सामाजिक संजालमा विज्ञापन नेपालकै बैंकबाट गर्न सकिने, अनलाइन पेमेन्टमा सजिलो




काठमाडौं । फेसबुकलगायत सामाजिक सञ्जालमा विज्ञापन तथा बुस्ट नेपालबाटै गर्न मिल्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्त कम्पनीले जारी गरेका प्रिपेड कार्डमार्फत् फेसवुक, ट्वीटर, यूटुब जस्ता सामाजिक सञ्जालमा ‘बुस्ट’ गर्न सकिने व्यवस्था गर्ने भएको हो ।
केन्द्रीय बैंकले आइतबार परिपत्र जारी गर्दै अनलाइनमार्फत विदेशी वस्तु तथा सेवाको खरिदबापतको भुक्तानी गर्ने प्रयोजनाको लागि वाणिज्य बैंकहरु र राष्ट्रियस्तरका विकास बैंकहरुले परिवर्त्य विदेशी मुद्रामा प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको छ । जसमा वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुले परिवर्त्य विदेशी मुद्रामा ५०० डलरसम्मको प्रिपेड कार्ड जारी गर्ने छन् । सो सिमा भित्र रहेर प्रिपेड कार्डको प्रयोग गरी सामान तथा वस्तु आयात र सामाजिक सञ्जालमा विज्ञापन गर्न सकिने राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए ।

‘अहिलेसम्म नेपालबाट वैधानिक रुपमा अनलाइनमार्फत् विदेशी वस्तु तथा सेवा आयात गर्न मिल्दैन थियोे, जति पनि भएका छन हुण्डीमार्फत नै भएका छन्,’ मिश्रले क्लिकमाण्डूसँग भने, ‘यो व्यवस्थाले सामाजिक संजालमा विज्ञापन गर्ने, बुस्ट गर्ने, विदेशी अनलाइनहरुबाट सामान खरिद गर्नका साथै विदेशी सेवाहरु आयात गर्न वैधानिक बाटो खुल्ला भएको छ ।’

विदेशी सेवामा सामाजिक सञ्जालमा विज्ञापन तथा बुस्टलाई समेत समेट्ने हुनाले अब नेपालकै बैंकहरुले जारी गरेका कार्डमार्फत् बुस्ट गर्न सकिने व्यवस्था हुने उनले जानकारी दिए ।
परिवर्त्य विदेशी मुद्रामा प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गर्न प्रिपेड कार्ड जारी गर्न सक्नेछन ।
तोकिएको सिमामा रहेर अनलाइनमार्फत् विदेशी वस्तु तथा सेवा आयात गर्न विदेशी मुद्रामा सटहीको सीमा राष्ट्र बैंकले निर्धारण गर्ने र वस्तु तथा सेवामा लाग्ने करका दर भने सरकारले नै निर्धारण गर्ने मिश्रले बताए ।

‘अनलाइनमार्फत् कुन वस्तु र सेवा आयात गर्न पाउने र आयात गरिएको वस्तु तथा सेवामा कति कर लगाउने सरकारको कर नीति अनुसार हुनसक्छ,’ उनले भने, ‘राष्ट्र बैंकले भने अनलाइनमार्फत् विदेशी वस्तु तथा सेवा आयात गर्दा भुक्तानी गर्न विदेशी मुद्रा सटही गर्ने व्यवस्था मात्र गर्छ ।’

बैंकहरुले विदेशी अनलाईनमार्फत् वस्तु तथा सेवा आयातको भुक्तानीमा सटही गरिएका विदेशी मुद्राको विवरण राष्ट्र बैंकले नियमित पठाउनुपर्ने उनले जानकारी दिए ।

हाल नेपालमा विदेशी बैंकहरुमा खाता खोली विदेशी अनलाइनबाट सामान खरिद गर्ने, सामाजिक सञ्जालमा विज्ञापन तथा बुस्ट गर्न गरिएको छ । जसमा गत वर्ष राष्ट्र बैंकले कडाइ गर्ने समेत भनेको थियो ।

विदेशी बैंकहरुमा खाता खोली विदेशी अनलाइनबाट सामाजिक सञ्जालमा विज्ञापन तथा बुस्ट गदा अवैधानिक तरिकाले भुक्तानी भएको र त्यसलाई हालको व्यवस्थाले वैधानिक गर्न लागेको मिश्रले बताए ।

जारी परिपत्रअनुसार कार्ड प्रयोगकर्ताले विदेशमा सेवा निर्यात गरेबापत आर्जन गरेको विदेशी मुद्रा पनि कार्डमा नै जम्मा हुनुपर्ने हुन्छ ।

कार्डको मौज्दात रकम ५ हजार अमेरिकी डलर वा सोभन्दा बढी भएमा उक्त रकम निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नुपर्ने छ । सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेमा कार्ड प्रयोगकर्ताले विदेशबाट वस्तु तथा सेवा खरिद गर्दा भुक्तानीका लागि विदेशी मुद्रा सटहीको वार्षिक सीमा विदेशी मुद्रा आर्जन गरेको रकम र अमेरिकी डलर ५०० को योग बराबर हुनेछ । तर, यस्तो रकम बढीमा वार्षिक अमेरिकी डलर ५,००० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्ममा मात्र सिमित हुनेछ ।

राष्ट्र बैंकले गरेको उक्त व्यवस्थाले हाल नेपालबाट सामाजिक सञ्जालमा गरिने विज्ञापन तथा बुस्टको भुक्तानीमा बाहिरीने रकमलाई व्यवस्थित गर्ने राष्ट्र बैंकको विस्वास छ ।

हालसम्म सामाजिक सञ्जाल गरिने विज्ञापनको भुक्तानी र आम्दानीको निगरानी तथा नियमन सरकारले गरेको छैन ।

जुनसुकै माध्यमबाट विदेशबाट कुनै पनि वस्तु तथा सेवा आयात गरी नेपाली पैसा बाहिरिन्छ भने राज्यले त्यसको नियमन गर्नुपर्ने हुन्छ । साथै सो वापत हुने आम्दानीको समेत कर तिर्नु व्यवस्था कर नीतिमा उल्लेख छ । तर हालसम्म सामाजिक सञ्जालमार्फत् भएका विज्ञापनमा गरिएको खर्च र आम्दानीको तथ्यांक समेत र सो वापतको कर हालसम्म सरकारले लिएको छैन ।


क्लिकमान्डु