कृषि क्षेत्रमा कर्जा प्रवाह करिब ४२ प्रतिशतले बढ्यो, सहुलियतदरमा डेढ खर्ब बढी कर्जा प्रवाह
काठमाडौं । कृषि क्षेत्रमा प्रवाहित कर्जा करिब ४२ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको बैशाख मसान्तसम्म बैंक तथा वित्त कम्पनीले २ खर्ब २० अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन चालु आवको सोही अवधिमा ४१.७६ प्रतिशत अर्थात् ९२ अर्ब रुपैयाँले थप भएको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीलाई २०७८ असार मसान्तसम्म कुल प्रवाहित कर्जाको ११ प्रतिशत, ०७९ असार मसान्तसम्म १३ प्रतिशत र ०८० असार मसान्तसम्म १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा हुनुपर्ने भनेको थियो । तर बैशाख मसान्तसम्म कुल प्रवाहित कर्जामा बैंक तथा वित्त कम्पनीले ७.६८ प्रतिशतमात्र कृषि कर्जा प्रवाह गरेका छन् ।
निर्देशन अनुसार प्राथमिकता प्राप्त क्षेत्रमा बैंक तथा वित्त कम्पनीले लगानी नगरेमा कारवाही हुने राष्ट्र बैंकका सह–प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।
‘राष्ट्र बैंकले इजाजत प्राप्त बैंकलाई कृषि, लघु घरेलु तथा साना उद्यम÷व्यवसाय, उर्जा र पयर्टन क्षेत्रमा तोकिएको कर्जा प्रवाह गर्न निर्देशन यसअघि नै दिएको हो,’ उनले क्लिकमाण्डूसँग भने, ‘प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको सीमामा असार मसान्तसम्म कर्जा प्रवाह नगर्ने बैंक तथा वित्त कम्पनीलाई राष्ट्र बैंकले कारवाहीमा हर्जाना तिराउँछ ।’
कृषि क्षेत्रमा केही बैंकहरुले तोकिएकोभन्दा धेरै पनि प्रवाह गरेका छन् भने केही बैंकहरुको तोकिएको सीमामा कर्जा प्रवाह गर्न बाँकी रहेको उनले जानकारी दिए ।
प्राथमिकता प्राप्त क्षेत्रमा समयसीमाभित्र तोकिएको सीमामा कर्जा प्रवाह नगर्ने बैंक तथा वित्त कम्पनी यसअघि पनि कारवाहीमा पर्ने गरेका छन् । सोही कारणले कारवाहीबाट बच्न भए पनि असार मसान्तसम्म सबै बैंक तथा वित्त कम्पनीले तोकिएको सीमामा कर्जा प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।
वैशाख मसान्तसम्म बैंक तथा वित्त कम्पनीले प्रवाह गरेको कृषि क्षेत्रको कर्जामा कृषि फार्महरुलाई ५१ अर्ब १६ करोड रुपैयाँ, चिया खेतीमा ४ अर्ब ८ करोड रुपैयाँ, पशु फार्मलाई १ खर्ब १४ अर्ब ९७ करोड वन पौदार तथा माछापालनमा २ अर्ब ८१ करोड रुपैयाँ र अन्य कृषि सेवाहरुको लागि १ खर्ब ३९ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
सहुलियत ब्याजदरमा डेढ खर्ब बढी कृषि कर्जा
सरकारले ल्याएको कार्यक्रमअनुसार आएको सहुलियतपुर्ण कर्जा योजनामा १० वटा शीर्षकमा कर्जा प्रवाह भएको छ । अर्थमन्त्रालयले कार्यविधि निर्माण गरी राष्ट्र बैंकमार्फत् बैंक तथा वित्तीय संस्थाहरुले कार्यान्यवन गरेका छन् ।
सहुलियतपूर्ण कर्जामा वैशाख मसान्तसम्म कुल १ खर्ब ६५ अर्ब ५३ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ । जसको ६९.१४ प्रतिशत कर्जा व्यवसायिक कृषि तथा पशुपन्छी शीर्षकमा कर्जा प्रवाह भएको छ ।
सो अवधिमा ४२ हजार ४ सय ४७ जना ऋणीको १ खर्ब १४ अर्ब ८ करोड ८० लाख रुपैयाँ व्यवसायिक कृषि तथा पशुपन्छी शीर्षकमा कर्जा प्रवाह भएको हो । यसप्रकारको कर्जा बैंक तथा वित्तीय संस्थाले धितोसहित र धितोरहित नै प्रवाह गर्न पाउँछन् ।
वैशाख मसान्तसम्म स्वीकृत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जामा २ अर्ब ५२ करोड ५५ लाख रुपैयाँ बिनाधितो र १ खर्ब ११ अर्ब ५६ करोड २५ लाख रुपैयाँ धितो जमानमिा स्वीकृत भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
सरकारी ब्याज अनुदानमा व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा वाणिज्य बैंकहरुले २ अर्ब १० करोड ३४ लाख रुपैयाँ धितोरहित र १ खर्ब २ अर्ब ३१ करोड ३३ लाख रुपैयाँ धितोसहित गरी १ खर्ब ४ अर्ब ४१ करोड ६८ लाख रुपैयाँ सहुलियत दरमा कर्जा स्वीकृत गरेका छन् ।
यसैगरी, व्यवसायिक कृषि तथा पशुपन्छी शीर्षकमा विकास बैंकहरुले ४२ करोड १२ लाख रुपैयाँ धितोरहित र ८ अर्ब २३ करोड १५ लाख रुपैयाँ धितोसहित गरी ८ अर्ब ६५ करोड २८ लाख रुपैयाँ सहुलियत कर्जा प्रवाह गरेका छन् ।
बैशाख मसान्तसम्म वित्त कम्पनीहरुले ८ लाख रुपैयाँ धितोरहित र ९८ करोड १ लाख रुपैयाँ धितोसहित गरी ९८ करोड ९ लाख रुपैयाँ व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा स्वीकृत भएको छ । साथै, वित्तीय संस्थाहरुले धितोसहित ३ करोड ७४ लाख रुपैयाँ कर्जा समे शीर्षकमा प्रवाह गरेका छन् ।