श्वेतपत्रः अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक, कुन सूचक कस्तो अवस्थामा छन् ? (पूर्णपाठ)
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संघीय संसद प्रतिनिधि सभामा देशको वर्तमान आर्थिक अवस्था (श्वेतपत्र) प्रस्तुत गर्दै देशका अधिकांश आर्थिक सूचकहरु नकारात्मक रहेको बताएका छन् ।
अर्थतन्त्रका केही सूचकहरु औसत र सामान्य अवस्थामा रहेपनि अधिकांश सूचकहरु संकटग्रस्त अवस्थामा पुगेको शर्माले बताएका हुन् । कूल ग्राहस्थ उत्पादनमा उत्पादनमूलक क्षेत्र र कृषि क्षेत्रको योगदान घट्दै गएकोले अर्थतन्त्रको आधार कमजोर हुँदै गएको उनको भनाइ छ । उत्पादन भन्दा व्यापारमूखी अर्थतन्त्र बन्दै गएकाले आर्थिक विकास र समृद्धिको बाधक बन्दै गएको उनले बताए ।
यस्ता छन् सरकारको श्वेतपत्रले देखाएका केही आर्थिक सूचकः
- मूद्रास्फिती वाञ्छित सीमा भित्रै छ । पछिल्ला तीन आर्थिक वर्षमा ५ प्रतिशतमा रहेको छ ।
- उपभोग, बचत तथा पूँजी निर्माण घट्दै गएको छ । बचतमा उपभोगको अनुपात ९३.४ प्रतिशत पुगेको छ । कूल ग्राहस्थ उत्पादनमा ग्राहस्थ बचतको अनुपात ६.६ प्रतिशत रहने अनुमान गरिएको छ । जिडिपीमा राष्ट्रिय बचतको अनुपात ३१.४ प्रतिशत रहने अनुमान गरिएको छ ।
- जिडीपीमा कुल स्थिर पुँजी निर्माण अनुपात २७.३ प्रतिशत रहेको छ ।
- कूल स्थिर पुँजी निर्माणमा सरकारी क्षेत्रको अनुपात ४.९ प्रतिशत रहने अनुमान गरिएको छ ।
- चालु खर्चको तुलनामा पुँजीगत खर्च घट्दै गएको छ । गत आर्थिक वर्ष २०७७÷७८मा संघीय सरकारको कूल खर्च ११ खर्ब ८० अर्ब बराबर हुँदा पूँजीगत खर्च १९.३ प्रतशितमा सीमित भएको छ ।
- गत आर्थिक वर्षसम्ममा चालु खर्च भने बढेर ७२.१ प्रतिशत पुगेको छ ।
- पछिल्ला ५ आर्थिक वर्षमा बजेट खर्चको औसत २३ प्रतिशत बजेट खर्च आर्थिक वर्षको अन्तिम महिना अर्थात् असारमा मात्र खर्च हुने गरेको छ ।
- बजेटभन्दा बाहिर स्रोत सुनिश्चितता दिइएको छ । सडक पूर्वाधारतर्फ मात्र ३ खर्ब र रेलका लागि ५७ अर्ब रुपैयाँ स्रोत सुनिश्चितता भन्दा बाहिर बाट भएको छ ।
- सरकारी कोषको संचित घाटा अघिल्लो आर्थिक वर्ष २ खर्ब ४८ अर्ब रहेकोमा गत आर्थिक वर्षमा ७३ अर्बले कोष बचत देखिए पनि अघिल्लो वर्षको संचित नाफा पूर्ति गर्दा कोषको अवस्था १ खर्ब ४३ अर्बले घाटामा रहनेछ ।
- संघीय राजस्व ८ खर्ब २९ अर्बमा सीमित भएको छ । यो राजस्वले सरकारको चालु खर्चसमेत धान्न नसक्ने अवस्था रहेको छ ।
- आयातमा आधारित राजस्व रहेकोले आयात घट्दा राजस्व पनि घट्ने अवस्था रहेको छ ।
- कुल ग्राहस्थ उत्पादनमा राजस्व परिचालको अनुपात २२ प्रतिशत रहेको छ ।
- राजस्वमा भन्सार राजस्वको अंश ४४.१ प्रतिशत रहको छ ।
- कुल ग्राहस्थ उत्पादनमा निर्यातको अनुपात ३ प्रतिशत अर्थात १ खर्ब ४१ अर्ब रुपैयाँ बराबर रहेको छ ।
- जिडीपीमा आयातको अनुपात ३६.१ प्रतिशत अर्थात १५ खर्ब ४० अर्ब रुपैयाँ बराबर रहेको छ ।
- शोधनान्तर स्थिती र विदेशी विनिमय संचितीको अवस्था नाजुक छ । अघिल्लो वर्ष २ खर्ब ८२ अर्बले बचत रहेको शोधनान्तर स्थिती गतवर्षको ११ महिनामा १५ अर्ब १५ करोडले घाटा रहेको छ ।
- २०७८ जेठ मसान्तसम्ममा विदेशी मुद्रा संचिती १३ खर्ब ६६ अर्ब रुपैयाँ बराबर रहेको छ । यो विदेशी विनियम संचितीले १० महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने देखिन्छ ।
- गत आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्स ८ खर्ब ११ अर्ब रुपैयाँ बराबर भित्रिएको छ ।
- रेमिट्यान्सबाट आएको रकमको ७० प्रतिशतभन्दा बढी रकम उपभोगमा खर्च हुने गरेको छ ।
- अन्तर्राष्ट्रिय विकास सहायता परिचालनको अवस्था हेर्दा वैदेशिक सहायताको रकम खर्च गर्नसक्ने क्षमता घट्दै गएको छ । वार्षिक बजेटको आकार बढाउन पनि वैदेशिक सहायताको रकमलाई देखाउने चलन बढ्दै गएको छ ।
- गत आर्थिक वर्ष सरकारले ३ खर्ब ६० अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायताको अनुमान गरेकोमा १ खर्ब ६३ अर्ब रुपैयाँ बराबर मात्रै आएको छ । यो सरकारले राखेको वैदेशिक सहायता अनुमानको ४५.२ प्रतिशत बराबर मात्रै हो ।
- अनुत्पादक क्षेत्रमा वैदेशिक सहायता परिचालन हुँदै आएको छ ।
- आर्थिक वर्ष २०७३÷७४ मा नेपालको सार्वजनिक ऋण ६ खर्ब ९८ अर्ब रुपैयाँ बराबर रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा पुग्दा यस्तो ऋण १७ खर्ब २९ अर्ब रुपैयाँ बराबर पुगेको छ । नेपालको सार्वजनिक ऋण जिडीपीको तुलनामा ४०.३ प्रतिशत बराबर हो ।