संसद भवन निर्माणको गति सुस्त, हालसम्म ३२% मात्रै



काठमाडौं । तीन वर्षमा भौतिक कार्य निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको संघीय संसद भवनको भौतिक प्रगति हालसम्म ३२ प्रतिशत मात्रै भएको छ ।

सरकारले २०७६ असोज १६ गते सिंहदरबार परिसरको पुतली बगैंचामा संघीय संसद भवनको निर्माणका लागि शेक जेभीसँग सम्झौता भएको थियो ।

उक्त कम्पनीले तीन वर्षमा भौतिक कार्य सम्पन्न गर्ने योजना बनाएको भवनको हालसम्म ३२.५ प्रतिशत मात्रै प्रगति भएको छ । सरकारले हालसम्म बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसदको पूर्णसदनमा काम कारबाही गर्दै आएको छ ।

सरकारले १ सय ७३ रोपनी ८ आना जग्गामा संघीय संसद भवनको निर्माण गरिरहेको छ । तर, निर्माणका लागि सम्झौता भएको ३ वर्ष म्याद सकिनै लाग्दा ५० प्रतिशत पनि कार्य गर्न सकेको छैन ।

सरकारले ५ अर्ब ६८ करोड ३९ लाख रुपैयाँमा सम्झौता भएको उक्त भवनमा हालसम्म २ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ खर्च भएकोे शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले जनाएको छ ।

सरकारले ३ वर्षको अवधिमा सम्पन्न गर्ने योजना बनाए पनि समयमै अपेक्षित प्रगति हुन नसकेको मुख्य कारण कोरोना रहेको आयोजना समन्वय कार्यालयका प्रमुख दिलिप शेखर श्रेष्ठ बताउँछन् ।

उनका अनुसार पहिलो लहरको कोरोना महामारीमा निर्माण कार्य ठप्प भएको थियो । दोस्रो लहरको कोरोना महामारीमा थोरै निर्माण कार्य शुरु भएको थियो । त्यस अवधिमा कार्यालयले कामदार बढाएर ६ सयसम्म पुर्याएको थियो । तर, कोरोनाले गर्दा कामदारको संख्या घटेर निर्माण कार्य अपेक्षित प्रगति हुन नसकेको हो ।

‘कोरोनाको समयमा उपत्यकामा सार्वजनिक निर्माण कार्य गर्न नपाइने निर्णय ग¥यो,’ उनले क्लिकमान्डूसँग भने, ‘कोरोनाको समयमा कामदार घटेपछि पछिका दिनमा कामदार राख्न पनि महिनौं लाग्यो । त्यसैले कारोनाले निकै कार्य धकेलिएको हो ।’

कोभिड मात्रै नभएर अन्य विविध समस्या पनि रहेको उनी बताउँछन् । पहिलो चरणमा जग्गाको लागि भवन, पार्कहरू किस्ताकिस्ता हटाउनाले ढिला भएको उनको भनाइ छ ।

‘अहिले ती सम्पूर्ण समस्याहरू हटेको छ । तर, कोरोनाले पुनः निर्माण कार्यमा प्रभाव पारेकाले ढिला निर्माण कार्य भइरहेको छ,’ उनले भने ।
त्यसैगरी गत आर्थिक वर्षमा वर्षालेपनि निकै दुःख दिएको उनको भनाइ छ ।

हालसम्म के–के निर्माण भए ?
सरकारले निर्माण गर्ने भनिएको सो भवनको हालसम्ममा पार्किङ ब्लकको तल्लो र माथिल्लो भागको संरचना कार्य सम्पन्न भई पहिलो तल्लाको कार्य सम्पन्न गरेको छ । त्यस्तै कमिटी ब्लकको पाँचौ तल्लाको संरचनाको कार्य ९५ प्रतिश सम्पन्न भएको कार्यालयको भनाइ छ । साथै, इट्टाको कार्य ७० प्रतिशत कार्य सम्पन्न भएको छ ।

भवनभित्र बन्दै गरेको सेक्रेटरी ब्लकमा संरचनाको कार्य सम्पन्न भई ट्रसको कार्य बाँकी राखेको छ । त्यसमा दची आप्पा फेयर फेस ब्रिक वर्कको कार्य भइरहेको कार्यालयले जनाएको छ ।

माथिल्लो घरको भुईँतल्लाको संरचना कार्य सम्पन्न भई पहिलो तल्लाको कार्य ५० प्रतिशत सम्पन्न गरेको छ । सेन्ट्रल लबीको कार्य पनि भुईँ तल्लाको कार्य ९९ प्रतिशत सम्पन्न भई पहिलो तल्लाको ५० प्रतिशत मात्रै कार्य भएको छ ।

त्यसमा निर्माण हुँदै गरेको भवनको लोवर हाउसको ग्राउन्ड फ्लोरसम्म ९० प्रतिशत कार्य सम्पन्न भएको र इट्टा वर्कको कार्य भइरहेको छ । साथै, पहिलो तल्लाको २३ प्रतिशत संरचना कार्य सम्पन्न गरेको कार्यलयले उल्लेख गरेको छ ।

त्यसैगरी, भीभीआइपी ब्लकको पहिलो तल्लाको कोलुमको संरचनाको कार्य सम्पन्न भएको छ । पार्टी अफिसको दोस्रो तल्लाको संरचनाको कार्य ८० प्रतिशत सम्पन्न भएको कार्यलय जनाएको छ ।

क्यान्टिनको भवनको बेसमेन्टको ४० प्रतिशत र पानी ट्याङ्क बेसमेन्टको ५५ प्रतिशत कार्य भएको छ । साथै, लाइब्रेरी ब्लक फ्लिन्थ लेबलसम्मको ७५ प्रतिशत कार्य सम्पन्न भएको छ ।

संघीय संसदभित्र के–के निर्माण हुँदैछ ?
सरकारको शहरी विकास आयोजनाद्धारा निर्माण भइरहेको संघीय संसद भवनभित्र ११ वटा भवन तथा पूर्वाधार निर्माण हुने विभागले जनाएको थियो । निर्माण भइरहेको भवनमा प्रतिनिधि सभा भवन, राष्ट्रिय सभा भवन, कमन लबि, अति विशिष्ट व्यक्तिहरूको कार्यलय भवन रहेको छ ।

उक्त भवनसँगै पुस्तकालय÷संग्रहालय, संसदीय दलको कार्यालय भवान (पार्टी अफिस), संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेस/छपाई भवन र ७ सय वटा सवारी साधन पार्किङ/सुरक्षाकर्मीको भवन हुने जनाएको थियो ।

सरकारले बनाउँदै गरेको संसदीय भवनको प्रतिनिधि सभामा विभिन्न कार्यकक्षहरू हुने विभागले जनाएको छ । विभागका अनुसार भुई तल्लामा करिब ४ सय अट्ने सांसदहरू अट्नेछन् । साथै विभिन्न प्राविधिक कक्षहरू हुनेछ । त्यसैगरी, सभामुख कार्यकक्ष, प्रेस कन्फेरेन्स रुम, भीआइपी रुम कमिटि हल, ट्वाइलेट हुनेछ । त्यस्तै, ३ सय जना दर्शक/पत्रकार/आगन्तुक पाहुना अट्ने बाल्कोनी हल र २ सय जना अट्ने हल/सेकुरिटी/मार्सल रुमआदि हुनेछ ।

त्यसैगरी राष्ट्रिय सभा भवनमा पनि विभिन्न प्रकारका सुविधासहित निर्माण हुने भएको छ । राष्ट्रिय भवनमा करिब १ सय जना सांसदहरू अट्ने ठूलो हल बन्ने भएको छ । विभिन्न प्राविधिक कक्षहरू (स्टुडियो रुम, कन्ट्रोल रुम, भिडियो रुम, रेकर्ड रुम) आदि रहेको छ । त्यसका साथै, सभा अध्यक्षको कक्ष, भीआइपी, कमिटि हल, २ सय जना अट्ने बाल्कोनी हल, करिब ३ सय जना क्षमताको एम हल, मेन्टेनेन्स रुम, मार्सल रुम र ट्वाइलेट बन्ने भएको छ ।

मुख्य संसद भवनको दायाँतिर ३ तल्लाको संसदीय सचिवालयको भवन रहनेछ । यस भवनमा संसदीय सचिवालयका विभिन्न कार्यकक्षहरू मिटिङ रुम, ट्रेनिङ हल प्राविधिक कक्षहरू हुनेछ ।

राष्ट्रिय सभा भवनको उत्तरतिर अतिविशिष्ट व्यक्तिहरूको भीभीआइपी कार्यालय भवन राखिएको छ । उक्त भवन ४ तल्लाको हुनेछ । भवनमा प्रधानमन्त्रीको कार्यकक्ष, राष्ट्रिय सभाको सभाकक्ष र उपाध्यक्षको कार्यकक्ष तथा मिटिङ हलहरूको व्यवस्था गरिएको छ ।

प्रतिनिधि सभा भवनको उत्तरतिर पुस्तकालय भवन र चमेना गृह हुने छन् । पुस्तकालय ४ तल्लाको हुने छ भने चमेना गृह २ तल्लाको रहनेछ । पुस्तकालय भवनमा पुस्तक अध्ययन कक्ष, इ–लाईब्रेरी रुम, संग्रहालय, प्रशासनिक कक्ष छन् । चमेना गृहको भुइ तल्ला सर्वसाधारणका निम्ति छुट्टाइएको छ भने माथिल्लो तल्ला सभासदहरूको निम्ति राखिएको विभागले जानकारी दिए ।

मुख्य संसद भवनको दायाँतिर उत्तरपूर्वमा संसदीय समितिको कार्यालय भवन राखिएको छ । उक्त भवन ५ तल्लाको हुनेछ । यस भवनमा विभिन्न कक्षहरू जस्तै मिटिङ हल, कन्ट्रोल रुम, कर्मचारीहरू सचिव÷उपसचिव कार्यकक्षहरू हुनेछन् ।

संसदीय समिति भवनको सँगै दायाँतर्फ सानो छापाखानाको भवन रहेको छ । मुख्य संसद भवनको बायाँतर्फ उत्तरकुनामा पार्टी कार्यालय भवन राखिएको छ । भवन ५ तल्लाको हुनेछ र यस भवनमा पार्टी कार्यालयलाई चाहिने विभिन्न कार्यकक्षहरू मिटिङ हल, चायल्ड कियर निर्माण हुनेछ ।

त्यस्तै परिसर वरिपरि करिब ३५० वटा गाडीहरू पार्क गर्न मिल्ने गरी सर्फेस पार्किङको व्यवस्था गरिएको विभागले जनाएको छ । त्यसैगरी, छुट्टै करिब ३ सय जति गाडी एकैचोटी पार्क गर्न मिल्ने गरी डबल बेसमेन्ट सहितको छुट्टै पार्किङ भवन सहित सुरक्षा निकायको भवन निर्माणको काम धमाधम भइरहेको छ ।

चालु आवमा निर्माण सम्पन्न गर्ने तयारी
कोरोना भाइरस महामारी र अन्य विविध कारणले निर्माण कार्यमा ढिलाई भएकाले उक्त भवनको निर्माणको कार्य चालु आर्थिक वर्षमा सम्पन्न गर्ने तयारी गरेको श्रेष्ठले बताए ।

‘कोरोनासँगै यो गत वर्ष वर्षाले नि निकै प्रभाव पारेको थियो । अबका दिनमा धेरैभन्दा धेरै कामदार थप गरेर समयमै कार्य सम्पन्न गर्ने योजना बनाएका छौं,’ उनले भने ।

उनका अनुसार कोरोनाले गर्दा सरकारले नै थप ६ महिना र दोस्रो लहरको प्रभावले ३ महिना गरी ९ महिना थप्ने देखिन्छ । जसमा सरकारले ९ महिना थप गरेमा अपेक्षा अनुसारको प्रगति गर्न सक्ने उनको दाबी छ ।


क्लिकमान्डु