यसकारण सेबोन अध्यक्ष र नेप्से प्रमुखले सर्बोत्तमको सेयरमा ‘भित्रि कारोबार’ गरे: रविन्द्र भट्टराई
सर्वसाधारणमा सेयर जारी गर्ने घोषणा गरिसकेको सर्वोत्तम सिमेन्टको संस्थापक सेयरमा नेपाल धितोपत्र बोर्डको अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रमुखको संलग्नताको बहस जारी छ । यो बहस तत्काल सकिँदैन । सर्वसाधारणमा सेयर जारी गरी नसकेको र सुचिकृत कम्पनी नभएका कारण सेयर जारी गर्ने घोषणा गरीसके पनि सर्वसाधारणमा जारी गर्नुअघि नै फाइदा लिने (फ्रन्ट रनिग) गरी खरिद गर्नु कानूनी भएको दुबै संस्थाका प्रमुखले जिकिर गरिरहेका छन् ।
यो काम कानूनमा लेखिएको भए पनि वा नभए पनि गैरकानूनी र आचरणहिन नै छ । यो कामले काम गर्नेलाई भन्दा सेयर बजारमा सम्बन्ध राख्ने अन्य पक्ष बढी लज्जित हुनुपर्ने अवस्थाको सिर्जना भएको छ । यसैले कानुनमा लेखिएको छैन भनेर सेयरको ओभर द काउन्टर (ओटिसि) मार्केटमा नेप्से प्रमुख र धितोपत्र बोर्ड अध्यक्षले रत्यौली खेल्न पाउँदैनन् ।
प्रश्न यतिमा मात्र सिमित छैन । यो कारोबारमा अझ ठुलो प्रश्न ओटिसि मार्केटमा कारोबार र कम्पनी रजिष्ट्रारको कार्यालायको वाध्यात्मक व्यवस्थाले सिर्जना गरेको छ ।
नेप्सेमा सूचीकरण नभएका र हुन नसकेका पब्लिक कम्पनीको सेयर किनबेच गर्दा ओभर द काउन्टर मार्केटअन्तर्गत गर्नुपर्ने बाध्यात्मक व्यवस्था कम्पनी रजिस्ट्रारको कार्यालयले २०७२ माघ १७ देखि गरेको छ । यो व्यवस्थासँगै सर्बोत्तम सिमेन्टलगायत सेयर जारी नगरेका सबै पब्लिक लिमिटेड कम्पनी ओभर द काउन्टर मार्केटमा एक प्रकारले स्वतः दर्ता भइसकेका हुन्छन् । जसका लागि नेप्सेमा गएर निवेदन नै दिनुपर्छ भन्ने छैन ।
यस्तै ओभर द काउन्टर मार्केट नेप्से मातहत र नेप्से कै विल्डिङमा नेप्सेकै व्यवस्थापनमा संचालित छ । ओटिसि बजारको सम्पुर्ण कारोबार नेप्सेका कर्मचारीद्धारा नेप्सेकै प्लेटफर्म वा कारोबार पाटीमार्फत् हुन्छ । यी दुई संस्थाका प्रमुखले सेयर जारी गर्ने प्रक्रियामा रहेको कम्पनीको सेयर जारी गर्नु अगाडी नै परिवारका नाममा किनेरमात्र नभई बोर्डले नियमन गर्ने नेप्सेले संचालन गरेको ओटिसि मार्केटमा कारोबार भइरहेको कम्पनीको सेयर कारोबारमा संलग्न भएर पनि आचरणहिन काम गरेका छन् ।
प्से र बोर्डकै कर्मचारीले यसरी सेयर किन्ने हो भने राम्रो र मूल्यवान कम्पनीको सेयरमा आगामी दिनमा पनि यस्तै गलत र नैतिकताहिन कामहरु दोहोरिँदै जानेछन् । जसले ओटिसि बजारलाई विकसित गराउने भन्दा पनि यसको अवसान गराउनेतर्फ केन्द्रित हुनेछ । र, राम्रा र मूल्यवान कम्पनी कुनै पनि प्रकारको दोस्रो बजारमा आउनलाई निरुत्साहित गर्ने छ ।
नेप्सेद्धारा संचालित ओटिसि मार्केटमा कुनै सेयर ब्रोकरको संलग्नता हुँदैन । ओटिसि मार्केटको उदेश्य केवल सेयरको नामसारीका लागि प्रक्रिया पुरया्उनु मात्र नभई प्रतिस्पर्धी र पारदर्शी मूल्य निर्धारण वा सिर्जना गर्नु पनि हो । नेप्सेको प्लेटफर्ममा नेप्सेका कर्मचारीले अरुसँगै आफ्नो लागि आफैं मूल्य राख्नुले बजारको प्रतिस्पर्धी मूल्य सिर्जनालाई आघात पुग्ने मात्र नभई ओटिसि मार्केटको पारदर्शितामाथि झन ठुलो प्रश्न चिन्ह खडा हुन्छ । र, मूल्य वा कारोबारमा स्वार्थको द्वन्द्ध हुने गर्छ । नेप्सेका प्रमुख र धितोपत्र बोर्डका अध्यक्षले यही काम गरेका छन्, जुन सेयर बजारको विश्वव्यापि सिद्धान्तविपरित छ । पुँजीबजार नियामक र बजार सञ्चालकको आचरण विपरित नै छ ।
ओटिसि बजारमा कारोबार गर्न आएका कम्पनीका बारेमा नेप्से र यसको व्यवस्थापनलाई कारोबार हुनु अघिनै जानकारी हुन्छ । यसैले कस्तो कम्पनी सेयर बिक्री गर्न आयो, कस्ले किन्दै छ वा कसले बेच्दै छ भन्ने बारेमा सबै जानकारी हुने भएकाले पनि नेप्से र बोर्डका कर्मचारी स्वतः भित्रि कारोबारमा संलग्न हुन्छन् । कतिपयको बुझाई सर्वसाधारणलाई सेयर जारी गरेको र नेप्सेमा सूचिकृत कम्पनीको सेयर कारोबारमा मात्र भित्रि कारोबार हुन्छ भन्ने लागेको देखिन्छ । तर, यो बुझाइ गलत हो । भित्रि कारोबार ओटिसि मार्केटमा पनि हुन्छ ।
आफैं बजार संचालन वा नियमन गर्ने र त्यहाँ कारोबार गर्न योग्य वा कारोबार भइरहेको वा कारोबार हुने प्रकृयामा रहेको कम्पनीको सेयर पारीवारिक संलग्नतामा किनेर यो कानुन सम्बत छ भनेर नेप्से प्रमुख र धितोपत्र बोर्ड अध्यक्षले भन्नु मुर्खता मात्र हो ।
धितोपत्र ऐन २०६३ ले धितोपत्र खरिदकर्ता तथा बिक्रेतालाई एकै ठाउँमा ल्याई धितोपत्रको खरिद-बिक्री वा विनिमय कार्य सम्पन्न गर्ने बजार, स्थान वा सुविधालाई धितोपत्रको बजारका रुपमा परिभाषित गरेको छ । यसैले ओटिसि मार्केट पनि सेयर बजारको एउटा प्रकार भित्र पर्छ, जहाँ धितोपत्रको किनबेचका लागि क्रेता र विक्रेतालाई एक ठाँउमा ल्याउने काम गरिन्छ । भित्रि कारोबारको परिभाषाले सेयर बजारभित्र पर्ने सबै बजार र कारोबारलाई समेट्छ ।
यदि नेप्से र बोर्डकै कर्मचारीले यसरी सेयर किन्ने हो भने राम्रो र मूल्यवान कम्पनीको सेयरमा आगामी दिनमा पनि यस्तै गलत र नैतिकताहिन कामहरु दोहोरिँदै जानेछन् । जसले ओटिसि बजारलाई विकसित गराउने भन्दा पनि यसको अवसान गराउनेतर्फ केन्द्रित हुनेछ । र, राम्रा र मूल्यवान कम्पनी कुनै पनि प्रकारको दोस्रो बजारमा आउनलाई निरुत्साहित गर्ने छ ।
यतिमात्र नभई कुनै पब्लिक कम्पनीका सेयरधनी म ओटिसि मार्केटमार्फत् सेयर बिक्री गर्छु भनेर आई सकेपछि वा कारोबार नै गरिसकेपछि त्यही कम्पनीको सेयर नेप्सेका पदाधिकारी, कर्मचारी, उनका परिवार वा धितोपत्र बोर्डका पदाधिकारी, कर्मचारी र उनका परिवारले किन्नु नेप्से र बोर्डका कर्मचारीले सेयर किनबेच सम्बन्धि बनाएको आचारसंहिता विपरित हुन जान्छ । नेप्से प्रमुख र बोर्ड अध्यक्षले यही आचारसंहिता विपरित काम गरेका छन् ।
यसैले आफैं बजार संचालन वा नियमन गर्ने र त्यहाँ कारोबार गर्न योग्य वा कारोबार भइरहेको वा कारोबार हुने प्रकृयामा रहेको कम्पनीको सेयर पारीवारिक संलग्नतामा किनेर यो कानुन सम्बत छ भनेर नेप्से प्रमुख र धितोपत्र बोर्ड अध्यक्षले भन्नु मुर्खता मात्र हो ।
सेयर बजारको विकास, विश्वासनियता र पारदर्शिता बढाउन तथा नेप्से प्रमुख र धितोपत्र बोर्ड अध्यक्ष प्रवृत्तिलाई सेयर बजार बाट निर्मूल पार्न अर्थमन्त्रालयले दुबै संस्थाका प्रमुखलाई कारबाही प्रक्रिया तत्काल अघि बढाउनु आवश्यक हुन्छ । यस्तै ओभर द काउन्टर मार्केट र नियामकिय निकायका प्रमुख तथा कर्मचारीको सेयर कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाउन थप कानुनी व्यवस्था गर्नु आवश्यक देखिन्छ ।
(सेयर बजार विश्लेषक भट्टराईले त्रिभुवन विश्वबिद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङ्गमा पोस्ट ग्रयाजुएट र सेयरबजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्षसमेत गरेका छन् ।)