वित्तीय क्षेत्रका कर्मचारीले भने- जबरजस्ती कोषमा आबद्ध हुन परेमा आन्दोलनमा उत्रिन्छौं



काठमाडौं । वित्तीय क्षेत्रका कर्मचारीले सामाजिक सुरक्षा कोषले वित्तीय क्षेत्रमा अनावश्यक डर, त्रास र दबाब सिर्जना गर्दै जबरजस्ती कर्मचारीलाई आवद्धता गराउन खोजेको आरोप लगाएका छन् ।

राज्यको परिकल्पना र उद्देश्य विपरीत वित्तीय क्षेत्रको कर्मचारीलाई जोड्न खोजेमा भन्दै उनीहरु आन्दोलमा उत्रने चेतावनी समेत दिएका छन् ।

बिहीबार वित्तीय क्षेत्रका २९ वटा कर्मचारी संगठनहरुले संयुक्त रुपमा १५बुँदे माग सहितको विज्ञप्ति निकाल्दै कोषको विद्यमान योजनामा समाहित हुन असमर्थ रहेको स्पष्ट पारेका छन् ।

कोषको विद्यमान ऐन, नियमावली र कार्यविधिमा व्यवस्था भएका योजना र शर्त बमोजिम बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा यस क्षेत्रमा कार्यरत कर्मचारीहरुले विगत तीन दशकदेखि सामूहिक सौदावाजी गरी प्राप्त गरेका सेवा सुविधाहरुबाट विमुख हुनुपर्ने उनीहरुको बुझाइ छ ।

जसको परिवर्तनका लागि कर्मचारीहरुले बारम्बार आवाज उठाई रहेका विषयहरुलाई कोषले कुनै सुनुवाई नगरी एकतर्फी रुपमा अगाडि बढेको भन्दै माग अनुसार परिवर्तन नभएसम्म कोषमा आद्धत नहुने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

साथै, कर्मचारीको मागलाई बेवास्ता गर्दै आवद्धताको डर, त्रास र दबाब सिर्जना गरेमा वित्तीय क्षेत्रका सम्पूर्ण कर्मचारी सशक्तरुपमा आन्दोलनका कार्यक्रमहरु तय गरी प्रतिकारमा उत्रन बाध्य हुने उनीहरुले बताएका छन् ।


क्लिकमान्डु