बैशाख लागेपछि बैंकहरुको व्यवसाय बिस्तार सुस्तायो, १८ बैंकको निक्षेप र ९ वटाको कर्जा घट्यो
काठमाडौं । बैशाख लागेपछि बैंकहरुको व्यवसाय बिस्तार सुस्ताएको छ । चैत मसान्तको तुलनामा बैशाख १० गतेसम्म अधिकांश बैंकहरुको निक्षेपसँग कर्जा प्रवाह घटेको छ ।
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत चैत ३१ गतेसम्म ३९ खर्ब ४४ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरी ३५ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
जुन बैशाख १० गतेसम्म आइपुग्दा निक्षेप संकलन ३९ खर्ब २२ अर्ब १३ करोड रुपैयाँ र कर्जा प्रवाह ३५ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।
सो अवधिमा १८ वटा बैंकको निक्षेप र ९ वटा बैंकको कर्जा प्रवाह गरको छ । जसमा निक्षेपतर्फ सबैभन्दा बढी एनएमबि बैंकको ४ अर्ब ६९ करोड रुपैयाँले र कर्जा प्रवाह तर्फ सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब ७५ करोड रुपैयाँले घटेको हो ।
यसैगरी, बैशाखको १० दिनमा ९ वटा बैंकको निक्षेप संकलन बढ्दा १८ वटा बैंकको कर्जा प्रवाह बढेको छ । जसमा निक्षेप र निक्षेपतर्फ नै सबैभन्दा बढी एनआइसी एशिया बैंकले बढाएको छ ।
यसैगरी निक्षेप बढाउने दोस्रो नम्बरमा नेपाल एसबीआई बैंक र कर्जा बढाउने दोस्रो नम्बरमा नबिल बैंक रहेको छ ।
बैशाखको १० दिनमा कुन बैंकको व्यवसाय कतिले बढ्यो/घट्यो ?
चैत ३१ गतेयता बैशाख १० गतेसम्म सबैभन्दा व्यवसाय बिस्तारमा आक्रमक एनआइसी एशिया बैंक रहेको देखिन्छ । बैंकले सो अवधिमा ४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप र ३ अर्ब ४७ करोड रुपैयाँ कर्जा थप गरेको छ ।
यसैगरी, सो अवधिमा नेपाल एसबीआईले २ अर्ब २३ करोड रुपैयाँ निक्षेप र ५२ करोड रुपैयाँले कर्जा र सानिमा बैंकले १ अर्ब ८१ करोड रुपैयाँ निक्षेप र ७६ करोड रुपैयाँ कर्जा थप गरेको छ ।
सो अवधिमा एभरेष्ट बैंकको १ अर्ब ४३ करोड रुपैयाँ निक्षेप थप हुँदा १ अर्ब ७० करोड रुपैयाँले कर्जा घटेको छ ।
चैत मसान्तदेखि बैशाख १० गतेसम्म सिभिल बैंकको १ अबै २१ करोड रुपैयाँ निक्षेप र १ अर्ब २५ करोड रुपैयाँ कर्जा, नेपाल बैंकको ७४ करोड रुपैयाँ निक्षेप र ३३ करोड रुपैयाँ कर्जा र नबिल बैंकको ७ करोड रुपैयाँ निक्षेप र १ अर्ब ५६ करोड रुपैयाँ कर्जा थप भएको छ ।
हिमालयन बैंकको ७ करोड रुपैयाँ निक्षेप थप हुँदा कर्जा १८ करोड रुपैयाँले घटेको छ ।
यस्तै, सो अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको २ करोड रुपैयाँले निक्षेप र १ र्अ ३ करोड रुपैयाँले कर्जा थप भएको छ ।
चैत ३१ गतेयता बैशाख १० गतेसम्म एनएमबि बैंकको ४ अर्ब ६९ करोड रुपैयाँ निक्षेप र १७ करोड रुपैयाँले कर्जा घटेको छ ।
सो अवधिमा मेगा बैंकको ४ अर्ब ८ करोड रुपैयाँले निक्षेप घट्दा १ अर्ब रुपैयाँले कर्जा थप भएको छ ।
बैशाखको १० दिनमा प्रभु बैंकको ३ अर्ब ८९ करोड रुपैयाँले निक्षेप घट्दा ५७ करोड रुपैयाँ कर्जा थप, प्राइम बैंकको ३ अर्ब ७९ करोड रुपैयाँ निक्षेप घट्दा १ अर्ब १२ करोड रुपैयाँ कर्जा थप र लक्ष्मी बैंकको २ अर्ब ५३ करोड रुपैयाँले निक्षेप घट्दा ८९ करोड रुपैयाँले कर्जा थप भएको छ ।
यस्तै, चैत ३१ गतेसम्म संकलन गरेको निक्षेपमा बैशाख १० गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ३० करोड रुपैयाँ निक्षेप र १ अर्ब ७५ करोड रुपैयाँले कर्जा, सिटिजन्स बैंकको १ अर्ब ८६ करोड रुपैयाँ निक्षेप र १ अर्ब ४ करोड रुपैयाँ कर्जा र ग्लोबल आइएमई बैंकको १ अर्ब ७० करोड रुपैयाँ निक्षेप र ४१ करोड रुपैयाँ कर्जा घटेको छ ।
सो अवधिमा सिद्धार्थ बैंकको १ अर्ब ३३ करोड रुपैयाँले निक्षेप घट्दा २३ करोड रुपैयाँले कर्जा थप, माछापुच्छ्रे बैंकको १ अर्ब २ करोड रुपैयाँले निक्षेप घट्दा ७ करोड रुपैयाँले कर्जा थप र सेञ्चुरी बैंकको १ अर्ब रुपैयाँले निक्षेप घट्दा ६ करोड रुपैयाँले कर्जा थप भएको छ ।
कृषि विकास बैंकको ७१ करोड रुपैयाँ निक्षेप घट्दा ४ करोड रुपैयाँले कर्जा समेत घटेको छ ।
साथै, सो अवधिमा सनराइज बैंकको ५४ करोड रुपैयाँले निक्षेप घट्दा ३३ करोड रुपैयाँले कर्जा थप र नेपाल बंगलादेश बैंकको ५३ करोड रुपैयाँ निक्षेप घट्दा ५ करोड रुपैयाँ कर्जा थप भएको छ ।
यसैगरी, सो अवधिमा बैंक अफ काठमाण्डूको १५ करोड रुपैयाँ निक्षेप घट्दा २२ करोड रुपैयाँ कर्जा समेत घटेको छ भने, कुमारी बैकको ३ करोड रुपैयाले निक्षेप घट्दा १ अर्ब ५२ करोड रुपैयाँले कर्जा थप भएको छ ।