एकवर्षमा निक्षेप ब्याजदर १.९५ प्रतिशत बिन्दुले घट्दा कर्जाको ३.१६ प्रतिशत बिन्दुले घट्यो



काठमाडौं । कोरोना भाइरसको सकारात्मक प्रभाव ऋण लिनेलाई परेको देखिएको छ ।

कोराना भाइरसले गर्दा पछिल्लो एकवर्षदेखि अर्थतन्त्रका सूचकहरु राम्रो छैनन् । तर,ऋण लिनेलाई भने यसले राहत दिएको छ । आम्दानी नबढेपछि बैंकको कर्जाको ब्याजदर भने घटेको छ ।

२०७६ साल चैतमा औसतमा निक्षेपको ब्याजदर ६.७४ प्रतिशत थियो । त्यो बेला कर्जाको औसत ब्याजदर ११.७७ प्रतिशत थियो ।

गतवर्ष सरकारले कोरोना भाइरस नियन्त्रणका लागि चैतदेखि लकडाउन लगाएको थियो । केन्द्र सरकारले लगाएको लकडाउन हटेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएका थिए ।

गतवर्ष बैशाखदेखि निक्षेप र कर्जाको ब्याजदर घट्दै गएको थियो । बैशाख महिनामा औसतमा निक्षेपको ब्याजदर ६.४४ प्रतिशत थियो । कर्जाको ब्याजर १०.९९ प्रतिशतमा आयो ।

२०७७ सालको असार मसान्तमा निक्षेपको औसत ब्याजदर ६.०१ प्रतिशत तथा कर्जाको ब्याजदर १०.११ प्रतिशत झरेको थियो ।

गत फागुन महिनामा आइपुग्दा निक्षेपको ब्याजदर सबैभन्दा कम औसतमा ४.७६ प्रतिशतसम्म पुगेको थियो । चैत महिनामा भने फागुनको तुलनामा निक्षेपको ब्याजदर केही बढेर ४.७९ प्रतिशत पुगेको छ । कर्जाको ब्याजदर भने ८.६१ प्रतिशतमा आएको छ । बैंकको कर्जाको ब्याजदर साढे ३ वर्ष यताकै सस्तो भएको छ ।

कोरोना भाइरस आउनु अगाडि बैंकहरुमा तरलताको अभाव थियो । बैंकहरु निक्षेप बढाउनको लागि निकै नै अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका थिए । बैंकहरुले १३ प्रतिशतसम्ममा मुद्दती निक्षेपमा पैसा उठाएका थिए ।

कोरोना भाइरसको संक्रमणसँगै आर्थिक क्रियाकलापमा कमी आउन थाल्यो । जसले गर्दा आयात कम भयो । वैधानिक तरिकाले आउने रेमिटेन्स बढ्दा शोधानान्तर बचतमा गयो । जसले गर्दा बैंकहरुमा तरलता सहज भयो ।

बैंकहरुले साउनदेखि नै कर्जा बढाउन निकै नै सक्रिय भएर लागे । पछिल्लो १० महिनाको तथ्यांक हेर्ने हो भने बैंकहरुले ४ खर्ब ५४ अर्ब रुपैयाँले निक्षेप बढाएका छन् । कर्जा भने ६ खर्ब ६८ अर्ब रुपैयाँले बढ्यो ।

नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपातको सिमा(सिसिडि रेसियो)लाई ८० प्रतिशतबाट ८५ प्रतिशतमा पुर्याएको । जसले गर्दा बैंकहरुलाई थप कर्जा प्रवाह गर्नको लागि बाटो खुल्ला भयो ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको गरेर कुल निक्षेप ४४ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । जुन नेपालको जीडीपीको आकारभन्दा बढी हो । यस्तै कर्जा ४० खर्ब ६६ अर्ब छ ।

जसमा वाणिज्य बैंकहरुले ३९ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । कर्जा ३६ अर्ब १३ अर्ब रुपैयाँ दिएका छन् ।


क्लिकमान्डु