निषेधाज्ञामा पनि नागढुंगा सुरुङमार्गको काम नरोकिने



काठमाडौं । निषेधाज्ञामा पनि नागढुंगा सुरुङमार्ग निर्माण कार्य अवरुद्ध नहुने भएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समयमा निर्माण कार्य बन्द गर्न सूचना जारी भए पनि नागढुंगाको सुरुङमार्ग निर्माणको काम भने जारी रहनेछ ।

काठमाडौं उपत्यकामा नयाँ भेरियन्टको कोभिड–१९ महामारीको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सार्वजनिक तथा निजी विकास निर्माणका कार्य स्थगन गर्नुका साथै सामग्री ढुवानीमा रोक लगाउने निणर्य गरेको थियो ।

नागढुंगा सुरुङमार्ग निर्माण कार्य यथावत अवस्थामा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिइएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका कामू आयोजना प्रमुख नरेशमान शाक्यले क्लिकमाण्डूसँग बताए ।

‘मजदुर तथा कर्मचारीहरु निर्माणस्थलकै क्याम्पमा बसेर काम गरिरहेका छन् । कामदारहरुको दैनिक रुपमा पीसीआर जाँच भइरहेको छ,’ शाक्यले भने, ‘संक्रमितहरु राख्न पनि आइसोलेसन सेन्टरको व्यवस्था छ ।’

कामदारहरु क्याम्पभित्रै बसेर काम गर्ने भएकाले निर्माण कार्य जारी राख्न गरिएको अनुरोध जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको उनले बताए ।

निषेधाज्ञा शुरु हुनु अघि नागढुंगा सुरुङमार्गमा करिब ७०० जनाले काम गरिरहेका थिए । निषेधाज्ञा जारी भएपछि आधाभन्दा धेरै कामदार घर फर्किसकेका छन् ।

पछिल्लो समय नागढुंगा सुरुङमार्गमा कोरोनाको संक्रमण पनि बढेको छ । सुरुङमार्गमा कार्यरत ७१ जना कर्मचारी तथा मदजुर कोरोना संक्रमित पनि भएका छन् ।

संक्रमितहरुलाई आयोजनाकै आईसोलेसनमा राखेर उपचार भइरहेको छ । संक्रमितको उपचार तथा रेखदेका लागि एकजना नर्सको व्यवस्था मिलाईनुका साथै डक्टरहरुको पनि नियमित भिजिट हुने गरेको प्रमुख शाक्यले बताए ।

‘सबै संक्रमितहरुको अवस्था सामान्य नै छ,’ उनले भने, ‘६ जना संक्रमित पूर्णरुपमा निको भइसक्नुभएको छ,’ उनले भने ।

काठमाडौंको दहचोकदेखि–धादिङको खोलासम्मको सुरुङमार्ग २.६८८ किलोमिटर लम्बाइको छ । सो सुरुङमार्ग निर्माण गर्न २०७६ असोज ६ गते सडक विभाग र जापानको हाज्मा–आन्द्रो जेभीबीच सम्झौता भएको थियो । सुरुङ खन्ने काम भने २०७७ पुसदेखि मात्र शुरु गरिएको हो ।

काठमाडौं डिभिजनको काम भने अनिश्चित
निषेधाज्ञाको अवधिमा सडक डिभिजन काठमाडौंले आंशिक रुपमा सडक बिस्तार तथा सुधारको काम अघि बढाइरहेको थियो । निषेधाज्ञाको अवधिमा डिभिजनको कुल लक्ष्यको ५ प्रतिशत काम पनि अघि नबढेको डिभिजन प्रमुख कुबेर नेपाली बताउँछन् ।

हाल डिभिजनले डक बिस्तार, फुटपाथ, खाल्टा खुल्टी पुर्ने, आकाशे पुल, ओभरले, मार्किङ (रेखा)को काम गरिरहेको छ । कामदार, निर्माण सामग्रीको अभावले काम प्रभावित भइरहेको छ । यसका बाबजुत पनि डिभिजनबाट कोटेश्वर–जडिबुटी खण्ड सडक विस्तार गरिरहेको छ ।

पुतली सडक, दरबारमार्ग र बानेश्वरमा फुटपाथ मर्मतसम्भार गरिरहेको छ । चक्रपथ, बानेश्वर, माइतीघरमा ओभरले र मेलम्ची खानेपानीको पाइप फुटेर खाल्टो भएको सडक टाल्ने काम निषेधाज्ञाको अवधिमा गरिरहेको नेपालीले बताए ।

साथै निषेधाज्ञाको अवधिमा बानेश्वरको आकाशे पुल निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको थियो ।

‘ट्राफिक चापले गर्दा आकाशे पुलको काम अघि बढाउन समस्या भइरहेको थियो । निषेधाज्ञाको अवधिमा ट्राफिक चाप कम भएसँगै निर्माण कार्यमा केही सहजता मिलेको थियो,’ उनले भने ।
अहिले पुलको ट्रस जोडने काम भइरहेको छ ।

कोरोनाका संक्रणम तीव्रगतिमा बढेको विषयमा डिभिजन पनि सर्तक रहेको उनले बताए । अहिले अघि बढिरहेका केही काम रोकियो भने पछि गर्न गाह्रो हुन्छ ।

यस विषयमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिएको पनि उनले बताए । डिभिजनले बानेश्वर चोकमा निर्माणधिन आकाशे पुल र सडक ओभरलेको कामका लागि अनुमति माग गरेको उनले जानकारी दिए ।

‘सडकमा ट्राफिक चाप कम छ । सडकका काम गर्न यो उपयुक्त समय हो । सामान्य अवस्थामा यो काम अघि बढाउँदा ट्राफिक अवरुद्ध हुन्छ,’ उनले भने ।

स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण मापदण्ड अबलम्बन गरेर सामाजिक दुरी कायमगरी ओभरले र आकाशे पुल निर्माण प्रक्रियाका लागि अनुमति प्रदान गर्न अनुरोध गरिएको उनको भनाइ छ ।


क्लिकमान्डु