पाँच वर्षमा १ खर्ब २० अर्बको चामल आयात, स्वदेशी उत्पादन बढ्न सकेन



काठमाडौं । आज असार १५ गते अर्थात् राष्ट्रिय धान दिवस । प्रत्येक वर्षको असार १५ गते सरकारी स्तरबाटै धान दिवस मनाउने चलन रहिआएको छ ।

खाद्यान्न बालीमध्ये धान नेपालको प्रमुख बाली हो । नेपाली समाज अनुसार हरेक सामाजिक एवम् सांस्कृतिक कार्यहरूमा धान र त्यसबाट उत्पादन हुने चामललाई आवश्यकताको वस्तु मानिन्छ ।

नेपालमा करिब ६० प्रतिशत जनता कृषिमा आबद्ध छन् । तर, उक्त ६० प्रतिशत कृषिमा आबद्ध रहेको जनसंख्याको योगदान २८.२० प्रतिशत मात्रै रहेको छ ।

नेपालमा मुख्य कृषिको रुपमा धान, मकै, कोदो, गहुँलगायत अन्य खाद्यान्न उत्पादन गर्दै आएका छन् । नेपालको राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन तथा रोजगारीका रुपमा समेत धान खेतीलाई प्रमुख मानिन्छ ।

उत्पादन भएकामध्ये सबैभन्दा बढी खाद्यान्न रुपमा धानको प्रयोग गर्दै आएका छन् । सरकारले नेपालीहरूको मुख्य खाद्यान्नका रुपमा प्रयोग हुँदै आएको चामलमा आत्मनिर्भर बनाउने घोषणा गर्दै आएका छन् । साथै, आर्थिक वर्ष २०७८÷७९ को बजेटमा पनि ५ वर्षको अवधिमा धान उत्पादनमा आत्मनिर्भर हुने जनाएको छ ।

सरकारी तथ्याङ्क अनुसार हरेक वर्ष आयात बढ्दै गएको छ भने उत्पादन घटेको देखिन्छ । आर्थिक वर्ष २०७३/७४ मा बाट निरन्तर धानको उत्पादन बढेकोमा चालु आवमा भने ७० हजार ८ सय ३१ मेट्रिक टनले उत्पादन कम भएको छ । तर, उत्पादनको क्षेत्र भने बढ्दै गएको कृषि मन्त्रालयले जनाएको छ । त्यस्तै, धान उत्पादनको क्षेत्रफल बढे पनि पुरानै शैलीमा खेतीपाती भएकाले उत्पादन बढ्न नसकेको सरोकारवालाहरू बताउँछन् ।

सरकारले नीति तथा कार्यक्रममा धान उत्पादन गरी आत्मनिर्भर हुने घोषणा गर्दै आए पनि उत्पादनमा भने खासै सुधार आएको देखिँदैन । एकातिर नेपालमा उत्पादन कम हुँदै छ भने अर्कोतर्फ भने वार्षिक २ अर्ब बढीले आयात बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । त्यसमा चामल मात्रै नभएर धानको आयात पनि बढ्दै गएको देखिन्छ । जसमा सरकारी तथ्याङ्क अनुसार पाँच वर्षको अवधिमा ९ अर्ब बढीले आयात भएको देखिन्छ ।

सरकारी तथ्याङ्क अनुसार धानको उत्पादन बढे पनि चामलको आयात निकै भएकाले यसमा अध्ययन गर्नुपर्ने कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरे बताउँछन् ।

हालसम्म यस विषयमा कुनै पनि अनुसन्धान भएको छैन । तर, सामान्य अनुमान गर्दा नेपालको तराईमा जति पनि धान उत्पादन हुन्छ त्यसबाट भारतले खरिद गरेर औपचारिक तथा अनौपचारिक रुपमा निर्यात भइरहेको उनले बताए ।

‘नेपालका व्यवसायीले किसानले उत्पादन गरी बिक्री गर्ने समयमा व्यापारी र सहकारीले मूल्य तोकेता पनि त्यो मूल्यमा खरिद गर्न सकेका छैनौं,’ उनले भने, ‘किसानहरूले पनि दुई, चार रुपैयाँ बढी दिने बित्तिकै जो व्यवसायी आएपनि बिक्री गर्ने प्रचलन छ । यसले गर्दा भारतीय व्यवसायीहरू तराईका भू–भागका धान खरिद गरी भारततर्फ निर्यात गरिरहेको प्रशस्तै रहेको छ ।’

त्यस्तै, नेपालमा उत्पादन भएको धान मोटो र माध्यम खालको भएकाले उक्त चामल आम उपभोक्ताले खाना नरुचाउने भएकाले मिलिङका लागि भारततर्फ निकासी हुने उनको भनाइ छ ।

‘उपभोगमा सामान्य रुपमा हेर्दा औसत तथा माध्यम खालको परिवारको उपभोक्ताहरूले बिस्तारै मध्यम खालको धानबाट बास्नादार र मसिनो चामल खाने प्रवृत्ति बढेको छ,’ उनले भने, ‘त्यसैले नेपालमा उत्पादित धान भारतमा निर्यात भई मिलिङ गरेर मसिनो र प्याकिङ गरेर आयात गर्दा धेरै आयात भएको हो ।’ तर, नेपालबाट निर्यात र आयातको तुलना गर्दा धेरै मात्रामा आयात नभएको उनको अनुमान छ ।

हालसम्म सरकारले नेपाली बजारमा उत्पादन गरेको धानको यकिन तथ्याङ्क संकलन गर्न सकिएको छैन । सामान्यरुपमा रेकर्ड भए पनि अध्ययन गरेर क्याप्चर गरेको छैन । यसले गर्दा मन्त्रालयले आगामी दिनमा औसत उपभोक्ताले मसिनो चामल र बास्नादार चामलको चाहना हो भने अनुसन्धान गरेर उक्त खालको बिउविजन उत्पादनमा जोड दिने उनले बताए । साथै, उक्त प्रविधिमा जोड दिएमा आयातमा कमी हुने उनको विश्वास छ ।

फाइल

त्यसैगरी मसिनो र लाम्चो चामल खाने प्रवृत्ति रहेकाले नेपालमा उत्पादित धानको प्रयोग कम हुन गई आयात बढी भएको सरोकारवालाहरू बताउँछन् । जसमा हरेक वर्ष नेपालले अर्बौ खर्चेर धान तथा चामल आयात गर्ने गरेको भन्सार विभागको तथ्याङ्ले देखाउँदछ ।

५ वर्षमा १ खर्ब २० अर्बको चामल आयात

नेपाल एक कृषि प्रदान देश भए पनि बाहिर देशबाट आयात मै निर्भर हुनुपर्ने अवस्था छ ।

जसमा आर्थिक वर्ष २०७३÷७४ देखि २०७७÷७८ को जेठ मसान्तसम्ममा २५ लाख ३३ हजार ५ सय १५ मेट्रिक चामल आयात गर्दा नेपालबाट १ खर्ब २० अर्ब ६७ करोड ५४ लाख ९९ हजार रुपैयाँ चामल खरिदमै बाहिरिएको छ ।

जसमा आव २०७३/७४ मा १९ अर्ब ५९ करोड १८ लाख रुपैयाँको ४२ करोड ६८ लाख ९५ हजार केजी चामल आयात गरेको छ । त्यस्तै, २०७४/७५ मा २३ अर्ब ५५ करोड ९८ लाख रुपैयाँ बराबरको ५२ करोड ८३ लाख ३९ हजार केजी, २०७५/७६ मा २५ अर्ब ७४ करोड ९० लाख रुपैयाँको ५३ करोड ४३ लाख ९९ हजार केजी, २०७६/७७ मा २३ अर्ब १७ करोड १७ लाख रुपैयाँ बराबरको ४४ करोड १ लाख ५५ हजार केजी र २०७७/७८ को जेठमसान्तसम्ममा २८ अर्ब ६० करोड ३१ लाख रुपैयाँ बराबरको ६० करोड ३७ लाख २४ हजार केजी चामल आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । चालु आवमा चामल आयात हालसम्मकै उच्च रहेको छ ।

नेपालमा वार्षिक रुपमा चामलको आयात बढ्दै गएकोमा भयावह स्थिति रहेको धानविज्ञ भोलामान सिंह बस्नेत बताउँछन् । उनका अनुसार नेपालमा अहिले देशका सबै ठाउँमा यातायातको सुविधा पुगेकाले पनि चामलको आयात बढेको बताए ।

‘अहिले देशका जुनसुकै कुनामा पनि यातायातको सुविधा भएकाले सबै ठाउँमा सजिलै चामल पुग्दछ । त्यसैले अन्य खाद्यान्नभन्दा नेपालीलाई चामल नै मिठो मानेर खानेप्रवृत्तिले अत्यधिक चामलको आयात बढेको हो,’ उनले भने ।

त्यसैगरी, नेपालमा वार्षिक प्रतिव्यक्तिले १ सय ३७ केजी चामल खपत गर्ने अध्ययन देखाएको छ । विगतका दिनमा प्रतिव्यक्ति ९० केजी वार्षिक चामल खाने अनुसन्धानबाट निष्कर्ष निकालेको थियो ।

तर, अहिले नेपाली भान्सामा चामल मात्रै पाक्ने भएकाले १ सय ३७ केजी पुगेको उनको भनाइ छ । साथै, नेपालमा चामल मदिरा बनाउनका लागि पनि प्रयोग हुने भएकाले चामलको आयात बढेको उनको अनुमान छ ।

१४ लाख मेट्रिक टन बढी धान आयात

पछिल्लो समयमा चामल मात्रै नभएर धानको पनि आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार ५ वर्षको अवधिमा धान अर्थात धानको बिउ मात्रै १४ लाख ७७ हजार ६ सय ४२ मेट्रिक टन आयात भएको छ ।

जसमा आर्थिक वर्ष २०७३/७४ मा ४ अर्ब २८ करोड ६७ लाख रुपैयाँ बराबरको १ करोड ६३ लाख ३० हजार केजी, आव २०७४/७५ मा ५ अर्ब ९७ करोड २५ लाख रुपैयाँको २१ करोड ५० लाख ५० हजार केजी, आव २०७५/७६ मा ६ अर्ब ८४ करोड ६० लाख रुपैयाँ बराबरको २३करोड ५१ लाख ६७ हजार केजी, आव २०७६/७७ मा १० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको ३४ करोड ८३ लाख ३६ हजार केजी र चालु आवको जेठ मसान्तसम्ममा १९ अर्ब ५५ करोड ९७ लाख रुपैयाँ बराबरको ३४करोड ८३ लाख ३६ हजार केजी धान आयात भएको भन्सार विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

वार्षिकरुपमा धानको बिउमा आयात बढ्नुको मुख्य कारण हाइब्रिड कल्चर रहेको विज्ञ बस्नेतको बुझाइ छ । पछिल्लो समय विभिन्न कम्पनीहरूले विदेशबाट विभिन्न प्रकारको बिउ आयात गर्दै आएकाले बिउको आयात पनि उल्लेखनीय भएको बताए ।

५ वर्षमा साढे २ करोड मेट्रिक टन धान उत्पादन

नेपालले वार्षिक रुपमा उल्लेखनीय चामल आयात गरेसँगै नेपालमा पनि धानको उत्पादन उल्लेखनीय रहेको छ । जसमा पाँच वर्षको अन्तरालमा नेपालले साढे २ करोड बढी मेट्रिक टन धान उत्पादन गरेको छ ।

कृषि मन्त्रालयको तथ्याङ्क अनुसार पाँच वर्षको अवधिमा नेपालले २ करोड ७१लाख ६४ हजार ८ सय ५१ मेट्रिक टन धान उत्पादन भएको जनाएको छ । चालु आर्थिक वर्षमा चैते धान र वर्षे धान गरी कुल धानको उत्पादन गत वर्षको तुलनामा ७० हजार ८ सय ३१ मेट्रिक टनले वृद्धि भई ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन उत्पादन भएको छ ।

साथै, १४ हजार हेक्टर ५ सय ५९ हेक्टर क्षेत्रफल वृद्धि भई कुल १४ लाख ७३ हजार ४ सय ७४ हजार हेक्टर क्षेत्रफलमा धान उतपादन भएको छ । त्यस्तै, आव २०७२/७३ मा ४२ लाख ९९ हजार ७९ मेट्रिक टन, आव २०७३/७४ मा ५२ लाख ३० हजार ३ सय २७ मेट्रिक टन, आव २०७४/७५ मा ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिक टन, आव २०७५/७६ मा ५६ लाख १० हजार ११ मेट्रिक टन, आव २०७६/७७ मा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन उत्पादन भएको कृषि मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु