नयाँ बीमा कम्पनी चाहिँदैन, रिक्सा चालकले समेत किन्न सक्ने प्रडक्ट छः पोषकराज पौडेल



पोषकराज पौडेल सिटिजन्स लाइफ इन्स्योरेन्स स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत पदमा छन् । बीमा समितिले नयाँ लाइसेन्स दिनेभएपछि सिटिजन्स लाइफ कम्पनी स्थापना भएको थियो । मेट लाइफ इन्स्योरेन्समा १५ वर्ष काम गरेका पौडेल सिटिजन्समा आउनुअघि मेट लाइफ प्रमुख वित्त अधिकृत थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका पौडेलसँग लेखापरीक्षणको समेत काम गरेको अनुभव छ । अमेरिकाको लाइफ अफिस म्यानेजमेन्ट एशोसियनबाट एशोसियन कस्टमर सर्भिस (एसिएस) डिग्री लिएका पौडेल जीवन बीमा कम्पनीहरुको संस्था लाइफ इन्स्योरेन्स एशोसियनका उपाध्यक्ष समेत हुन् । पौडेलसँग सिटिजन्सको ४ वर्षे यात्रा तथा जीवन बीमा कम्पनीको व्यवसायको बारेमा क्लिकमाण्डूका लागि दिलु कार्कीले गरेको कुराकानीको सम्पादित अंश ।

सिटिजन्स लाइफ इन्स्योरेन्स आएको चारवर्ष भयो । यो अवधिलाई कसरी समीक्षा गर्नुहुन्छ ?

सिटिजन्स लाइफ इस्योरेन्स नयाँ बीमा कम्पनी हो । ४ वर्षको समयलाई विश्लेषण गर्दा हामीले कम्पनीको फाउन्डेसन राम्रो बनाउन सफल भएका छौं ।

समग्रमा हेर्दा सिटिजन्सले धेरै राम्रो पर्फरमेन्स गरेको छ । यसबाट हामी धेरै सन्तुष्ट छौं । यो सफलता सिटिजन्स लाइफका कर्मचारी तथा सिटिजन्सका लिडर(अभिकर्ता)को मेहनतबाट मात्रै सम्भव भएको हो ।

उहाँहरुको योगदानले गर्दा चौथो वर्षमा हामीले सोचेजस्तो नतिजा पाउन सफल भएका छौं । हामी गत आर्थिक वर्षमा ४ अर्बको व्यवसाय गर्ने लक्ष्य लिएर अगाडि बढेका थियौं । कोरानाले गर्दा लक्ष्य पूरा नभए पनि ३ अर्ब ५० करोड प्लसको व्यवसाय भएको छ । यो राम्रो उपलब्धि हो ।

गत वर्षदेखि शुरु भएको कोरोना भाइरसको महामारीले गर्दा सिटिजन लाइफसँगै जीवन बीमा व्यवसायको कुन-कुन क्षेत्रमा असर परेको छ ?

बीमा व्यवसायका लागि घर–घरमा पुगेरै मान्छे भेट्नुपर्छ । कोरानाले गर्दा अभिकर्ता साथीहरुले घर-घर गएर इन्स्योरेन्सका बारेमा जनचेतना फैलाउने, इन्स्योरेन्सको बारेमा बुझाउने काम गर्न पाएनन् । जसले गर्दा जीवन बीमा कम्पनीले सोचे अनुसार व्यवसाय गर्न सकेनन् ।

कोरानाका कारण अन्य व्यवसाय जस्तै बीमा क्षेत्रपनि डिजिटल प्रणालीमा गएको छ । सिटिजन्स लाइफको कुरा गर्दा नै हामीले व्यवसायका लागि अनलाइन प्रणालीको शुरुवात समेत गर्यौ ।

गत असार महिनामा मात्रै लगभग ८० प्रतिशत व्यवसाय सिटिजन्सले अनलाइनमार्फत् गरेको छ । कोभिडको समस्यामा देखिएको डिजिटल प्रणालीको अवसरले हामीले ३ अर्ब ५० करोडभन्दा बढी रकमको व्यवसाय गर्न सफल भयौ । महामारीको समयमा हामीले अनलाइन प्लेटफर्म लञ्च गरेकै कारणले हामीले यो उपलब्धी हासिल गर्न सफल भएका हौं ।

असारमा गरेको बिजनेशमा ८० प्रतिशत एजेन्सीमार्फत् अनलाइन प्लेटफर्मबाटै आएको हो । हामीले ‘डिजिटल सिटिजन्स क्याम्पेन’ चलाएका छौं । त्यसअन्तर्गत हामीले दावी पनि अनलाइनबाट तिरेका छौं । टिकापुरको बीमितको दावी हामीले २ दिनमा अनलाइनमार्फत् दिन सफल भयौं ।

असारमा मात्र होइन जेठमा पनि ८० प्रतिशत व्यवसाय अनलाइनमार्फत् नै भएको थियो । असारमा पनि ८० प्रतिशत व्यवसाय अनलाइनबाटै भयो । यसलाई कोरोनाका कारण उत्पन्न भएको सकारात्मक पाटो भन्न पनि सकिन्छ ।

सिटिजन्स लाइफको १ वर्षको अवधिमा करिब २० प्रतिशत हिस्सा असारमा मात्रै भएको देखिन्छ । आर्थिक वर्षको अन्तिम महिनामात्र बढी फोकस भएको देखिएन ?

आर्थिक वर्षको अन्तिम महिना असार हो । त्यो कारणले पनि धेरैले कर छुटका लागि आर्थिक वर्षको अन्तिम महिनामा बीमाशुल्क तिर्ने गर्छन् । असार महिनालाई क्लोजिङ पर्वका रुपमा लिएर काम गर्दा पनि त्यो महिनामामा व्यवसाय बढेको हो ।

असार महिनामा आर्थिक क्रियाकलाप बढी हुन्छ र बीमा पनि एउटा आर्थिक क्रियाकलापकै पाटो हो । वर्षको अन्त्यमा हाम्रो एजेन्सीका साथीहरुको पर्फर्मेन्स टार्गेट टाइमलाइन पनि हुने भएकाले त्यसमा फोकस गर्दा असारमा बढी व्यवसाय हुन गएको हो ।

बीमा पहुँच एक चौथाइ जनसंख्यामा पुगे पनि अझै विश्वासिलो भएन भन्ने गुनासो छ । बीमा व्यवसाय अभिकर्ताहरूको स्वार्थमा चलाएको भन्ने गरिन्छ । कम्पनी थपिए पनि विश्वास नबढेको कारण के ?

पहुँच बढाउने विषयमा नयाँ कम्पनीहरू थपिएपछि ७ प्रतिशतबाट २५ प्रतिशतभन्दा बढीमा पुगेको छ । पहुँच बढ्दै गर्दा कतिपय कुरा नराम्रो पनि भएको हुनसक्छ । नराम्रो हुनुको पछाडि त्यो अनुसार सेटअप, रेगुलेशन, ओरियन्टेसन र ट्रेनिङ नपुगेको हुन सक्छ । तर समग्रमा पहिलाको भन्दा अहिले एजेन्सीले गर्ने अनियमिता र बदमासीको कुराहरु धेरै कम भएको छ ।

अहिले अनलाइन सञ्चारमाध्यम सशक्त ढंगबाट अगाडि आएको छ । हरेक व्यक्तिलाई मर्का पर्ने वित्तिकै सामाजिक सञ्जालमा त्यो कुरा आइहाल्छ । जसले गर्दा समस्या पर्नेले विभिन्न किसिमले आफ्नो कुरा राख्न सक्छन् र नियामक निकाय समक्ष जान सक्छन् । त्यसैले पहिले यस्ता कुरा धेरै सुनिन्थ्यो । तर, आजकल धेरै घटेको छ । केही साना घटना घटेका होलान् । त्यसलाई कम गर्दै लैजानुपर्ने हुन्छ ।

बीमाको पहुँच शतप्रतिशत जनसंख्यामा नपुगे पनि ५० प्रतिशत माथि जनसंख्यामा बीमाको पहुँच कहिलेसम्म पुग्न सक्ला ?

हामीले हेर्दा शतप्रतिशत पहुँच भएन भनेका हुन्छौं । तर, बीमा सबै जनसंख्यामा पुग्ने हुँदैन । हामीले बीमा गर्न सक्ने जनसंख्या पुग्नुपर्छ । सबै मानिसले बीमा गर्न सक्दैनन् । नेपालको सबै जनसंख्याले बीमा उपयोग गर्न सक्दैनन् । साथै सक्रिय उमेरबाट बृद्ध उमेरमा पुगेका व्यक्तिले पनि बीमा गर्न सक्दैनन् । कुनै बेला ३५/३६ प्रतिशत पुगेमा हामीले अधिकतम सीमा भन्ने गरेका थियौ । हाम्रो हिसाबले अहिले त्यो बढेर ५५ प्रतिशत पुगेको छ । अहिलेको अवस्थामा ५५ प्रतिशत पुग्नु भनेको सुहाउँदो र प्राप्त गर्न सकिने लक्ष्य हो ।

यो लक्ष्य पूरा हुन नसक्नुमा दाबी भुक्तानी प्रमुख कारण भन्ने गरिन्छ नि ?

दाबी भुक्तानीमा लाइफ इन्स्योरेन्स सेक्टरमा इस्यु छैनभन्दा पनि हुन्छ । एकदुई घटना भएको हुनसक्छ । बीमा क्षेत्रमा बढेको प्रतिस्पर्धाको कारण पनि दावी भुक्तानीमा समस्या छैन । पहिला दावी रोक्नु पर्छ भन्ने मान्यता थियो भने अहिले दावी छिटो गर्नुपर्छ भन्ने छ । अहिले सबै कम्पनीले अधिकतम दावीलाई सेटल गरिराखेका छन् । पहिले कागजपत्र बनाउन पनि गाह्रो र फ्रड गरेको कुरा पनि थियो । फ्रडहरु पनि बिस्तारै कम हुँदै गइरहेको छ । ननलाइफमा केही इस्यूहरु अहिले पनि हुनसक्छन् । उहाँहरुको टेक्निकल लिमिटेसनले गर्दा पनि हुन्छ ।

बीमा कम्पनी, बीमक वा नियमन निकायबाट बीमा क्षेत्र विकासका लागि सबै निकायले गर्नुपर्ने कामहरु के हुनसक्छ ?

सबैभन्दा महत्वपूर्ण कुरा भनेको बीमाको जागरुकता बढाउनुपर्छ । बीमा मेरो लागि हो र दावी लिइएको कुराहरुलाई जागरुकताका साथ अगाडि बढाउनुपर्छ । धेरैले बीमाको महत्व र आफूलाई चाहिने प्रडक्टका बारेमा राम्रोसँग बुझेका छैनन् । जागरुकताका लागि विभिन्न चरणमा हामीले मिडिया, स्कुलमा बढाउने र स्थानीयतहसम्म पुग्नेलगायतका काम गर्नुपर्छ ।

एजेन्सीलाई राम्रो तालिम र व्यवसायिकता विकास गर्नुपर्नेछ । केही एजेन्सीहरु व्यवसायिक हुँदै आइरहेका छन् । तर, जुन मात्रामा हामीले गर्नुपर्ने हो । त्यो पूर्णरुपमा तालिम, आवश्यक जानकारी राम्रोसँग दिन सकियो भने यसले बीमा गर्नेको संख्या बढाउन मद्दत गर्छ । अहिले बीमाको पहुँच ७७ जिल्लामा पुगिसकेको छ । उनीहरुलाई डिजिटल्ली क्षमतावान बनाउनु पर्नेछ । कम्पनी मात्रै डिजिटल प्रणालीमा गएर हुँदैन । एजेन्सी तथा उपभोक्ता पनि डिजिटलमैत्री हुन आवश्यक छ ।

सबभन्दा ठूलो कुरा, जनचेतना हो । हरेक क्षेत्रले बीमाको फाइदा के छ ? अझैपनि राम्रोसँग बुझ्न सकेका छैनन् । हामी बीमालाई फोर्स सेलिङको रुपमा लगिरहेका छौँ । जबसम्म स्वेच्छाले बीमा पोलिसी खरिद हुँदैन यसको वास्तविक पहुँच पुगेका मान्न सकिदैन ।

अझैपनि यो ग्रामीण क्षेत्रमा बीमाको पहुँच आवश्यकता अनुसार पुग्न सकेको छैन । एउटा थोरैभन्दा थोरै आम्दानी भएकोे व्यक्तिलाई बीमाबारे अझ जरुरी हुन्छ ।

एउटा सरल उदाहरण यसलाई यसरी बुझौं, रिक्सा चालकको कुरा गरौं भने, रिक्सा चालकलाई इन्स्योरेन्स बढी जरुरी छ कि त्योभन्दा अलि सम्पन्नलाई ? उ रिक्सा चालक नभएको अवस्थामा, उसले गर्न नसकेको अवस्थामा फाइनान्सियल ब्याकअप उसको परिवारलाई भयो भने त्यो चालकका बच्चाहरु स्कुल जान पाउनेछन् । जसले गर्दा उसको बच्चाको शिक्षामा सहयोग पुग्छ ।

रिक्सा चालक कुनै कारणले अशक्त भएमा उसको बच्चालाई स्कुल नजान सक्ने अवस्थाबाट सेफगार्ड गर्नलाई इन्स्योरेन्सले मद्दत गर्छ । यो तल्लो कम आम्दानी गर्नेलाई झन फाइदा छ । त्यसका लागि सिटिजन्स लाइफले पनि विशेष गरी छुट्टै प्याकेज ल्याएको छ ।

बीमाको पहुँच न्यून आय भएको जनसंख्यासम्म पुर्याउनुपर्छ । तपाईँले भनेजस्तो रिक्सा चालकले किन्न सक्ने पोलिसी हामीसँग छ त ?

सिटिजन्स लाइफमा तल्लो तहका न्यून आय भएकाहरुले समेत खरिद गर्न सक्ने पोलिसीहरु छन् । उनीहरुलाई बीमा पोलिसी खरिद गरेपछि त्यसको फाइदा कसरी लिन सक्छन् त्यसमा फोकस गर्ने र प्रिमियम समेत न्यून स्तरमा राखेका छौँ । प्रिमियम भनेको तल्लो तहको सहजरुपमा खरिद गर्न सक्ने किसिमको हुन पर्छ ।

हामीले उनीहरुलाई बचत र जोखिम दुबैको प्रडक्ट खरिद गर्न सक्ने प्रकारका लाने गरेका छौँ । रिस्कका लागि मात्रै खरिद गर्न सक्ने प्रडक्टहरु अहिले हामीसँग छ । नयाँ कम्पनीहरु आएपछि फरक प्रकारका प्रडक्टहरु ल्याएका छन् ।

सिटिजन्स लाइफले नै न्यून आय भएका वर्गलाई फोकस गरेर आकर्षक प्रडक्टहरु ल्याएको छ । त्यस्ता प्रडक्ट खरिद गर्नेको संख्या समेत बढी छ । ग्रामीण क्षेत्रका शाखाबाट त्यस्ता प्रडक्टहरु बढी बिक्री भएका छन् ।

बीमामा सरेन्डरको डाटा हेर्ने हो भने साह्रै डरलाग्दो छ । किन बिकृति नै बढ्ने गरेर सरेन्डर बढेको हो । सरेन्डरको डाटामा रकम र नम्बर दुईवटा फरक कुरा हुन् । तपाईंले रकममा हेर्दा १० अर्ब हेर्नुभो भने त्यो ठूलो हुनसक्छ । तर, सरेन्डरको पोलिसी संख्या ठूलो भने छैन ।

केही समय अगाडिसम्म कुल व्यवसायको ५० प्रतिशत काठमाडौंमा हुन्थ्यो । अहिले पनि बैंकिङको ५० देखि ४८ प्रतिशत कर्जा काठमाडौंबाट जान्छ । मुख्य आर्थिक क्रियाकलाप काठमाडौंमा हुने हुँदा सरेन्डर हुँदा ठूलो रकमको देखिएको हो । तर नेपालभरी हेर्ने हो भने त्यो संख्याको हिसाबले ठूलो छैन । केही भने गलत नियतले बीमा गर्ने र पछि सरेन्डर गर्ने पनि छन् । यसलाई हामीले न्यूनिकरण गर्दै लैजानुपर्छ ।

बीमा समितिले सरेन्डर सम्बन्धी नयाँ व्यवस्था ल्याइदियो, जसमा बीमालेख धितोका कतिपय कुरामा कडाई गरेको छ । यसले गर्दा बीमा कम्पनीहरुको व्यवसायमा कति असर गर्ला ?

हरेक चिजको दुईटा पाटो हुन्छ । जेन्यून कस्टमरलाई दुई वर्षको पोलिसीमा ऋण दिनका लागि केही कुरामा असहज पनि हुन सक्ला । तर, त्यसैमा खेल्ने, फाइदा लिने, गलत मानसिकताले काम गर्नेहरूका लागि यसले केही भए पनि सेफगार्ड गर्छ । जसमा दुबै पाटो रहन्छ ।

अब सर्ट टर्म प्ले गर्न लागि यसले रुम दिएन । यसले ठूला ठूला भोल्युममा र कतिपय मान्छेले एमएलको विपरीत कालोधनलाई सेतो बनाउनका लागि गर्ने काम बन्द भयो ।

अहिले बीमा समितिले लघु बीमा कम्पनी ल्याउनका लागि अध्ययन कमिटी गठन गरेको छ । जसमा तपाईं पनि सदस्य हुनुहुन्छ । अहिलेसम्मको अध्ययनमा के-के देखायो । कस्ता कम्पनीलाई लघु बीमामा ल्याउँदा सजिलो होला भन्ने अध्ययन आइरहेको छ ।

लघु बीमाको वर्तमान अवस्था कस्तो छ ? समस्या के छ ? र त्यसमा भएका चुनौतीहरूलाई कसरी समावेश गरिरहेका छौं । साथै, तल्लो तहमा त्यसको बुझाइ कस्तो छ । त्यसबारे एक पटक अध्ययन गरिरहेका छौं । उक्त अध्ययनको रिपोर्ट आइसकेपछि त्यसपछि बल्ल वास्तविक अहिलेको अवस्था, वस्तु स्थिति र कम्पनीको आवश्यकता भन्ने विषयामा सम्पूर्ण रिभ्यु गरेपछि मात्रै वास्तविक कुरा अगाडि आउने छ । अहिले त्यसको बारेमा अध्ययन गरिरहेका छौं । अध्ययनको निष्कर्ष आएपछि अगाडि बढ्छौं ।

लघु बीमा तपाईं आफैले गरिरहँदा आफ्नै प्रतिस्पर्धी ल्याउँदा कस्तो व्यवसायमा असर पर्छ नि हैन र ?

अहिले अध्ययनको क्रममै छौँ । प्रतिस्पर्धी ल्याउने की नल्याउने भन्ने विषयमा कमिटि पुगेको छैन । त्यसमा पहिला अध्ययन गर्ने, आवश्यक परेमा सिफारिस गर्ने र के गर्ने र कसरी गर्ने भन्ने कुराहरू छलफल गरिरहेका छौं । अहिले हामीले प्रतिपर्धी ल्याउने नल्याउने छलफलकै विषय रहेको छ । लघु बीमाका लागि नयाँ कम्पनीहरु आवश्यक छ÷छैन भन्ने विषयको अध्ययनसम्म हामी पुगेका छैनौं । अध्ययनले आवश्यक देखाए नयाँ कम्पनी आउँछ । देखाएन भने अहिले आउँदैन ।

नयाँ बीमा कम्पनीहरू पनि आउने कुरा भइरहेको छ । नयाँ बीमा कम्पनी आएको धेरै पनि भएको छैन । नयाँ कम्पनी आएसँगसँगै पुँजी वृद्धि गर्नुपर्छ र मर्जरमा लैजानुपर्छ भन्ने कुराहरू पनि आइरहेको छ । आवश्यकता देख्नुहुन्छ कि देख्नुहुन्न ?

आवश्यकताको हिसाबले २७ प्रतिशत मार्केट सेयर हुँदा यसलाई बढाएर आवश्यक रहेको लजिक छ । अर्को लजिक के छ भने अहिले भएका कम्पनीहरूको दिगोपनाको कुरा पनि छ । यो कम्पनीहरू चल्नका लागि आधार के छ ? हाम्रो नजिकको देशहरू बंगलादेशमा पनि यसरी नै लाइसेन्स बाँडिएको थियो । त्यो कम्पनीहरूको अवस्था के छ ? भारतमा २००१ देखि लाइसेन्स दिइएको छैन त्यसको अवस्था के छ ? र, ओभरअल यसको अर्थतन्त्रमा योगदान, कम्पनीको दिगो विकास सबै कुरा हेरेर रेगुलेटरले उपयुक्त निर्णय लिन्छ भन्ने छ । आजको अवस्थामा मैले अध्ययन गर्दा एकैपटक ५० मा पनि पुग्ने होइन । बिस्तारै पहुँच बढ्ने हुँदा नयाँ कम्पनीको आवश्यता छैन भन्ने लाग्छ ।

बीमा क्षेत्रमा आवश्यकता अनुसार प्रविधिमा फड्को मारेको देखिएको छैन , यसमा कम्पनी र नियमन निकायले गर्नुपर्ने थप काम के हो ?

पक्कै पनि बीमा क्षेत्र प्रविधिमा केही पछि परेको अनुभुति भइरहेको छ । बीमा क्षेत्रको प्रविधिमा केही नयाँ गर्नुपर्छ भन्ने अनुभुति पनि भएको छ । हामीले अहिलेको प्रोसेसलाई डिजिटल गर्न केही प्राविधिक कुरा र रेगुलेटरी लिमिटेसन पनि छ । पेमेन्टको पाटोमा डिजिटल गर्न सकिन्छ तर हस्ताक्षर लिने हुलाक टिकट टाँस्ने जस्ता कुरामा डिजिटल्ली गर्न चुनौती छ । रेगुलेटरी इस्युले गर्दा पनि हामीलाई समस्या छ । ती कुराहरु सुधार भयो भने हामी पूर्णरुपमा डिजिटल प्रविधिमा जान सक्छौँ ।

नयाँ बीमा कम्पनी ल्याउनमा लगानीकर्ताहरु अत्यधिक आकर्षित देखिन्छन् ? बीमा कम्पनीहरुमा गरिएको लगानीको प्रतिफल पनि उत्कृष्ट पनि देखिन्न, कम्पनीहरुको सेयर मूल्य देखेर नै आकर्षित भएका हुन् त के लाग्छ तपाईंलाई ?

पछिल्लो पुस्तामा आएका कम्पनीहरुको मात्र वित्तीय विवरणको स्थिती ५/१० वर्षको तथ्यांक बनाएर हेर्दा मात्रै वास्तविक तस्बिर आउने हो । तर ती कम्पनीहरुको सेयर बजारमा आपुर्ति हुन्छ । किनभने नकारात्मक नेटवर्थ भएका कम्पनीहरुको पनि सेयर मूल्य समेत बढी छ । तर, त्यो कम्पनीको ५ वर्ष पछिको सिनारियो के हो ? मर्जर भएपछि पनि कम्पनीको पुँजी दोब्बर हुन्छ । पुँजी बढेपछि त्यही अनुसारको बिजनेश कसरी आउँछ । यी विषयमा नियामकले पनि नयाँ लाइसेन्स दिने भन्दै गर्दा यसमा ख्याल गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंक अहिले मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा छ । प्रत्यक्ष वा अप्रत्यक्ष मौद्रिक नीतिले बीमा व्यवसायलाई असर गरिरहेको हुन्छ । बीमा व्यवसायलाई सहयोग हुने गरी कस्तो मौद्रिक नीतिको अपेक्षा गर्नु हुन्छ ?

बीमा कम्पनीहरुको मुख्य लगानीको क्षेत्र भनेको बैंकहरुको मुद्दति निक्षेपमै हो । बैंकहरुमा संस्थागत रुपमा निक्षेप राख्दा केही फाइदा पाइरहेका थियौ । त्यो अघिल्लो वर्षको मौद्रिक नीतिबाट हटाइएको छ । सो अघिसम्म पहिला भइरहेको भन्दा संस्थागतमा ०.५ प्रतिशत बढी ब्याज पाइन्थ्यो । त्यसलाई पुनः पाउनुपर्छ भनेर राष्ट्र बैंकमा कुरा राखेका छौँ । त्यसो भएमा बीमा कम्पनीलाई केही प्रतिशत राहत हुन्छ ।

यसवर्ष बैंकहरुमा तरलता बढी हुँदा ब्याजदर घटेको थियो । बैंकको ब्याजदर घट्दा बीमा कम्पनीहरुको आम्दानीमा घटेको छ । कम्पनीहरुको कुल आम्दानीमा १० देखि ११ प्रतिशतसम्म बैंक ब्याजबाट हुने आम्दानी ७/८ प्रतिशतको हाराहारीमा आइपुगेको छ । ब्याजदर घट्दा करिब ३ प्रतिशत बिन्दुले आम्दानी घटेको छ ।

समितिले कम्पनीहरुको आम्दानी बैंकको मुद्दतिमै केन्द्रित नहोस भनेर लगानी निर्देशिकामार्फत् लगानीको बाटो खुलाएको छ तर त्यसतर्फ कम्पनीहरु किन आकर्षित हुन नसकेका होलान् ?

कम्पनीहरुले अब भने बिस्तारै मुद्दतिको क्षेत्रबाट बाहिर गइरहेका छन् । बीमा कम्पनीहरुलाई अन्य क्षेत्रमा लगानी गर्नलाई केही समस्या पनि छ । बैंकहरुमा जस्तो बीमा कम्पनीहरुमा लगानी गर्नका विशेषज्ञता छैन ।

बीमा कम्पनीहरुमा ठूलो भोल्युममा लगानी गर्ने पैसा पनि हुँदैन । कुनै पनि परियोजनामा लगानी गर्नलाई बीमा कम्पनीहरु सहभागीको रुपमा भने जान सक्छन् । तर, हामी भर्खर आएका कम्पनीहरुले सानो रकमको लगानी गर्न कुनै हाइड्रो वा अन्य क्षेत्रको सहभागी भएर लगानी गर्न भने सकिन्छ ।

त्यसमा अन्य क्षेत्रमा जानका लागि नेपालमा त्यो लेभलको पब्लिक कम्पनी ग्रोथ फेजमै रहेको हुनाले रिस्क लिनका लागि नयाँ कम्पनीलाई चुनौती नै छ ।

लगानीको दायरा बढाउन के के गर्न सकिन्छ ?

अन्य देशको कुरा गर्दा सरकारको परियोजनामा लगानीमा सहकार्य गर्ने, महानगरीय ऋणपत्र हुन्छन् । नगरपालिकाले कुनै एउटा परियोजना शुरु गयो भर्ने त्यसमा बीमा कम्पनीहरुले ऋणपत्रमार्फत् लगानी गर्न सक्छन् । जस्तैः नगरपालिकाले बसपार्क बनाउँछ, सरकारले सडक बनाउँछ, त्यसबाट कर, भाडाहरु उठाउँछ । बीमा कम्पनहिरुले पनि त्यसबाट लगानीको प्रतिफल लिन सक्छन् । यस्तो प्रचलन विदेश तिर धेरै पाइन्छ ।

सरकारले आन्तरिक ऋण उठाउँछ, आन्तरिक ऋणको मात्रा ठूलो परिमाणमा हुन्छ । त्यो आन्तरिक ऋण उठाउने स्रोतमा बीमा कम्पनीहरु सरकारले लामो समयसम्म लिने ऋणमा लगानी गर्न चाहन्छन् । अहिले बीमा कम्पनीहरुले ट्रेजरी बिल्समा लगानी गर्न पाउँछन् । जुन एकदमै छोटो समयको लागि हुन्छ ।

विदेश तिर इन्स्योरेन्स बण्ड हुन्छ । तर नेपालमा त्यो छैन । हामीले इन्स्योरेन्स बण्ड जारी गर्नका लागि बीमा समिति र अर्थमन्त्रालयमा पनि आग्रह गरेका थियौ । त्यसमा अहिलेसम्म पहल नै भएको छैन । त्यसमा केही होला भन्नेमा हामी आशावादी नै छौं । अहिले बीमा कम्पनीको ठूलो समस्यामध्येमा सम्पत्ति र दायित्वको असन्तुलन पनि एक हो । हामीले १५/२० वर्षे प्रडक्ट कस्टमरलाई बेचेका हुन्छौँ, तर हाम्रो एसेट भनेको २÷४ वर्षे मात्र हुन्छ । हामीले २० वर्षको दायित्व लिएपछि २० वर्षसम्मका लागि सम्पत्तिमा लगानी गर्न चाहन्छौं । सरकारले यसको बीमा बण्ड जारी गर्नुपर्ने हुन्छ ।

गत आर्थिक वर्षको व्यवसायको फिगर त आइसक्यो, तर नाफाको ग्रोथ भने कस्तो रहला ? लगानीकर्ताले के अपेक्षा गर्न सक्छन् ?

गत आर्थिक वर्षमा व्यवसाय बढाउनेमा अन्य बीमा कम्पनीमध्ये सिटिजन्स शीर्ष स्थानमै छ । हामी तेस्रो पुस्ताको कम्पनी भए पनि करिब ८४ प्रतिशत व्यवसाय वृद्धि छ । त्यहीअनुसारको नाफामा पनि वृद्धि गत आर्थिक वर्षमै हुनेछ ।

यसलाई हेर्दा पनि अब सिटिजन्स लाइफले ‘स्टिेबल भ्यालुयबल रिर्टन’ लगानीकर्तालाई दिन्छ । कम्पनीले यो ४/५ वर्षमा नेपालभरी नै आफ्नो शाखा बिस्तार गरेको छ । सिटिजन्स लिडर तथा कर्मचारीको क्षमता बढाउने काममा नै धरै फोकस गर्यो । त्यसले अहिले रिजल्ट दिन थालेको छ । संस्थागत विकासको हिसाबमा हेर्दा ४ वर्षको अवधि भनेको छोटो समय नै हो । यसलाई हामी गुणात्मक बनाउने छौँ । भविष्यमा हाम्रो ओभरल पर्फर्मेन्स अझै बढी हुन्छ ।

हामी साधारण सेयर (आइपीओ) जारी गर्ने तयारीमा छौँ । त्यसपछि संकलन हुने पुँजी कम्पनीमा पुनः लगानी गछौँ । त्यसले पनि कम्पनीलाई राम्रो रिर्टन दिनलाई सहयोग गर्छ । कम्पनीको पुँजी बढेपछि रि–इन्स्योरेन्सको लिमिट बढाउन सक्छौँ । लगानी बढाउन सक्दा नाफा पनि बढ्छ । भविष्यमा क्षमता बढेपछि त्यही अनुसारको योजना, लक्ष्यहरु तय हुन्छन् ।

बीमा कम्पनीको वित्तीय विवरण चार्टर्ड अकाउन्टेनले मात्र हेर्दा पनि पुग्दैन एक्च्यूरीले पनि हेर्नु पर्यो । तर, एजीएम गर्न सधै त्यही बहानाले ढिलो भएको हो ?

एक्च्यूरी भ्यालूयसन गर्ने समय बढी लाग्यो । बीमा समितिको भ्यालुयसन डाइरेक्टिभ आयो । भ्यालुयसन डाइरेक्टिभले बजारलाई एक लेभलमा फ्यूचर प्रोभिजन गर्ने कुरा आयो । त्यो बुँदामा हामी अल्मलियौं । त्यसमा बीमा समितिसँग छलफल गर्दा १०० प्रतिशत गर्नुपर्छ भन्ने भनाइपछि हरेक वर्ष गर्दै जाने कुरामा बीमा समिति सहमत हुन समय बढी लाग्यो । अहिले भ्यालूयसनमा सबै कम्पनीहरु लागिसकेका छन् । आगामी दिनमा यस्तो फरक पर्दैन । भर्खरै आएको डाइरेक्टिभभन्दा दुई वर्ष अघि आएको डाइरेक्टिभ पनि थियो । दुई वर्षको डाइरेक्टिभका केही बुँदा परिवर्तन भएका कारणले पनि बजारलाई त्यसमा समायोजन हुन समय दिइएको हो ।

२०७६/७७ मा कुनै कम्पनीले पनि एजीएम गरेका छैनन् । केही कम्पनीले २०७५/७६ मा पनि एजीएम गरेका छैनन् । अब २ वर्षको एकैपटक गर्ने गरेर समेत कम्पनी तयार भएका छन् ।

पहिला त्यो गाइड लाइनले एक्च्युरी फेमिलियर हुन तथा नयाँ गाइडलाइन आएपछि एक्च्युरीले पनि त्यो गाइडलाइन अध्ययन गर्नुपर्ने भयो । हामीले लिने एक्च्युरी सेवा भारतीय कम्पनीबाट हो । कोरोना प्रभावले गर्दा समेत ढिला भयो । अब भने विगतमा जस्तो ढिलो नगर्ने गरेर बीमा कम्पनीहरुले कम गरिराखेका छन् ।

बीमाको विधेयक संघीय संसद्मा बिचाराधिन छ । सो विधेयक पास भएर बीमा प्राधिकरण आएपछि के कुरा परिवर्तन हुने देख्नुहुन्छ ?

संसद्मा रहेको कानूनले बीमा समितिलाई एउटा स्वायत्त रुपमा र पूर्णशक्तिको रुपमा काम गर्न सक्ने अधिकार दिइएको छ । समितिले आफ्नो स्रोतलाई क्षमतावान बनाउने । कम्पनीलाई सुपरीवेक्षण गर्ने र कम्पनीलाई बीमा समितिले चाहेअनुसार प्रोत्साहन गर्ने, नियमन गर्नका लागि नियामक निकाय सक्षम हुने छ । यो भयो भने सबै कुरा हुन्छ । बीमा समितिलाई त्यो अधिकार हुनुपर्यो । अहिले सानो सानो कुरामा गर्न पनि बीमा समितिसँग बाधा उत्पन्न भएको देखिन्छ ।

तपाईंहरु बाहेक १८ वटा जीवन बीमा कम्पनी छन् । सिटिजन्स लाईफमै किन बीमा गर्ने ?

सिटिजन्स लाइफमा २/३ वटा कुरा फोकस गरेका छौ । बीमकले आफ्नो आवश्यकता अनुसारको प्रडक्ट सिटिजन्स लाइफबाट पाउन सक्छन् । म अहिले कमाई गर्ने मान्छे हो । अवकास जीवन पछि के हुन्छ भन्नेका लागि प्रोडक्ट ल्याएको छ ।

‘बाँचुञ्जेलको साथी एउटै बीमा काफी भन्ने जीवन सारथी’ भन्ने युनिक प्रडक्ट छ । प्रडक्ट पस्किने हो । सस्तो खालको बीमाको प्रिमियम तिर्ने पैसा धेरै छ भन्नेका लागि सस्तो र राम्रो कभरेजको प्रोडक्ट चाहियो भनेका लागि इन्डोमेन्ट प्लस छ । मनी ब्याक खालको प्रडक्ट पनि छन् । ‘टर्म’ इन्स्योरेन्स थोरै प्रिमियममा करिब ५ सय रुपैयाँ तिरेर एक लाख बराबरको इन्स्योरेन्स कभर गर्नु भन्नेलाई टंग इन्स्योरेन्स प्रडक्ट छ । उभोक्ताको आवश्यकता अनुसारको प्रडक्ट छ ।

तपाईंलाई सर्भिस दिनका लागि डोर प्वाइन्ट आउटलेट तथा ब्राञ्चहरु छन् । नेपालभर हाम्रो शाखा छन् । डिजिटल सिटिजन अन्तर्गत डिजिटल माध्यमबाट उत्कृष्ट सर्भिस दिइरहेका छौं । डिजिटलबाटै इन्स्योरेन्स किन्न सकिने तथा दावी गर्न सकिन्छ । तपाईंले खोजेको प्रडक्टको पूर्णचित्र कस्तो छ ? कति प्रिमियम तिर्नु भयो, कति किस्ता चलिरहेको छ र कहिले बाँकी कति हुन्छ भनेर मोबाइल एपमा हेर्न सकिन्छ । सिटिजनका एजेन्टहरुलाई ३ वटा कुरामा फोकस गछौं ।

सिटिजन लिडरलाई आर्थिक हिसाबले सबल बनाउने, क्षमता बढाउने सीप विकासका लागि काम गर्छौ । र, उहाँहरुको सम्मान र पुरस्कारका लागि काम गर्छौ । लगानीकर्ता र कर्मचारीको वृद्धि विकास भ्यालू रिटर्न दिनका लागि काम गर्छौ । विश्वासिलो कम्पनी हुनुका साथै राम्रो सेवा दिने भएकाले सिटिजन लाइफमा बीमा गर्नुपर्छ ।


पुष्प दुलाल