।
साथै, दक्षिण भक्तपुर जिल्लाको सिनामंगल, रानीकोट जंगल छेउ, अनन्तलिगेश्वर फेदी, तर्खगाल, पात्लेटार, विरुवा हुँदै खहरेसम्म करिब १० हजार रोपनी क्षेत्रफल ओगटेको छ । यो किल्लाभित्र सूर्यविनायक नगरपालिका अन्तर्गतका १, ४, ५, ६ र ७ नं. वडाका भागहरु समावेश छन् । सो सहरका लागि प्राधिकरणले २३ अर्ब २५ करोड लागतको अनुमान गरेको थियो ।
हरित (उत्तर) सहरः काठमाडौं उत्तर काठमाडौ जिल्लाको नयाँ हरित सहर विस्तार क्षेत्रमा पूर्वमा सामाकोसी, टोखा रोड हुँदै बाइपास, पश्चिममा काभ्रेस्थली बाइपास जाने मुल सडक, उत्तरमा सपनातिर्थ मालुङ हुँदै काभ्रेस्थली र दक्षिणमा ग्रीनल्याण्ड चोकदेखि मनोरथ हुँदै महादेव खोला काभ्रेस्थलीको मुल सडक पुलसम्म करिब १० हजार रोपनी क्षेत्रफल जग्गा रोक्का अवस्थामा रहेको छ ।
सो क्षेत्र तारकेश्वर नगरपालिकाका १, २ र ७ नम्बर वडा र टोखा नगरपालिका अन्तर्गतका १, २ र ३ नं.वडा यो शहरमा समावेश छन् । यो आयोजनाको कुल लागत २५ अर्ब ८३ करोड रुपैयाँ छ ।
काठमाडौं तैऋत्यः (दक्षिण–पश्चिम) ललितपुर जिल्लाको नयाँ सहर विस्तार क्षेत्र हो । ललितपुरले स्वीकृत नदिए पनि प्राधिकरणले खोकना (१, २, ३, ४, ५, ६, ७, ८० र बुङमती ९१ नम्बर वडाको भैंसिपाटी छम्पी जाने मुख्यबाटोबाट बस्ती तर्फ र २, ३, ४, ५, ६ को सबै) नगरपालिकाका जग्गाहरूमा निर्माण गर्ने भनिएको थियो ।
त्यस्तै पूर्वमा छेयासीकोटदेखि साविक सैवु गाविसको सिमान हुँदै फसिडोल, वाग्मती नदीको झोलगे पुलसम्म, पश्चिममा बागमती नदी सिमना, उत्तरमा साविक सैंबु गाविसको सिमाना र दक्षिणमा बागमती नदीसम्म करिब १० हजार रोपनी क्षेत्रफलमा निर्माण गर्ने भनिएको थियो । तर, ललितपुरले असहमति जनाए पनि सो क्षेत्रमा स्मार्ट सिटी निर्माण नगर्ने भएको छ ।