के हो बुक बिल्डिङ ? यसको आवश्यकता र महत्व
बुक बिल्डिङ विधि नेपालको सन्दर्भमा नयाँ भएकाले धेरैको चासो भएको पाइन्छ ।
नेपालमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको पुँजीबजारमा हावी भयो र बजार पुँजीकरणमा पनि यस्ता संस्थाको करिब ७० प्रतिशत भएको अवस्था र रियल सेक्टरको ज्यादै न्यून उपस्थिती भएकाले अर्थतन्त्रको ऐनाका रुपमा नेप्से इन्डेक्सले राम्रोसँग काम गर्न सकेन भन्ने कुरा सुनिँदै आइरहेको थियो ।
यसैलाई सम्बोधन गर्नका लागि र रियल सेक्टरका कम्पनीहरुलाई क्यापिटल मार्केटमा कसरी आकर्षित गर्न सकिन्छ भन्ने अवधारणामा बुक बिल्डिङको कुरा आएको हो ।
सर्वसाधारणहरुको पुँजी रियल सेक्टरमा पनि कसरी ल्याउन सकिन्छ भन्ने सोच अनुरुप केही वर्ष अघि हामीले प्रिमियममा पनि जान सक्ने व्यवस्था गरेका थियौं ।
तर त्यसले पनि सम्बोधन हुन सकेन् । त्यसैले हामी अन्तर्राष्ट्रिय स्तरमा के कस्तो विधि प्रयोगमा आएको छ भन्ने पनि अध्ययन गरी अघिल्लो वर्ष नियमावली संशोधन गर्यौं । र, करिब ६ महिनाअघि बुक बिल्डिङको निर्देशिका नै जारी गयौं ।
बुक बिल्डिङ निर्देशिका बनाउनु अघि हामीले अमेरिका, बेलायत, जापान, भारत, पाकिस्तान, चीन र बंगलादेशलगायतका देशमा भइरहेको अभ्यासलाई पनि हेरेर नेपाललाई सुहाउँदो हुने गरी निर्देशिका तयार पारेका हौं ।
हामीले कोरोना महामारीको बीचमा निर्देशिका जारी गरेपछि यो प्रक्रियाबाट आइपीओ जारी गर्नका लागि केही समय लाग्छ कि भन्ने थियो तर हामीले अपेक्षा गरेभन्दा छिटो बजारले रेस्पोन्स गरेको छ । जसअनुसार पहिलो पटक सर्वोत्तम सिमेन्टले यही प्रक्रियाबाट आइपीओ जारीको तयारी गरेको छ भने अर्को कम्पनीले पनि तयारी गरिरहेको जानकारी आएको छ । जुन सकारात्मक हो ।
बुक बिल्डिङमा कस्ता व्यवस्था छन् त ?
हामीले निर्देशिका बनाउँदा मुलुकको वित्तीय साक्षरता अवस्था, कर्पोरेट क्षेत्रको व्यवसायिकताको अवस्थालगायतका विभिन्न पक्ष केलायौं ।
कम्पनीहरुले आइपीओ जारी गर्दा सकेसम्म राम्रो मूल्य आओस् भन्ने चाहनुहुन्छ भने लगानीर्ताले सकेसम्म कम मूल्यमा कम्पनीको सेयर लिन पाए हुन्थ्यो भन्ने हुन्छ ।
त्यसलाई कसरी ब्यालेन्स गर्ने भन्ने विषयमा कतिपय कुराहरु जारी गर्ने कम्पनीलाई नै छाडेका छौं भने कतिपय विषयहरु योग्य संस्थागत लगानीकर्ताले पनि कम्पनीको विश्लेषण गरेर, रिसर्चका आधारमा व्यवसायको भविष्यको प्रक्षेपणका आधारमा गर्ने गरी निर्देशिकामा व्यवस्था गरेका छौं ।
अन्तर्राष्ट्रिय अभ्यास हेर्दा भारत र पाकिस्तान जस्ता देशमा ७० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याइएको हुन्छ भने बाँकी ३० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको हुन्छ ।
ती देशहरुमा बुक बिल्डिङमा संस्थागत लगानीकर्तासँगै सर्वसाधारणले पनि भाग लिन पाउने व्यवस्था छ भने नेपालको हकमा हामीले बुक बिल्डिङमा संस्थागत लगानीकर्ताले पहिले भाग लिने र पछि सर्वसाधारणले आवेदन दिने समयमा निश्चित मूल्य निर्धारण गरिएको हुन्छ ।
नेपालको सन्दर्भमा योग्य संस्थागत लगानीकर्ताबाट आएको कटअफ मूल्यमा १० प्रतिशत कम मूल्यमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने व्यवस्था हामीले निर्देशिकामा गरेका छौं ।
यसो किन गरिएको हो भने सर्वसाधारण लगानीकर्तालाई कम्पनीहरुको वित्तीय अवस्थाबारे धेरै थाहा नहुन सक्छ भन्ने हो ।
अहिले कम्पनीहरुले आइपीओ जारी गर्नुपूर्व कम्पनीको अवस्था कस्तो छ, व्यवस्थापनको अवस्था, वित्तीय अवस्था, भविष्यको योजनालगायतको विवरण तयार पारेर प्रारम्भिक विवरणपत्र तयार पार्नुहुन्छ । जसलाई रोड सो पनि भनिन्छ । जसमा आफ्नो कम्पनीको मूल्य यति हो भन्नु हुन्छ र त्यसका लागि कारण पनि प्रस्तुत गर्नुहुन्छ ।
त्यसपछि उक्त मूल्यका आधारमा संस्थागत लगानीकर्ताले आवेदन दिनुहुन्छ । जसमा ५ कार्यदिनभित्र संस्थागत योग्य लगानीकर्ताले आशय मूल्यसहित आवेदन पेश गर्नुहुन्छ । यो कारणले आशय मूल्य यति हो र मैले यति धितोपत्र भोलिका दिन्छु भनेर आशयपत्र पेश गर्नुपर्छ । यसरी आशय पत्रमा उल्लेख भए बमोजिमको सेयर बिक्री नभएको अवस्थामा सर्कानु पर्ने हुन्छ ।
संस्थागत लगानीकर्ताले प्रस्तावित मूल्यमा २० प्रतिशत माथि वा २० प्रतिशत तलको सीमामा रहेर आवेदन दिनुपर्ने हुन्छ । यो प्रक्रियामा कम्तीमा १० वटा संस्थागत लगानीकर्ता सहभागी हुनुपर्छ भने जुन विन्दुमा आएर कटअफ मूल्य निस्कन्छ त्यो मूल्यमा १० प्रतिशत मूल्य घटाएर सर्वसाधारणका लागि मूल्य तोकिन्छ ।
(नेपाल धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीले सर्वोत्तम सिमेन्टको कार्यक्रममा व्यक्त गरेको विचारको सम्पादित अंश)