जीडीपीमा धानबालीः अपेक्षा धेरै, तर उत्पादन र योगदान दुबै घट्दोक्रममा



काठमाडौं । हरेक वर्ष मुलुकका आर्थिक सूचकहरुको अनुमान र उपलब्धी सार्वजनिक गर्दा सरकारी निकायले एउटा विषय खुलाउन कहिल्यै छुटाउँदैनन् । ‘यसवर्ष धान उत्पादन बढेका कारण आर्थिक वृद्धिदर बढ्यो वा धान उत्पादन घट्दा आर्थिक वृद्धिदर घट्यो ।’

नेपालको हकमा सामान्य किसानको जनजीविकादेखि मुलुलकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि धानबालीले महत्वपूर्ण भूमिका खेल्छ । धान उत्पादन बढ्दा कुल ग्राहस्थ उत्पादन (जीडीपी) तथा आर्थिक वृद्धिदर बढ्ने र धान उत्पादन घट्दा यी सूचकहरु घट्ने हुन्छ । यसअर्थमा मुलुकको अर्थतन्त्र र खाद्य सुरक्षाको प्रमुख आधार हो धानबाली ।

सरकारले गत जेठमा सार्वजनिक गरेका आर्थिक सर्वेक्षण २०७७/७८ अनुसार चालु आर्थिक वर्षमा कृषि र गैरकृषि क्षेत्रको कुल मूल्यअभिवृद्धि क्रमशः २.६४ र ४.५७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

कुल मूल्य अभिवृद्धिमा गैरकृषि क्षेत्रको योगदान बढ्दै गएको छ भने कृषि क्षेत्रको योगदान घट्दै गएको छ । चालु आर्थिक वर्षमा कुल मूल्यअभिवृद्धिमा कृषि क्षेत्रको योगदान २५.८ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७४.२ प्रतिशत रहने अनुमान छ । आर्थिक वर्ष २०७६/७७ मा यस्तो योगदान क्रमशः २६.२ प्रतिशत र ७३.८ प्रतिशत रहेको थियो ।

र्थिक वर्ष २०७१/७२ मा कृषिले जीडीपीमा सबैभन्दा धेरै ३३ प्रतिशत योगदान गथ्र्यो भने अघिल्लो वर्ष कृषि क्षेत्रको योगदान २७.५९ प्रतिशत बराबर थियो । तर अहिले त्यो खुम्चेर २५ प्रतिशतमा सीमित भएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा धानबाली लगाइएको क्षेत्रफलमा १ प्रतिशतले र धानको उत्पादनमा १.२८ प्रतिशतले वृद्धि भएको आर्थिक सर्वेक्षणबाट देखिन्छ । गत आर्थिक वर्षमा धानबाली लगाइएको क्षेत्रफलमा २.२ प्रतिशतले ह्रास आउँदा उत्पादकत्वमा १.१ प्रतिशतले कमी आएको थियो ।

कृषि क्षेत्रको कुल ग्राहस्थ उत्पादन (एजीडीपी) मा २० प्रतिशतभन्दा बढी योगदान गर्ने धानबालीले कुल ग्राहस्थ उत्पादनमा ७ प्रतिशतभन्दा माथिको योगदान रहेको देखिन्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको ‘नेपालमा धानबालीको वर्तमान अवस्था र भावी सोचको मार्गचित्र २०७५’ अनुसार अहिले नेपालको औसत धान उत्पादन ३.५ मेट्रिक टन प्रतिहेक्टर रहेको छ । यसको अर्थ प्रति १ हेक्टर क्षेत्रफलमा रोपिएको धानले ३ हजार ५ सय ६ किलो उत्पादन दिन्छ । गतवर्ष १५ लाख ५२ हजार हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो ।

अर्थतन्त्रमा धानबालीका ठूलो योगदान रहेपनि वर्षेनी घट्दोक्रममा रहेको उत्पादकत्व र बढिरहेको आयातले यो तथ्यांक निरन्तर ओरालो क्रममा देखिन्छ । पछिल्लो ५५ वर्षमा धानको औसत उत्पादन वार्षिक १.५ प्रतिशतले बढेको देखिन्छ भने यहि अवधिमा नेपालको जनसंख्या औसत वार्षिक २.३ प्रतिशतले बढिरहेको छ ।

प्रतिव्यक्ति चामल खपतमा नेपाल विश्वको १३औं स्थानमा छ । बंगलादेश, लाओस, कम्बोडिया, भियतनाम, इन्डोनसिया, फिलिपिन्स, म्यानमार, थाइल्याल्ड, श्रीलंकालगायत मुलुकहरु प्रतिव्यक्ति चामल खपतमा नेपालभन्दा अगाडि छन् । नेपालमा एकजना व्यक्तिले वार्षिक औसत १३७.५ किलोग्राम चामल खपत गर्छ ।

नेपालको ६५ प्रतिशतभन्दा बढी जनसंख्या कृषि क्षेत्रमा आवद्ध भएपनि कृषि क्षेत्रको आधुनिकीकरण भने अझै हुन सकेको छैन । कृषिका आधुनिक औजार र मेसिनमा भने २० प्रतिशत किसानको मात्रै पहुँच छ । बाँकी सबै किसानले पुरानै शैलीमा बाली लगाउने गरेका छन् ।

यसवर्ष धान उत्पादनमा भएको वृद्धिको कारण कोरोना महामारीको समयमा पनि समग्र कृषि क्षेत्रको वृद्धिदर राम्रो देखिन्छ । चालु आर्थिक वर्षमा धान उत्पादन १.३ प्रतिशतले बढेको थियो भने समयमै पानी परेका कारण यसवर्ष पनि धान उत्पादन बढ्ने अनुमान गरिएको छ ।

यद्यपि, महामारीका कारण कृषिसँग सम्बन्धित उत्पादित सामग्री मलखाद, बीउबीजन, विषादी र कृषि औजारको आपूर्तिमा असहजता भएकाले यसको योगदान केही खुम्चिने अनुमान गरिएको छ ।


क्लिकमान्डु