वर्षे बालीका लागि कति छ सरकारसँग रासायनिक मल ?



काठमाडौं । गतवर्ष किसानहरुले रासायनिक मलबिनै वर्षेबाली लगाए । रासायनिक मल आपूर्तिको जिम्मा पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनबाट भएका ठेक्का कोभिड १९ महामारीका कारण प्रभावित भएपछि धान रोप्ने बेलामा मल आइपुगेन ।

केही ठेकेदार कम्पनीको बदमासी र महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी भएको लकडाउनको असरका कारण किसानले समयमा मल पाउन सकेनन् ।

तर यसवर्ष भने वर्षेबालीका लागि रासायनिक मलको समस्या नदेखिने कृषि सामग्री र साल्ट ट्रेडिङको दावी छ । गतवर्षका लागि आपूर्ति गरिएको मल यसवर्ष मात्रै आइपुगेकाले अभाव नहुने देखिएको हो ।

कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णु प्रसाद पोखरेलका अनुसार कम्पनीसँग साउनसम्मको माग धान्नेगरी मल मौज्दात छ । त्यस्तै मल आपूर्ति र वितरणमा गतवर्षको जस्तो कुनै समस्या नदेखिएको पनि पोखरेलले बताए ।

‘अहिले कम्पनीसँग युरिया १४ हजार मेट्रिक टन, डिएपी ४७ हजार मेट्रिक टन र पोटास ४ हजार ७ सय मेट्रिक टन मौज्दात छ,’ पोखरेलले भने, ‘अहिले मौज्दात रहेको र आपूर्तिका क्रममा रहेको मलले साउनसम्मको माग धान्छ ।’

निजी क्षेत्र पाएका ठेक्का प्रक्रियाबाट मल आउन नसकेपछि सरकारले गतवर्ष जिटुजी प्रकृयामार्फत बंगलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल ल्याउने निर्णय गरेको थियो । यो गतवर्षको निर्णय भएपनि मल भने यसवर्ष मात्रै आइपुगेको हो ।

कृषि सामग्री कम्पनीका अनुसार जिटुजी प्रकृयामार्फत बंगलादेशबाट मगाएको ५० हजार युरिया मलमध्ये ३२ हजार ५ सय मेट्रिक टन नेपाल आइसकेको छ भने १७ हजार ५ सय मेट्रिक टन अझै आउन बाँकी छ । बंगलादेशबाट आउनुपर्ने उक्त मलसहित करिब ७७ हजार मेट्रिक टन मल अहिले आपूर्तिका क्रममा रहेको छ ।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले पनि पर्याप्त मल मौज्दात रहेको र आपूर्ति तथा वितरणमा समस्या नरहेको जानकारी दिएको छ । साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीकाअनुसार करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ भने ७५ हजार मेट्रिक टन मल आपूर्तिका क्रममा रहेको छ ।

‘साल्ट ट्रेडिङसँग अहिले युरिया २१ हजार मेट्रिक टन, डिएपी १८ हजार मेट्रिक टन, र पोटास ४ हजार मेट्रिक टन गरी ४३ हजार मेट्रिक मौज्दात रहेको छ,’ राजभण्डारीले भने, ‘यो भने पर्याप्त मौज्दात हो र आपूर्तिमा पनि अहिले कुनै समस्या छैन ।’

साल्ट ट्रेडिङले थप ७५ हजार मेट्रिक टन मल ल्याउनका लागि ठेक्का सम्झौता गरिसकेकोमा उक्त मल ल्याउन कुनै अवरोध नभएमा २ महिनाभित्रमा नेपाल आइसक्ने पनि राजभण्डारीले बताए ।

रासायनिक मल खरिद गर्न चालु आर्थिक वर्षका लागि सरकारले ११ अर्ब रुपैयाँ बराबर छुट्याएको थियो । जसमध्ये ७० प्रतिशत मल कृषि सामग्री र ३० प्रतिशत साल्ट ट्रेड्रिङले आपूर्ति गरेका छन् ।


क्लिकमान्डु