लगानी बोर्डका कर्मचारीलाई जिम्मेवार बनाउन ‘रासी-क्यू’ अवधारणा कार्यान्वयन



काठमाडौं । लगानी बोर्डको कार्यालयले आफ्ना कर्मचारीलाई कामप्रति जिम्मेवार र जवाफदेही बनाउन ‘रासी–क्यू’ अवधारणा लागू गरेको छ ।
लगानी बोर्डमार्फत् कार्यान्वयन हुने आयोजनाको कार्यान्वयन र त्यसको प्रगतिबारे सम्बन्धित कर्मचारीलाई नै जिम्मेवार र जवाफदेही बनाउन रासी–क्यू लागू गरिएको हो ।

लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले कर्मचारीको कार्य बाँडफाँट र उनीहरुले आफ्नो काममा जिम्मेवार भएर लाग्नका लागि यो अवधारणा कार्यान्वयनमा आएको बताए ।

‘कर्मचारीहरुको जिम्मेवारी, उनीहरुको जवाफदेहिता र सम्बन्धित कामको प्रगतिबारेका सबै जानकारी होस् भन्ने उद्देश्यले रासी–क्यू कार्यान्वयन गरिएको हो । यस जिम्मेवारी बाँडफाँट र कार्य प्रगतिको प्रतिवद्धतासँग सम्बन्धित छ,’ अधिकारीले भने ।

‘रासी–क्यू म्याट्रिक्स’ जनशक्ति व्यवस्थापन र कार्ययोजना सफल पार्नका लागि रणनीतिक रुपमा तयार पारिने एउटा अवधारणा हो । जसमा कुनैपनि कर्मचारी आफ्नो कामप्रति जिम्मेवार (रेस्पोन्सिबल), जवाफदेही (अकाउन्टेबल), ज्ञान र परामर्श (कन्सल्टेड), सूचित (इन्फम्र्ड), र उसको काम गुणस्तरीय (क्वालिटी) हुन्छ भन्ने मान्यता राखिन्छ ।

कर्मचारीहरुमा कार्य सम्पादन मूल्यांकन गरेजस्तै आफ्नो काममा जिम्मेवार भएर लाग्न र तोकिएको काम पूरा गर्न यो अवधारणाले सहयोग पुर्याउँछ ।

जनशक्ति व्यवस्थापन र लक्षित योजना सफल पार्नका लागि तयार पारिने रणनीतिहरुमा आरसी, काइरो, डासी, पासी, रासी, रासी–क्यु, रासी–भिएसलगायत पर्दछन् । कर्मचारीको कार्य सम्पादन मूल्यांकनका लागि यी विश्वव्यापी रुपमा स्वाीकार्य रणनीतिहरु हुन् ।

लगानी बोर्डले नीतिगत सँगसँगै आफ्नो सांगठनिक पुनरर्संरचनाबारे पनि काम गरिरहेको छ । वैदेशिक लगानी आकर्षिक गर्नका लागि भन्दै आधारभूत पूर्वाधार, कानूनी सुधार, एकल बिन्दु सेवा केन्द्र, नलेज म्यानेजमेन्ट पोर्टललगायत संरचनागत सुधार भइरहेको लगानी बोर्डले जनाएको छ ।


क्लिकमान्डु