बीना मगरले सम्हालेको खानेपानी मन्त्रालयमा सबैभन्दा धेरै बेरुजु, कुन मन्त्रालयको कति ?
काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को वार्षिक लेखापरीक्षणबाट संघीय मन्त्रालयहरुमा सबैभन्दा बढी बेरुजु खानेपानी मन्त्रालयको देखिएको छ ।
उक्त मन्त्रालयको वार्षिक लेखापरीक्षण भएको कुल रकमको १७.६७ प्रतिशत बराबर बेरुजु देखिएको हो । आर्थिक वर्ष २०७६/७७ मा खानेपानी मन्त्रालयले १२ अर्ब ७८ करोड ५७ लाख रुपैयाँ बराबरको लेखापरीक्षण गराएकोमा २ अर्ब २५ करोड ९६ लाख रुपैयाँ बराबर बेरुजु देखिएको हो ।
खानेपानी मन्त्रीका रुपमा बीना मगरले २०७४ चैतदेखि २०७७ पुससम्ममा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् ।
लेखापरीक्षण भएको रकमको प्रतिशतका आधारमा खानेपानी मन्त्रालयको बेरुजु पहिलो नम्बरमा देखिएपनि बेरुजु रकमका आधारमा भने अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बेरुजु बढी देखिएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा अर्थ मन्त्रालयको ९ खर्ब ८ अर्ब ६५ करोड २४ लाख रुपैयाँ बराबरको लेखापरीक्षण भएकोमा २.५१ प्रतिशत अर्थात् २२ अर्ब ८४ करोड ८७ लाख रुपैयाँ बराबर बेरुजु देखिन्छ ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १ खर्ब २ अर्ब ५८ करोड २५ लाख रुपैयाँ बराबरको लेखापरीक्षण भएकोमा ६.६५ प्रतिशत अर्थात् ६ अर्ब ८१ करोड ९५ लाख रुपैयाँ बराबर बेरुजु देखिन्छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २० अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको लेखापरीक्षण गराउँदा २ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ बराबर बेरुजु देखिन्छ । यो मन्त्रालयले गराएको कुल लेखापरीक्षण रकमको १२.९३ प्रतिशत बराबर हो ।
महामारीको समयमा पनि वार्षिक विनियोजित रकम खर्च गर्न नसेको भनेर आलोचना खेपेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अघिल्लो वर्षको बेरुजु भने निकै बढी देखिन्छ । स्वास्थ्य मन्त्रालयले कुल २३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ बराबरको लेखापरीक्षण गराएकोमा ७.६९ प्रतिशत अर्थात् १ अर्ब ८४ करोड २३ लाख रुपैयाँ बराबर बेरुजु देखिन्छ ।
सहरी विकास मन्त्रालयको १ अर्ब २० करोड ७९ लाख रुपैयाँ बरारको बेरुजु देखिँदा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रायको ९७ करोड ९५ लाख र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको ८३ करोड ४१ लाख रुपैयाँ बराबर बेरुजु देखिन्छ ।