चिनियाँ विमान भाडामा लगाउन अध्ययन कार्यदल गठन



काठमाडौं । नेपाल वायुसेवा निगमले चिनियाँ विमान भाडामा लगाउने सम्बन्धमा अध्ययन कार्यदल गठन गरेको छ ।

पाइलट केवी थापाको नेतृत्वमा अध्ययन गर्न कार्यदल गठन गरेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।

निगमलाई केही दिन अघि मात्रै अर्थमन्त्रालयले चिनियाँ विमान सम्भव भएसम्म भाडामा लगाउन र नभए बिक्री गर्न स्वीकृत दिएको थियो ।

सोही आधारमा निगमले कार्यदल गठन गरेको हो । कार्यदलमा अर्थ विभाग, अपरेटिङ विभाग, कर्पोरेट विभाग, कानून प्रतिनिधि र इञ्जिनियरिङ विभागको समेत प्रतिनिधित्व हुने गरी कार्यदल गठन भएको छ ।

कार्यदललाई ७ दिनभित्र विमान भाडामा लगाउने दरसहित रिपोर्ट दिने निर्देशन दिइएको छ । कार्यदलको रिपोर्टका आधारमा सञ्चालक बोर्डले निर्णय गर्नेछ ।

गत साउन १६ गतेदेखि ६ वटा चिनियाँ विमानको उडान बन्द छ निगम सञ्चालन बोर्डको असारमा बसेको बैठकले चिनियाँ ६ वटा विमान (२ वटा एमए-६० र ४ वटा वाई १२) विमान साउनदेखि उडान बन्द गर्ने निर्णय गरेको थियो ।

विमानको उडान बन्द भएपछि निगमले अर्थमन्त्रालयसँग विमान व्यवस्थापनका लागि अनुमति मागेको थियो । अर्थमन्त्रालयले विमान व्यवस्थापनका लागि निगमसँग सुझाव मागेको थियो ।

सोही सुझावका आधारमा अर्थले भाडामा लगाउने वा बिक्री गर्न अनुमति दिएको हो । निगमले चिनियाँ विमान व्यवस्थापनका लागि अगाडि सारेका ४ वटा विकल्प अर्थमन्त्री विष्णु पौडेलको टेबलमा लामो समयदेखि रोकिएको थियो ।

निगमले मंसिर पहिलो साता नै विमान व्यवस्थापनका लागि अर्थ मन्त्रालयकै आग्रहमा सुझाव दिएको थियो । निगमले विमान फिर्ता गर्नेदेखि बिक्री गर्नेसम्मका ४ वटा विकल्पसहितको सुझाव पर्यटन मन्त्रालयमा पठाएको थियो ।

निगमले पहिलो विकल्पका रुपमा विमान बिक्रेता कम्पनी एभिक इन्टरनेसनल होल्डिङ कर्पोरेशनलाई वाई-१२ र एमए-६० विमानको फेयर मार्केट भ्यालुका आधारमा विमान फिर्ता गरी व्यवस्थापन गर्ने विषय उल्लेख थियो ।

यसैगरी, दोस्रो विकल्पको रुपमा टेण्डर गरी बिक्री गर्न सकिने उल्लेख थियो । तेस्रो विकल्पको रुपमा लिज प्रक्रियाबाट अन्य कम्पनीहरुलाई विमान दिन सकिने विषय पनि निगमले अगाडि सारेको थियो ।

चौंथो विकल्पको रुपमा नयाँ विमान खरिद गर्दा डाउनपेमेन्टको रुपमा प्रयोग गर्ने विषय रहेको थियो । सोही आधारमा अर्थले विमान व्यवस्थापनमा २ वटा विकल्प दिएको हो ।

६ वर्षमा साढे २ अर्ब घाटा आन्तरिक हवाई उडानलाई प्रभावकारी बनाउन भन्दै खरिद गरिएका ६ वटा (४ वटा वाई–१२ र २ वटा एमए-६०) बाट ६ वर्षमा झन्डै २ अर्ब घाटा बेहोरेको छ ।

निगमले आर्थिक वर्ष २०७१/०७२ देखि आर्थिक वर्ष २०७६/०७७ सम्म आइपुग्दा निगमले ६ वटा चिनियाँ विमानबाट कुल २ अर्ब ४८ करोड ३९ लाख ४८ हजार २ सय ८ रुपैयाँ घाटा बेहोरेको छ ।

निगम स्रोतका अनुसार २ वटा एमए–६० विमानबाट ६ वर्षमा १ अर्ब ५१ करोड २४ लाख ८४ हजार ८ सय ४६ रुपैयाँ घाटा भएको छ । यसैगरी, ४ वटा वाई–१२ विमानबाट भने ९७ करोड १४ लाख ६३ हजार ३६२ रुपैयाँ घाटा भएको हो ।

२०६९ मंसिरमा नेपाल र चीनबीच ६ वटा चिनियाँ विमान खरिदका लागि दुईपक्षीय सम्झौता भएको थियो । सम्झौतामा एउटा एमए–६० र एउटा वाई–१२ विमान अनुदानमा र एउटा एमए-६० र ३ वटा वाई-१२ विमान ऋणमा लिने सम्झौता भएको थियो ।

सोही सम्झौतापछि २०७१ वैशाखमा पहिलो अनुदानको एउटा एमए-६० विमान नेपाल आएको थियो । साथै सोही वर्ष २०७१ को कात्तिकमा अनुदानवापतको अर्को वाई–१२ विमान नेपाल आएको थियो ।

यसैगरी, बाँकीमध्ये २०७३ मा एउटा एमए-६० र एउटा वाई-१२ आएको थियो। निगमले २०७४ फागुनमा बाँकी रहेका दुईवटा वाई-१२ विमान नेपाल ल्याएको थियो ।

यसरी खरिद भएर नेपाल ल्याइएका चिनियाँ विमानबाट निगमले आर्थिक वर्ष ०७६/७७ सम्म २ अर्ब ४८ करोड घाटा बेहोरेको छ । विमान खरिदमा नेपालले अनुदान र सफ्ट लोनमा गरी ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ खर्च गरिसकेको छ ।

कूल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने ३ अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत दरको ऋण थियो ।


क्लिकमान्डु