मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित २ जना पक्राउ
काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ गोकर्ण रमपम चोकस्थित कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्ति सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने ओखलढुङगा लिखु गाउँपालिका–९ घर भएका ४२ वर्षीय अकिंत घिमिरे र गोकर्णेश्वर नगरपालिका–८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका–६ घर भएका ४६ वर्षीय रुपनायाण शाहलाई पक्राउ गरेको छ ।
उक्त मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी भएको थियो । उक्त खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरुलाई पित्तलको सानो ठुलो मूर्ति ८ थान र प्लाष्टिकको मूर्ति ३ थान गरी जम्मा ११ थान मूर्ति सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।