आत्मनिर्भरतर्फ उन्मुख ५ क्षेत्र, सहुलियत र प्रोत्साहन आवश्यकः प्रतिवेदन
काठमाडौं । नेपाल सरकारले उद्योगलाई प्रोत्साहन तथा सुहलियत प्रदान गरेमा ५ क्षेत्रमा पूर्णरुपमा आत्मनिर्भर उद्योग मन्त्रालयको प्रतिवेदनले निष्कर्ष निकालेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मातहतमा रहेको उद्योग विभागले अध्ययन गरेको प्रतिवेदन अनुसार पाँच उद्योगलाई सरकारले सहयोग गरेमा आत्मनिर्भर हुनसक्ने उल्लेख गरिएको छ ।
विभागले अध्ययन गरेको प्रतिवेदन अनुसार चिया, विद्युत्तीय तार र कण्डकक्टर, जुत्ता चप्पल, जस्तापाता र पेन्टमा आत्मनिर्भर हुने सक्ने उल्लेख गरेको छ ।
नेपाली उद्योगहरुलाई प्रोत्साहित गर्ने, कर छुट दिने, विदेशबाट नेपालमा आत्मनिर्भर औद्योगिक सामानको आयात कडा पार्ने, उत्पादन हुने औद्योगिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको आयातलाई अनुमति दिने, स्वदेशी निर्भर कच्चा पदार्थलाई प्रोत्साहन, सहुलियत र सुविधा दिएर आत्मनिर्भर वस्तुको उत्पादन बढाएमा आत्मनिर्भर हुने उल्लेख गरेको छ । उक्त उद्योगलाई अगाडि बढाउने नीति कार्यान्वयन गर्न सके विभिन्न क्षेत्रहरूमा सहजै आत्मनिर्भर बन्न सक्ने विभागले दाबी गरेको छ ।
विभागले प्रतिवेदनमा अध्ययनको क्षेत्रहरूमा वार्षिक माग र आयातको स्थिति, उद्योग विवरण, क्षमता उपयोग, माग पूर्वानुमान, प्रवृत्ति र उत्पादनहरूको स्थितिबारे अध्ययन गरेर आत्मनिर्भर हुन सक्ने उल्लेख गरेको छ ।
चिया
नेपालमा उत्पादन र सबैभन्दा बढी निर्यात हुने उत्पादित वस्तु हो चिया । देशका विभिन्न जिल्ला जस्तै झापा जिल्लामा सीटीसी र पहाडी क्षेत्रमा परम्परागत अर्थोडक्स चिया, ग्रीन चियाआदि प्रायः इलाम, पाँचथर धनकुटा, तेह्रथुम, ताप्लेजुङ्ग र संखुवासभा जिल्लालगायत अन्य जिल्लामा चिया खेती हुने गर्दछ । जसमा नेपालमा १ सय ४६ चिया इस्टेट र १४ हजार १४ साना चिया किसानहरू छन् । साथै १६ हजार ९ सय ५ हेक्टर क्षेत्रमा चिया खेती गरिएको छ ।
ठूला चिया इस्टेटहरूले ७२% जमिन ओगटेका छन् भने साना किसानहरू, जो मुख्यतया पहाडी क्षेत्रमा छन् र अर्थोडक्स चिया उत्पादन गर्छन्, बाँकी २८% जमिनमा खेती गर्छन् । सन् २०१९÷२०२० मा कूल चिया उत्पादन करिब २४ हजार मेट्रिक टन थियो ।
यसमध्ये सीटीसी चिया उत्पादन १४ हजार ९ सय ७७ मेट्रिक टन (६२%), अर्थोडक्स चिया ८ हजार २५१ मेट्रिक टन (३४%) र हरियो र अन्य चिया ८ सय ८९ मेट्रिक टन (४%) रहेको छ । चिया उद्योगको औसत क्षमता उपयोग सीटीसीको लागि करीव ६० प्रतिशत हो भने अर्थोडक्स चियाको ४४ % रहेको छ ।
गत बर्षको वास्तविक माग २०१९/२०२० को उत्पादन भन्दा ४ हजार मेट्रिक टनन बढी टन छ । पछिल्लो पाँच बर्षको मागको औसत वृद्धि २.६१% रहेको छ । आगामी पाँच बर्षको औषत मागको बृद्धि ३.२% रहने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ७८ करोडको चिया निर्यात गरिएको छ । चियाको कच्चा पदार्थ भनेको स्थानीय चिया इस्टेट र साना फार्महरूमा उत्पादन गरिएको चिया बोटको तीन पातहरूको टुप्पा मात्र हुन् । सन २०१९/२०२० मा चिया उत्पादन औसत ५२% ले बढेको छ, यद्यपि चिया बगैंचाको क्षेत्रफल भने विगतका वर्षहरूको तुलनामा ४१% ले कम रहेको अध्ययनले देखाएको छ ।
कुल ८ अर्ब ५ करोड पुँजी रहेको उद्योगमा विभिन्न समस्या रहेको जनाएको छ । नेपालमा उत्पादन हुने चियाको सम्पूर्ण कच्चा पदार्थ स्वदेशमा नै उत्पादन हुने गरेको र गत केही वर्षहरुको तथ्यांकलाई दृष्टिगत गर्दा वार्षिक उत्पादन २४ हजार ११८ मेट्रिक टन, खपत १३ हजार १५१ मेट्रिक टन, आयात २ सय १८ मेट्रिक टन निर्यात ११ हजार १८५ मेट्रिक टन रहेको छ । यसरी आयातको तुलनामा निर्यात लगभग ५० गुणा बढि रहेकोले चियाको क्षेत्रमा नेपाल आत्मनिर्भर रहेको विभागले जनाएको छ ।
केबल र कन्डक्टर उत्पादन
नेपालमा हाल २५ वटा केबल र कन्डक्टर उद्योगहरु रहेका छन् । उक्त उद्योगबाट उत्पादित केबल र कन्डक्टरको वास्तविक माग उत्पादन क्षमता भन्दा धेरै कम छ रहेको जनाएको छ । २५ केबल र कन्डक्टर उद्योगको औसत क्षमता उपयोग ४०% रहेकोमा विद्युतीय केबल र कन्डक्टरको पाँच बर्षको भविष्यको माग करीव १३% वृद्धि हुने अनुमान विभागले गरेको छ ।
केवल कपर वाइन्डिंग तारहरूले मात्र विगत चार आर्थिक वर्षहरूमा उल्लेखनीय रूपमा निर्यात बढेतापनि अघिल्लो वर्ष (२०७६/७७) मा निर्यात गरिएको छैन ।
केबल र कन्डक्टर उद्योगहरूले लगभग १ हजार प्रत्यक्ष र ५ हजार प्रत्यक्ष रोजगार उत्पन्न गरेका छन् । ती मध्ये, करीव ५०% दक्ष र अर्धदक्ष जनशक्ति छन् । २५ केबल र कन्डक्टर उद्योगहरुकोकुल बिजुलीको माग ५ मेगावाट छ जुन प्राधिकरणबाट पर्याप्त आपूर्ति भइरहेको विभागले जनाएको छ ।
कुल लगानी ८ अर्ब ५ करोड रुपैयाँ रहेको केबल र कन्डक्टर निर्माण उद्योगहरूमा कच्चा पदार्थ, पर्याप्त बिजुली आपूर्ति, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बिडिङ (एनसीबी÷आईसीबी) खरिद गर्न प्राधिकरणलाई र एनसीबी खरीदलाई नेपाली उत्पादकहरूको लागि भन्सार आन्तरिक र बाह्य चुनौती रहेको प्रतिवेदनमा उल्लेख छ ।
अधिकांश केबल कण्डक्टरको उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ तामाको र आल्मूनियमको तार र इन्सुलेशन सामाग्री भारत, चिन, थाइल्याण्ड, ताइवान, जर्मनी, दक्षिण कोरिया आदिबाट आयात गरिएको छ । केही न्यूनतम कच्चा पदार्थहरु जस्तै जि.आइ. तारहरु, स्ट्रिप्सआदि देशभित्रबाट नै खरिद गरिन्छ । समग्रमा देशभित्र रहेका केबल कण्डक्टर उद्योगहरु देशभित्रको मागलाई धान्न सक्षम रहेता पनि आयात भने राम्रो परिमाणमा आएको देखिन्छ ।
देशमा कण्डक्टरको उत्पादन क्षमता २४० हजार किलोमिटर, घरायसी प्रयोजनको तारको १० लाख किमि, एबीसी केबलको १० हजार किमि, पावर केबलको १२ हजार किमि र एक्सएलपीई केबलको २० हजार किमि मध्ये हाल उत्पादन एसीएसआर कण्डक्टरको उत्पादन ८० हजार किमि, घरायसी प्रयोजनको तारको ४ लाख किमि, एबीसी केबलको ६ हजार किमि, पावर केबलको ९ हजार किमि र एसीएसआर केबलको ५ हजार किमि छ ।
हालको माग एबीसी कन्डक्टर बाहेक अरु सबैमा देश भित्रकै उत्पादनले धानी रहेको देखिन्छ भने ग्लोबल टेण्डरका कारणले एसीएसआर कन्डक्टर मात्र बाहिरबाट आयात भएको र निर्यात नगन्य मात्रामा रहेको छ ।
उत्पादन क्षमता ५० प्रतिशतमात्र रहेकाले यसलाई केही बढाउने वातावरण बनेमा नेपालमा केबल तथा कन्डक्टर उद्योगहरु आत्मनिर्भर रहनेछन् । आयात निकै कम भएकोले सरकारी नीतिमा केही परिवर्तन गरेमा पूर्णरुपमा आयात बन्द भइ देश भित्र भएका उद्योगका उत्पादन क्षमता बढ्ने उद्योगको भनाइ छ ।
जुत्ता चप्पल उद्योग
जुत्ताचप्पल उद्योग नेपालमा करिब ६ वटा ठूला जुत्ताचप्पल उद्योगहरू, १५ मध्यम स्तरका उद्योगहरू, ३ सय साना उद्योग र १२ सय लघु–उद्योगहरु छन् । वार्षिक जुत्ताचप्पलको उत्पादन वर्ष २०७६/७७ मा वृद्धि गरी ४.५ करोड जोडी रहेको छ । क्षमता उपयोग ३७.५% रहेको देखिन्छ । जुत्ताचप्पलको उत्पादन क्षमता आर्थिक वर्ष २०७६/७७ मा करिब २% ले वृद्धि भएको छ । त्यस्तै गरी, वार्षिक उत्पादन ५०% ले वृद्धि भएको छ ।
जुत्ताचप्पलको वार्षिक माग ७.२७ करोड जोडी रहेको छ भने वर्ष २०७६/७७ मा नेपालमा केवल ४.५ करोड जोडी घरेलु आपूर्ति रहेको छ । फुटवेयरको माग २०७७/७८ मा करिब ९ करोड जोडी हुने अनुमान छ र २०८१/८२ मा अर्थात्पाँच बर्षमा २८% बृद्धि गरी ११ करोड जोडीमा पुग्ने अनुमान गरिएको छ ।
जुत्ताचप्पल उद्योगहरूले लगभग ७० हजार प्रत्यक्ष र अप्रत्यक्ष रोजगार श्रृजना गरेका छन् । तीमध्ये, करिब ६०% जनशक्ति दक्ष र अर्धदक्ष छन्। कुल बिद्युत माग करिब १० मेगा वाट रहेको छ जुन नेपाल बिद्युत प्राधिकरणबाट उपलब्ध छ ।
नेपाली जुत्ताचप्पल उद्योगमा १२ अर्ब लगानी रहेको यस उद्योगमा लगानी भए पनि जुत्ताचप्पलमा प्रयोग हुने कच्चा पदार्थहरु लगभग ८० प्रतिशत भारत र चिनबाट हुने गरेको र अन्य बाँकी तेस्रो मूलुकबाट आयात गर्ने गरिएको छ ।
गत तीन बर्षको तथ्यांकलाई हेर्दा देशभित्रको माग ७.२७ करोड जोर, आयात ३.९ करोड जोर र निर्यात ५६.६ लाख मात्र रहेको छ । त्यस्तै आउँदो २०८१/८२ सम्मको माग लगभग ११ करोड जोर रहेको छ । देशभित्रका उद्योगका उत्पादन क्षमता ४० प्रतिशत भन्दा कम रहेको हालको परिस्थितिमा यसलाई ९० प्रतिशत सम्म पुर्याउने वातावरण बनेमा कच्चा पदार्थ बिदेशमा भर पर्ने गरी जुत्ताचप्पल उत्पादनमा आत्मनिर्भर हुने विभागको अध्ययनले देखाएको छ ।
पेन्ट उद्योग
पेन्ट उद्योग नेपालमा पेन्ट उत्पादन क्षमता लगभग २ लाख मेट्रिक टन छ । त्यस्तै गरी, आर्थिक वर्ष २०७६/७७ मा पेन्टको वार्षिक उत्पादन लगभग १ लाख १८ हजार मेट्रिक टन छ भने पेन्ट उद्योगको औसत क्षमता उपयोग ५९% रहेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा पेन्टको वार्षिक माग १ लाअ ३० हजार मेट्रिक टन थियो । नेपाली पेन्ट उद्योगको वर्तमान बजार करिब २० अरब रुपैयाँ रहेकोमा ९० प्रतिशतभन्दा बढी माग घरेलु उत्पादकहरूले पूरा गर्ने गर्दछ ।
नेपालमा पेन्ट उत्पादनको सबै उत्पादन प्रविधि अर्ध स्वचालित र स्वचालित छन् । उक्त उद्योगले लगभग ५६ सय प्रत्यक्ष र अप्रत्यक्ष रोजगार श्रृजना गरेका छन् । तीमध्ये करिब ३०% दक्ष र अर्धदक्ष जनशक्ति छन् । पेन्ट उद्योगको कुल बिजुली माग १४.५ मेगावाट छ जहाँ ५०% बिजुली ठूला चार उद्योगले माग गरेका छन् ।
नेपालमा पेन्ट उद्योगहरुको कुल पुँजी १० अर्ब ८ अर्ब रुपैयाँ रहेकोमा ६ ठूला, ९ मध्यम स्तर र बाँकी साना उद्योगहरू रहेका छन् । स्थानीय रूपमा प्राविधिक जनशक्तिको उपलब्धता र उच्च छोड्ने दर; सरकारी निकायको सञ्चार र समन्वय, विदेशी र बहुराष्ट्रिय उत्पादनमा उपभोक्ता आकर्षण, अस्वस्थ्यकर बजार प्रतिस्पर्धा र उद्योग तथा व्यापारीहरूका लागि समान भन्सार शुल्क पेन्ट उद्योगहरूले सामना गरिरहेका प्रमुख चुनौतीहरू हुन् ।
हाल भइरहेको ५९ प्रतिशतको उत्पादन क्षमतालाई ८०-९० प्रतिशतसम्म पुर्याउन सक्ने वातावरण बनाउन सकेमा आउँदो पाँच वर्षपछि कच्चा पदार्थ विदेशी भएता पनि पेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर हुने देखिन्छ । आयात निकै कम भएकोले सरकारी नीतिमा केही परिवर्तन गरेमा पूर्णरुपमा आयात बन्द भइ देश भित्र भएका उद्योगका उत्पादन क्षमता बढ्न जान्छ ।
जस्ता पाता उद्योग
जस्ता पाता उद्योग नेपालमा पाँच जस्तापाता निर्माण उद्योगहरू सञ्चालनमा रहेका छन् । जस मध्ये चार उद्योगहरु हाल चलिरहेका छन् र एउटा (जगदम्बा स्टील्स) लगभग अन्तिम चरणमा छ ।
जस्तापाता उत्पादनको उत्पादन क्षमता हाल ६ लाख मेट्रिक टन भने वार्षिक उत्पादन २०७६/७७ मा २ लाख ९८ हजार मेट्रिक टन रहेको छ । जसमा औसत क्षमता उपयोग ६३.३% रहेको छ । जस्तापाताको माग र आपूर्ति गत वित्तीय वर्ष २०७६/७७ मा करिव ३ लाख मेट्रिक टन रहेकोमा आर्थिक बर्ष २०७५/७६ र २०७६/७७ मा जस्तापाताको आयात मात्रा क्रमशः १६३३ मेट्रिक टन र २७६० मेट्रिक टन छ । आयातको वृद्धि दर वर्ष २०७५/७६ भन्दा २०७६/७७ को ७०% बढि छ ।
आर्थिक बर्ष २०७६/७७ मा आरती स्ट्रिप्स्ले मात्र १० हजार ४ सय मेट्रिक टन जस्तापाताको निर्यातको गरेको छ । अघिल्लो बर्षको भन्दा यस बर्ष आधा भन्दा कम निर्यात रहेको छ ।
उद्योगहरूको अनुसार आगामी दिनमा हरेक वर्ष करिब ७.३% ले बढ्ने अनुमान छ । नेपालमा उत्पादन हुने जस्तापाताको उत्पादनका लागि आवश्यक पर्ने सबैजसोकच्चा पदार्थ सीआर सीट, केमिकल्स भारत लगायत अन्य मूलुकबाट आयात हुने गर्दछ ।
नेपालका जस्तापाता उद्योगहरुमा कुल पुँजी करिब २ अर्ब ५ करोड लगानी रहेको छ । नेपालमा उत्पादन हुने जस्तापाताको उत्पादनका लागि आवश्यक पर्ने सबैजसोकच्चा पदार्थ सीआर सिट, केमिकल्स भारत लगायत अन्य मूलुकबाट आयात हुने गर्दछ । हाल देशको मागको ९९ प्रतिशत स्वदेशी उद्योगले पुरा गरेको देखिन्छ जबकी औषत उत्पादन क्षमता ६३ प्रतिशतको हाराहारीमा छ ।
नयाँ स्थापना हुने उद्योग र हालका उद्योगहरुका उत्पादन क्षमता बढाएमा थोरै मात्रामा आयात भइ राखेको जस्तापातालाई सजिलैसँग प्रतिस्थापन गर्न सकिने अध्ययले निष्कर्ष निकालेको छ ।
अध्ययन गरिएका पाँच वस्तुहरु मध्ये जस्तापाता, पेन्ट, केबल तथा कण्डक्टर र चियामा कम मात्रामा आयात देखिएपनि जुत्ताचप्पलमा उल्लेखनीय आयात देखिएकोले स्वदेशी उद्योगको दिगो विकासको लागि र आयातलाई निरुत्साहित गर्न उद्योगहरुले गुणस्तरमा थप सुधार गर्नुपर्ने अध्ययनले देखाएको छ ।
सरकारको तर्फबाट न्यून विजकीकरण रोक्ने, स्वदेशी वस्तुहरुलाई प्रोत्साहन गर्ने र उपभोक्ता बर्गलाई जनचेतना अभिबृद्धि गर्नुपर्ने गरेमा सहज हुने जनाएको छ ।
सरकारले कच्चा पदार्थ र नयाँ प्रविधि खरिदका लागि सुविधा पु¥याउन सकेमा उत्पादन लागत घटाउन सकि तयारी वस्तुहरू प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुन सक्ने सुझाव दिएका छन् ।
चिया निर्यातको धेरै सम्भावना रहेको हुनाले नेपाल सरकारको पहलमा निर्यात नीतिलाई सरलीकृत गरी र गुणस्तर, खाद्य स्वच्छता र जैविक प्रमाणीकरण सुनिश्चित गर्नु आवश्यक रहेको उल्लेख गरेको छ ।
जसमा उन्नत जातको चियाको बिरुवा अनुसन्धान गरी बोटको उत्पादन गरेर सम्भावित क्षेत्रमा चिया खेतीलाई प्रवद्र्वन र विस्तार गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।
साथै, सरकारले सरकारी कार्यालय, विद्यालय र अन्यमा नेपाली फुटवेयरका लागि विशेष ड्रेस कोड निर्दिष्ट गरेमा भविष्यमा घरेलु जूत्ता उद्योगहरूलाई प्रोत्साहन मिल्ने सुझाव दिएका छन् ।
त्यस्तै बहुराष्ट्रिय पेन्ट निर्माण उद्योगको तुलनामा घरेलु रंग उत्पादन उद्योगको बजार हिस्सा ज्यादै कम रहेकोले घरेलु उद्योगको प्रवर्धनका लागि सरकारले प्रोत्साहन तथा सहुलियत प्रदान गर्नुपर्दछ ।
व्यापारी र उद्योगपतिका लागि पेन्टको कच्चा पदार्थको भन्सार शुल्क फरक हुनुपर्ने जनाएको छ । त्यसैगरी सरकारले ग्रामीण इलाकामा भएका सबै खरको छानो भएका घरहरूलाई जस्तापाताले प्रतिस्थापन गर्न सहयोग गर्नुपर्दछ जसले जस्तापाता निर्माण उद्योगलाई टेवा पुर्याउन मद्दत पुग्ने प्रतिवेदनले देखाएको छ ।