गहुँको समर्थन मूल्य ३.१८% ले बढ्यो, अहिलेको मूल्य कति ? खाद्य कम्पनीले ५ हजार मेट्रिकटन किन्ने



काठमाडौं । सरकारले गहुँको समर्थन मूल्य तोकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सुझाएअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वीकृतको लागि पठाइएको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भई समर्थन मूल्य तोकेको हो ।

कषि मन्त्रालयको प्राविधिक समितिले उद्योग मन्त्रालयमा सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा स्वीकृतीको लागि पठाइएकोमा गत फागुन २० गते गहुँको समर्थन मूल्य स्वीकृत भएको मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

सरकारले गहुँको समर्थन मूल्य चालु आर्थिक वर्षमा प्रतिक्विन्टल ३ हजार १११ रुपैयाँ तोकेको छ । गत वर्ष प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ तोकेको थियो । जुन गत वर्षको गहुँको समर्थन मूल्यको तुलनामा चालु आवको गहुँको समर्थन मूल्य ३.१८ प्रतिशतले बढेको छ ।

‘गत वर्षको तुलनामा गहुँको समर्थन मूल्य बढेको छ,’ सहायक प्रवक्ता केसीले भनिन्, ‘वार्षिक रुपमा मल, बिऊ तथा ज्याला बढ्ने भएकाले समर्थन मूल्य पनि बढेको हो ।’

सरकारले समर्थन मूल्यमा प्रतिक्विन्टल उत्पादन लागत २५ सय ४० रुपैयाँ ५९ पैसा, ढुवानी खर्च ६२ रुपैयाँ र मुनाफा २० प्रतिशतको दरले ५ सय १२ रुपैयाँ ८ पैसा तोकेको छ । उक्त समर्थन मूल्यका लागि कृषि प्राविधिक समितिले तोकेर स्वीकृतिको लागि उद्योग मन्त्रालयमा पठाएको हुनाले सोही अनुसार मूल्य तय भएको सहायक प्रवक्ता केसी बताउँछिन् ।

यसअघि कृषि र आपूर्ति मन्त्रालयबीच भएको छलफलमा बीऊ राख्ने बेलामै समर्थन मूल्य तोकेको थियो । जसमा मल, पानी, परिश्रमसहित प्रतिक्विन्टल ३ हजार १११ रुपैयाँ तोकेको केसीको भनाइ छ ।

कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले देशभरका किसानहरूको आँकडा संकलन गरेर गहुँको समर्थन मूल्य तोकेको बताए । मन्त्रालयले करिब एक डेढ महिनाअघि गहुँको समर्थन मूल्यको लागि उद्योग मन्त्रालयमा प्रस्ताव गरेको थियो । सोही अनुसार सरकारले मूल्य तोकेको उनको भनाइ छ ।

साथै, विभिन्न मन्त्रालय र निकायहरूको छलफलबाट उक्त मूल्य कायम हुँदा किसानहरूले उचित मूल्य पाउने उनको दाबी छ ।

उद्योग मन्त्रालयको मातहतमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मन्त्रिपरिषद्बाट समर्थन मूल्य तोकेसँगै खरिद गर्न शुरु गरेको बताइन् ।

‘गहुँको समर्थन मूल्य नतोकेर खरिदको लागि ढिलाई भएको थियो,’ उनले भनिन्, ‘हाल समर्थन मूल्य र खरिद्को लागि पनि निर्देशन आइसकेको छ । त्यही अनुसार देशका विभिन्न स्थानमा रहेको शाखालाई खरिद गर्न निर्देशन पठाइसकेका छौं ।’

साथै, अबदेखि खरिद मूल्य शुरु हुने उनले बताइन् ।

हालसम्म गहुँ खरिदका लागि मेहन्द्रनगर, धनगढी-टिकापुर, राजापुर, नेपालगञ्ज, भैरहवा, विराटनगर, लाहान र वीरगञ्ज शाखामा गहुँ खरिदको लागि निर्देशन दिएको बताइन् ।

५ हजार मेट्रिक टन खरिद गर्ने

कम्पनीले यो वर्ष किसानहरूबाट ५ हजार मेट्रिक टन गहुँ खरिद गर्ने लक्ष्य लिएको छ । उक्त गहुँ खरिदको लागि कम्पनीको नियमित कार्यक्रमअन्तर्गत १५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिइन् । जसमा पहिलो चरणमा कम्पनीले ३ हजार मेट्रिक टन ल्याउने भएको छ ।

साथै, बजारको माग र आवश्यकता अनुसार विस्तारै खरिद गरेर बिक्री गर्ने सुवेदीको भनाइ छ ।

‘पहिलो चरणमा ३ हजार मेट्रिक टनको लागि निर्देशन दिएका छौं । त्यसपछि उपलब्धता हेरेर थप गर्ने भएको छ,’ उनले भनिन् ।

त्यस्तै, बजारको माग र आवश्यकता अनुसारमा खरिद गरि बिक्री गर्ने उनको भनाइ थियो ।

गत वर्ष कम्पनीले ३ हजार १५ रुपैयाँ समर्थन मूल्यमा ५ सय ६० मेट्रिक टन मात्रै खरिद गरी बिक्री गरिएको थियो । जसमा कोरोनाले बजारमा निकै असर परेकाले ५ सय ६० मेट्रिक टन मात्रै खरिद गरेको उनले बताइन् ।


पुष्प दुलाल