बैंकिङ प्रणालीमा ४ अर्बमात्र तरलता, १५ दिनमा अन्तरबैंक ब्याजदर ४ % पुग्यो



काठमाडौं । बैंकहरुको आपसी सापटी कारोबार (अन्तर बैंक) ब्याजदर ह्वात्तै दुई सातामै करिब ४ प्रतिशत बिन्दुले बढेको छ । बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) को उच्च उतारचढाब हुँदा अन्तर बैंक बयाजदरमा असर परेको हो ।

गत साउन १२ गतेसम्म बैंकिङ प्रणालीमा ६३ अर्ब ७७ करोड रुपैयाँ तरलता मौज्दात थियो । जुन १५ दिनमै ५९ अर्ब १२ करोड रुपैयाँले घटेर ४ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रणालीमा तरलता संकुचन हुँदै गएपछि बैंकहरुले आपसी सापटी कारोबार बढाउँदा अन्तर बैंक ब्याजदर समेत सो अवधिमा ३.९० प्रतिशत बिन्दुले बढेको हो । गत साउन १२ गते बैंकहरुले ०.११ प्रतिशत ब्याजदरमा अन्तर बैंक सापटी कारोबार गरेको थिए । जसको १५ दिन पछि अर्थात् साउन २६ गते अन्तर बैंक कारोबार बढेसँगै ब्याजदर समेत ४.०१ प्रतिशत पुगेको छ ।

नयाँ आर्थिक वर्ष लागेसँगै बैंकहरुको स्रोत संकलन घट्दा तरतलामा चाप परेको राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बताए ।

बैंकहरुले अनिवार्य नगद मौज्दात (सीआरआर) मा व्यवस्थापन गर्न समस्या हुँदा अन्तर बैक कारोबार बैंकहरुले बढाएका उनको भनाइ छ ।

‘बैंक तथा वित्त कम्पनीहरुले कुल निक्षेपको ३ प्रतिशत सीआरआरमा राख्नु पर्छ, राष्ट्र बैंकमा राखनु पर्ने सीआरआर नपुग्दा बैंकहरुले अन्तर बैंक सापटी लिएका हुन्,’ प्रवक्ता ढकालले क्लिकमाण्डूसँग भने, ‘दिनभरी आउने डिपोजिटभन्दा निकाल्ने रकम बढी हुनेबित्तिकै बैंककोउनीहरुले एक अर्कासँग सापटी लिएर जम्मा गर्नु पर्ने ठाँउमा गर्छन् ।’

अनुमानितभन्दा बढी कारोबार भएपछि बैंकहरुलाई सीआरआरमा राख्नु पर्ने पैसा राख्न आपसी सापटी कारोबार बढाएसँगै ब्याजदर पनि बढेको उनको भनाइ छ ।

‘माग बढेपछि ब्याजदर स्वभाविक रुपमा नै बढ्छ, अहिले बैंकहरुसँग प्राप्त हुने दैनिक निक्षेपभन्दा बढी बैंकबाट बाहिरिने रकम बढी हुँदा सीआरआरमा व्यवस्थापनमा समेत केही बैंकहरुलाई समस्या भएको छ,’ उनले भने, ‘बैंकमा तत्काल नयाँ कर्जा माग नभएपनि पास भइसकेको कर्जाको भुक्तानी दिन तथा दैनिक गर्जो टार्नलाई सापटी लिएका हुन् ।’

राष्ट्र बैंकले रिपोमार्फत् बैंकहरुबाट लिएको २० अर्ब रुपैयाँ बुधबार परिपक्क भएको हुँदा बैंकहरुमा बिहिबारदेखि केही तरलता सहज हुने उनले जानकारी दिए ।


क्लिकमान्डु