होम आइसोलेसनमा हुनुहुन्छ ? यसरी लिनुहोस् भर्चुअल अस्पतालको सुविधा



काठमाडौं । कोभिड-१९ को प्रकोपको दोस्रो चरण शुरु भएसँगै नेपालमा अस्पतालमा बेड र अक्सिजनको चरम अभाव सिर्जना भइरहेको छ ।

कोरोनाको बढ्दो संक्रमण दरका कारण रोकथाम तथा नियन्त्रण र व्यवस्थापन चुनौतिपूर्ण बन्दै गइरहेको छ । सबै कोराना संक्रमितहरु अस्पताल वा सरकारले तोकेको आइसोलेसन केन्द्रमा उपस्थित भएर उपचार गराउन अहिले सम्भव देखिएको छैन ।

संक्रमणको लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितहरु घरमा नै आइसोलेसमा बसेर उपचार गर्न सरकारले सुझाव दिएको छ । कोराना संक्रमित भएर घरमै आइसोलेसनमा बस्दा के गर्नुपर्छ भन्ने धेरैलाई जानकारी नहुन सक्छ । यस्तोमा संक्रमितको सेवाका लागि विभिन्न मुलुकले भर्चुअल अस्पतालमार्फत् स्वास्थ्य सेवाको सुरुवात गरेका छन् ।

नेपालमा पनि विगत एक वर्षदेखि भर्चुअल अस्पतालको शुरुवात भइसकेको छ । काठमाडौं डिल्लीबजारस्थित डाँफो केयरले २०७७ भदौदेखि भर्चुअल प्रविधिमार्फत् स्वास्थ्य सेवा उपलब्ध गराउन शुरु गरिसकेको छ । अमेरिकी हस्पिटल एसोसिएसनले २० देखि ३० प्रतिशत बिरामी अस्पताल नगई घरमै उपचार गरेर निको हुने प्रतिवेदन सार्वजनिक गरेको छ ।

डाँफे केयरका प्रोग्राम कोडिनेटर कविन मलेकुको टिमले आर्टस् फाउन्डेसनमार्फत् विगत १० वर्षदेखि टेलिमेडिसिन सेवा उपलब्ध गराउँदै आएको थियो । टेलिभेडिसिनको अनुभव र सिकाईबाट अनलाइन स्वास्थ्य सेवा शुरु गर्न सकिएको मलेकु बताउँछन् ।

फाउन्डसेनले ४ जिल्लाको ५ स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा उपलब्ध गराउँदै आएको छ । जसमा प्यूठानमा २ र गोरखा, बाजुरा र कालिकोटमा १/१ स्वस्था चौकी रहेका छन् ।

स्थानीय स्वास्थ्य चौकीमा सेवा दिइरहेका अहेब र एचएलाई फाउन्डेसनका डाक्टरहरुले टेलिमेडिसिनमार्फत् उपचारमा सहयोग पुर्याई रहेका छन् ।

 यसरी शुरु भयो

२०७७ भदौमा एउटा प्रतिष्ठित कर्पोरेट हाउसका ७० जना कर्मचारीमा कोरोना पोजेटिभ देखियो । त्यसको व्यवस्थापन र उपचारको लागि कर्पोरेट हाउसले डाँफे केयरसँग सम्पर्क गरेको मलेकु स्मरण गर्नछन् ।

‘कर्पोरेट हाउसले बिहान यस विषयमा जानकारी दिएको थियो, दिउँसो हाम्रो टिमको मिटिङ बस्यो । ३ वटा विषय मानसिक स्वास्थ्य, शारीरिक स्वास्थ्य, सामाजिक चुनौतीलाई व्यवस्थापन गर्नुपर्छ भन्ने निर्क्याैल निक्लियो,’ मलेकुले भने, ‘उहाँहरु (बिरामी) सबैसँगै स्मार्टफोन र इन्टरनेटको पहुँच थियो । हामीले पहिचान गरेको विषयमा ३ घण्टाको अनलाइन क्लास दिनु शुरु गरियो ।’

यस सेवाबाट बिरामीहरु पूर्णरुपमा स्वास्थ हुने भए सर्भिस मोडलमा जाने भनेर यो काम शुरु नगरिएको उनी बताउँछन् । हाम्रो सेवाबाट सन्तुष्टी हुुनु भएकाहरुले साथीभाई तथा आफन्तलाई रिफर गर्दै जादाँ एककान दुई कान हुँदै मैदान भएको हुन सक्ने उनले अनुमान गरे । पहिलो चरणमा पहिचान गरिएको ३ वटा विषयका साथै योग र श्वाशप्रस्वास सम्बन्धी सेवा पनि थप गरियो । हालसम्म १५ सयभन्दा धेरैलाई सेवा दिइसकेको छ । हाल १ सय ५० जना बिरामी डाँफेको सेवा लिइरहेका छन् ।

शुरूवाती चरणमा डाँफे केयरले १४ दिनसम्म आफ्नो रेखदेखमा बिरामीलाई सेवा दिइरहेको थियो । अहिले सरकारको पोर्टोकल अनुसार १० दिनको होम आइसोलेसनको सुविधा दिइरहेको छ ।

भर्चुअल अस्पतालका लागि डाँफेसँग ५ जना डाक्टर, १४ जना नर्स र ६ जना परामर्शदाता रहेका छन् । बिरामीको उपचार सम्बन्धी कम्पनीले तयार गरेको पोर्टोकल अनुसार आफ्नो कर्मचारीलाई तालिम दिइएको छ ।

महामारीमा भर्चुअल सेवा उपयुक्त

कोभिड-१९ जस्तो महामारीको रुपमा फैलिइएको सरुवा रोगको संक्रमण तथा रोकथामका लागि भर्चुअल अस्पताल प्रभावकारी हुने स्वास्थ्य विज्ञ डा. शुशिलनाथ प्याकुरेल बताउँछन् ।

तर, बिरामीसँगको कुराकानीका आधारमा रोग पत्ता नलाग्ने भएकाले यसका लागि ल्याब टेस्ट गर्नुपर्ने उनी बताउँछन् ।

‘अहिले सामान्य रुगा, खोकी र ज्वरो आए पनि धेरैले कोरोनको शंका गर्छन् । भर्चुअल माध्यमबाट डाक्टरसँग परामर्श गरेर त्यसको आधारमा ल्याब टेष्ट गर्नु पर्छ,’ डा. प्याकुरेलले भने, ‘ल्याब टेस्टका लागि हिडेर वा सार्वजनिक यातायात प्रयोग गरेर पुग्नुपर्छ । यस्तो हुँदा संक्रमण फौलिने खतरा हुन्छ ।’

सहरमा विभिन्न संस्थाहरुले घरमै ल्याब टेस्टको सुविधा दिइरहका छन् । घरमै ल्याब टेस्टको सुविधा लिँदा संक्रमण फैलिने खतरा कम हुन्छ ।

हाम्रो जस्तो भौगोलिक विकटता भएको मुलुकमा सबै स्थानमा दक्ष र प्राविधिक स्वास्थ्यकर्मीको अभाव छ । यस्तोमा आफ्नो नजिक पायक पर्ने स्वास्थ्य केन्द्र वा स्वास्थ्य प्रनिधिनिसँगको सहकार्यमा भर्चुअल स्वास्थ्य सेवा लिन सकिने उनी बताउँछन् ।

बिरामी सिकिस्त भए

डाँफे केयरमा रहेका बिरामी डाक्टर, नर्स र परामर्शदाताको निगरानिमा हुन्छन् । बिरामीको सुविधाका लागि सिफ्ट अनुसार डाक्टर, नर्स र परामर्शदाता २४ घण्टै ड्यूटिमा तैनाथ हुन्छ ।

बिरामीको मेडिकल रिर्पोट सबै डाक्टर तथा नर्सको सहज पहुँचमा हुन्छ । पर्याप्त अक्सिन पाउने व्यक्ति कोभिडबाट छिटो निको हुन्छन् । बिरामीहरुले आफ्नो शरिरमा रहेको अक्सिजन समय/समयमा जाँच गरिराख्नु पर्छ ।

भर्चुअल माध्यमबाट बिरामीसँग सम्पर्क रहने र मेडिकल रिर्पोट कम्पनीका प्रतिनिधिसँग उपलब्ध हुने भएकाले बिरामीको स्वास्थ्य अवस्था जटिल बन्नु अघि नै अस्पताल रिर्फर गर्ने गरिएको मलेकुको दावी छ । बिरामीलाई नजिकको कोभिड अस्पतालमा लग्न रिफर गरिन्छ ।

साथै १४ वटा कोभिड अस्पतालसँग कम्पनीले सहकार्य गरेको छ । अस्पताल भर्न भएका बिरामीको मेडिकल रिर्पोट सम्बन्धी अस्पताललाई पनि उपलब्ध गराईने भएकाले उपचारमा सहता भइरहेको उनले बताए ।
यस्तो छ सेवा

बिरामी वा बिरामीको आफन्तले कम्पनीको वेबसाइट, फेसबुक, फोन कलमार्फत् सेवाका लागि आग्रह गर्न सक्छन् । कम्पनीले सामाजिक सञ्जाल मार्फत गुगल मिट एप्लिकेसन भर्न लाउँछ । त्यो फारम भरिसकेपछि कम्पनीले बिरामीको ओरेन्टेसन क्लास लिइन्छ । अर्को दिनबाट बिरामी र कम्पनीबीचको सहकार्य शुरु हुन्छ । बिहान ८ बजेदेखि ९ बजेसम्म योग, १० देखि ११ वा ११ देखि १२ बजेसम्म डाक्टर र बिरामीबिच वार्तालाभ हुन्छ ।

बिरामीको अवस्था कस्तो छ, दिउँसको खाना र गतिविधि बारे जानकारी लिन ४ बजे नर्सबाट फलोपक कल आउँछ । यो सेवा उपयोग गर्नका लागि प्रत्येक दिन ३०० रुपैयाँ तिर्नुपर्छ । ल्याप टेष्टको पनि सुविधा छ ।

कोभिड बिरामीको ल्याप टेष्टका लागि १ हजार र कोभिड नभएकाको ५ सय रुपैयाँ लाग्छ र ल्याप टेष्ट अनुसारको बिल तिर्नुपर्छ । घरमै डाक्टर र नर्सको पनि सुविधा हुन्छ । डाक्टरको पर भिजिट ३ हजार र नर्सको प्रतिघण्टा साढे ३ सय रुपैयाँ शुल्क तिनुपर्छ ।


पुष्प दुलाल