बैशाखमा १० दिनमै १८ वाणिज्य बैंकको निक्षेप पौने ३४ अर्बबढीले घट्यो, कुन बैंकको कतिले घट्यो ?



काठमाडौं । बैंशाख महिना लागेसँगै बैंकहरुको निक्षेप ह्वातै घटेको छ । चैत मसान्तसम्म संकलन गरेको निक्षेपमा १८ वटा बैंकको निक्षेप पौने ३४ अर्ब रुपैयाँ बढीले बैशाख १० गतेसम्म तथ्यांक हो ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत चैत ३१ गतेसम्म ३९ खर्ब ४४ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन बैशाख १० गतेसम्म आइपुग्दा २१ अर्ब ८९ करोड रुपैयाँले घटेर ३९ खर्ब २२ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ ।

सो अवधिमा १८ वटा बैंकहरु निक्षेप घटेको छ भने ९ वटा बैंकको मात्र निक्षेप थप भएको छ । निक्षेप घटेका १८ वटा बैंकहरुले चैतको ३१ गतेसम्म कुल २५ खर्ब ८८ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन बैशाख १० गतसम्म आइपुग्दा ३३ अर्ब ८४ करोड रुपेयाँले घटेर २५ खर्ब ५४ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ ।

चैत मसान्तमा सरकारको राजश्व संकलनमा करदाताले बैंकबाट निक्षेप झिकेर भुक्तानी गदाँ निक्षेप घटेको बैंकरहरु बताउँछन् । साथै, सो अवधिमा ऋणीहरुले एक बैंकबाट निक्षेप झिकेर अर्को बैंकमा भएको कर्जाको साँवा ब्याज भुक्तान गर्दा कुनै बैंकको निक्षेप घट्दा कुनैको बढेको उनीहरुको भनाइ छ ।

चैतमा कर भुक्तानी भएको चेकको क्लियरिङ वैशाखको १५ गतेसम्म हुने भएकाले बैंकिङ प्रणालीबाट निक्षेप सरकारी खातामा गएको हुनसक्ने बैंकर्स संघका अध्यक्ष भुवन दाहालको भनाइ छ ।

वैशाखको निक्षेप घटेको बैंकहरुको निक्षेप भने केही अन्य बैंक तथा वित्तीय संस्थामा र केही सकारी खाता गएको हुनसक्ने अनुमान गरिएको छ ।

कुन बैंकको कतिले निक्षेप संकलन घट्यो ?
चैत ३१ गतेदेखि बैशाख १० गतेसम्म सबैभन्दा बढी एनएमबि बैंकको र सबैभन्दा थोरै कुमारी बैंकको निक्षेप घटेको छ ।

बैशाखको १० दिनमै १२ वटा बैंकको १ अर्ब रुपैयाँमाथि ५ अर्ब रुपैयाँसम्म र ६ वटा बैंकको १ अर्ब रुपैयाँभन्दा कमले निक्षेप घटेको छ ।

जसमा एनएमबि बैंकको ४ अर्ब ६९ करोड रुपैयाँ, मेगा बैंकको ४ अर्ब ८ करोड रुपैयाँ, प्रभु बैंकको ३ अर्ब ८९ करोड रुपैयाँ, प्राइम बैंकको ३ अर्ब ७९ करोड रुपैयाँ र लक्ष्मी बैंकको २ अर्ब ५३ करोड रुपैयाँले निक्षेप घटेको छ ।

यस्तै, चैत ३१ गतेसम्म संकलन गरेको निक्षेपमा बैशाख १० गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ३० करोड रुपैयाँ, सिटिजन्स बैंकको १ अर्ब ८६ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १ अर्ब ७० करोड रुपैयाँ र सिद्धार्थ बैंकको १ अर्ब ३३ करोड रुपैयाँले निक्षेप घटेको छ ।

सो अवधिमा माछापुच्छ्रे बैंकको १ अर्ब २ करोड रुपैयाँ, सेञ्चुरी बैंकको १ अर्ब रुपैयाँ, कृषि विकास बैंकको ७१ करोड रुपैयाँ, सनराइज बैंकको ५४ करोड रुपैयाँ, नेपाल बंगलादेश बैंकको ५३ करोड रुपैयाँ, बैंक अफ काठमाण्डूको १५ करोड रुपैयाँ र कुमारी बैकको ३ करोड रुपैयाँले निक्षेप संकलन घटेको हो ।


क्लिकमान्डु