१५ अर्ब लगानीको सौैर्य सिमेन्टको क्लिङकर उत्पादन सुरु, एनएसपछि ओपीसी र पीपीसी उत्पादन हुने



काठमाडौं । तीनवटा व्यवसायिक घरानाको लागनी रहेको सौर्य सिमेन्टले व्यवसायिक उत्पादन सुरु गरेको छ ।

उदयपुरमा आफ्नै खानी रहेको सौर्य सिमेन्टले अहिले दैनिक ३ हजार मेट्रिक टन क्लिङकर उत्पादन गरिरहेको छ ।

निर्माण व्यवसायमा अग्रणी मानिएका शंकर ग्रुप,अम्बे ग्रुप र सिके गोल्छा समुहको लगानी छ । जसमा १५ अर्ब रुपैयाँ लगानी भएको छ ।

सौर्य सिमेन्टले क्लिङकर उत्पादन सुरु गरेको र उपभोक्ताको लागि एनएस चिन्ह पाएपछि उत्पादन सुरु हुने शंकर ग्रुपका प्रवन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिए ।
‘एनएस चिन्ह पाएपछि उपभोक्ताले खोजेको गुणस्तरको सिमेन्ट पाउने छन्,यसको गुणस्तर निकै राम्रो छ,’अग्रवालले क्लिकमाण्डूसँग भने ।

सरकारी लगानीको उदयपुर सिमेन्टको माग निकै बढी छ । सौर्यको खानी उदयपुरमा रहेको हुँदा त्यसको ब्राण्ड र आफ्नो नेटवर्कलाई बढाएर सिमेन्ट बजारमा बलियो उपस्थिती बनाउन सक्छ । उदयपुर सिमेन्टले माग अनुसार उत्पादन पुर्याउन नसक्ने हुँदा उदयपुर जिल्लामा नै खानी रहेको हुँदा सौर्यले उदयपुरको बिकल्प बन्ने बजारको सम्भावनालाई देखेको छ ।

शंकर ग्रुप र अम्बेको सिमेन्ट उद्योगमा यो दोस्रो साझेदारी हो । हेटौडामा खानी र उद्योग रहेको रिद्धिसिद्धी सिमेन्ट यसअघि नै ल्याइसकेका छन् । दुईवटा सरकारी लगानीका हेटौडा र उदयपुरको ब्राण्ड निजी क्षेत्रले आफ्नो व्यापार बढाउने गरेर अगाडि बढाउन खोजेका छन् ।

सौर्य सिमेन्टको सबैभन्दा राम्रो पक्ष भनेको चुनढुंगा हो । सिमेन्ट उद्योगीहरुका अनुसार नेपालमा पश्चिम क्षेत्रभन्दा पूर्वको चुनढुंगाको क्वालिटी राम्रो हुन्छ ।

उद्योगबाट ओपिसी, पिपिसी र पिएससी सिमेन्ट उत्पादन हुने छ । सौर्यले नेपालमा पहिलो पटक ‘लो अल्कलाई’ सिमेन्ट उत्पादन गर्न थालेको छ । जुन ठूला निर्माण आयोजनामा प्रयोग हुने छ ।

उदयपुरको कटारी सौर्य उद्योगको चुनढुंगानको खानी छ । जुन ५० वर्षको लागि पुग्छ । यसको उद्योग भने सिराहमा रहेको छ ।

उद्योगमा रोबोटिक प्रयोगशाला भएको र चुनढुंगा, क्लिंकरदेखि सिमेन्टसम्मको काम स्वचालिन रुपमा हुने अग्रवालले जानकारी दिए । सिमेन्टको बोरो लेमिनेटेड भएको हुँदा सिमेन्टका तौल फरक हुने छैन । सिमेन्ट उद्योगको लागि २५ मेगावाट विजुली चाहिन्छ । जसमा ६ मेगावाट विजुली उद्योग आफैले उत्पादन गर्ने छ ।

सौर्य सिमेन्टले उद्योगको लागि भने १४ अर्ब १४ करोड रुपैयाँ ऋणको लागि रेटिङ गराएको छ । सौर्यले १० अर्ब ७० करोड दीर्घकालिन प्रकृतिको लागि ऋण लिने छ ।


क्लिकमान्डु