कोरानाका कारण विश्वभर गरिबी वृद्धिदर ३० वर्षयताकै उच्चः आईएमएफ



काठमाडौं । कोभिड १९ महामारीका कारण विश्वव्यापीरुपमा बहुआयामिक गरिबी दर उच्च देखिएको छ ।

महामारीको प्रभावकै कारण विश्वभरका १० करोड मानिस अति गरिबीको चपेटामा पर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ ।

त्यस्तै संयुुक्त राष्ट्रसंघले पनि केही महादेशमा गरिबीको दर पछिल्लो ३० वर्षयताकै बढी देखिने चेतावनी दिएको छ ।

आईएमएफकाअनुसार महामारीका कारण दिगो विकाससँग सम्बन्धित आधारभूत लक्ष्य प्राप्त गर्नका लागि अल्पविकशित र विकासशील देशहरुका लागि थप चुनौतीपूर्ण हुनेछ ।

यस्तो अवस्थामा ती देशहरुले तत्कालका लागि मानिसको जीवन रक्षासँगै दीर्घकालीन लगानीका रुपमा स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार तथा अरु अत्यावश्यक सेवामा ध्यान पुर्याउनुपर्ने सुझावसमेत दिइएको छ ।

मुद्रा कोषको नयाँ अध्ययनले विकासोन्मुख देशहरुलाई दिगो विकास लक्ष्यहरु हासिल गर्न सहयोग पुर्याउन दीर्घकालीन विकास बढाउन, बढी राजश्व परिचालन गर्न र निजी क्षेत्रको लगानी आकर्षिक गर्नसक्ने नीति सहितको रुपरेखा बनाउनुपर्ने आवश्यकता पनि औंल्याएको छ ।

महामारीकै बीच केही देशहरुले महत्वाकांक्षी रुपमा ग्राहस्थ उत्पादनलाई सुधार गरेपनि प्रायःजसो कम आय भएका विकासोन्मुख देशहरुले शहस्राब्दी विकास लक्ष्य तथा दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि आवश्यक स्रोत जुटाउन सक्षम नहुने पनि आईएमएफको अध्ययनले देखाएको छ ।

सानो अर्थतन्त्र भएका देशहरुका लागि दातृ निकाय तथा अन्तर्राष्ट्रिय समूदायबाट सहयोगको खाँचो रहने पनि उसले जनाएको छ ।

आईएमएफले महामारीको संकट निवारणका लागि हालसम्म विश्वभरका ८६ वटा मुलुकलाई १ खर्ब १० अर्ब बराबरको आपतकालीन वित्तीय सहायता उपलब्ध गराइसकेको जनाएको छ ।

यस्तो सहायता पाउने मुलुकहरुमा ५२ वटा न्यून आय भएका मुलुकहरु छन् । आईएमएफको सहायता प्रतिवद्धता भने अहिले उपलब्ध गराएको रकमको दोब्बर बराबर छ ।

महामारीका कारण २०२० को शुरुवात तिर ४ करोड ९० लाख प्रभावित भएकोमा महामारीको विश्वव्यापी संकट मानिएको २०२१ को मध्यतिर १० करोड ८० लाख व्यक्ति कोभिडबाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु