लकडाउनका कारण अनलाइन सपिङ गर्ने उल्लेख्य बढे, मासिक कारोबार करिब १ अर्ब
काठमाडौं । बजारसम्म पुगेर पसल चहार्दै सामान किन्नुपर्ने बाध्यतालाई पछिल्लो केही समययता ई-कमर्श’ प्लेटफर्महरुले पूरा गरेका छन् ।
पसल चहार्दै, मूल्यमा मोलमलाई गर्दैै सामान खरिद गर्ने ग्राहकको केही हिस्सा यतिबेला अनलाइनमै सामान छनोट गर्न थालेको छ । यसले मानिसहरुको व्यस्त दैनिकीबाट समय मात्रै बचाउनुका साथै मोलमोलाइ गर्ने झण्झटबाट समेत मुक्त बनाएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ७ महिनासम्मको तथ्यांकलाई आधार मान्ने हो भने अनलाइनमार्फत् सामान खरिद गर्नेहरुको संख्या र कारोबार रकम उल्लेख्यरुपमा बढेको छ ।
यसरी अनलाइनबाट हुने कारोबार बढ्नुमा सबैभन्दा प्रमुख कारक भनेको लकडाउनलाई लिन सकिन्छ ।
लकडाउनको अवधिमा मानिसहरु घरभित्रै सीमित भए भने मुलुकको समग्र अर्थतन्त्र ठप्पप्रायः भयो । लकडाउनमा बैंक तथा वित्तीय संस्था बन्द हुँदा त्यस्ता संस्थामा गएर पैसा निकाल्ने र कारोबार गर्ने नगदी प्रणालीमा व्यापक असर गर्यो । जसका कारण आर्थिक कारोबारमा डिजिटलले प्रवेश पायो ।
हुन त त्यसअघि पनि डिजिटल कारोबार शुरुवात नभएको होइन तर कोरोना महामारीकालमा भएको लकडाउनमा मानिसहरु विद्युतीय भुक्तानीमा बढी जोड दिन थाले ।
त्यति मात्रै होइन, कोरोना महामारीले पसल पसलमा गएर सामान किन्न परम्परागत प्रणालीमा पनि व्यापाक परिवर्तन ल्याइदियो ।
लकडाउनको समयमा मानिसहरु घरभित्रै बस्दा पनि ई–कमर्श प्लेटफर्मबाट खाद्यान्नलगायतका सामग्री खरिद गर्न थाले । र, यसले आजका दिनसम्म मानिसहरुको दैनिकीको प्रमुख हिस्सा बन्न सफल भयो ।
लकडाउन शुरु भएको तीन दिनभित्रै ई–कमर्श व्यवसायमा ‘ग्यापू’को इन्ट्री भयो भने त्यसभन्दा अघि सञ्चालनमा भइरहेका त्यस्ता व्यवसायको व्यापार समेत उल्लेख्य मात्रामा बढ्यो । जसलाई राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले पनि पुष्टि गर्छ ।
ग्यापुका हेड अफ अपरेशन प्रतिक नापिटका अनुसार कोरोनाका कारण लकडाउनको समयमा सामाजिक दुरी पालना गर्नुपर्ने भए पछि ई–कमर्शको व्यापार बढेको हो ।
‘कोरोनाको समयमै सञ्चालनमा ल्याएको अवस्थामा त्यसबेला पनि राम्रो व्यापार भएको थियो । अहिले अर्थतन्त्र चलायमान भएको अवस्थामा झन् व्यापार व्यवसाय बढ्दै गएको छ,’ नापिटले भने ।
लकडाउनमै शुरु भएको ग्यापुले आफ्नो बजार बिस्तारलाई छिमेकी मुलुक भारतसम्म पनि बिस्तार गर्न सफल भएको छ । नापिटका अनुसार हाल ग्यापुमा दैनिक ५ सयभन्दा बढी अर्डर आइरहेको बताए ।
त्यसैगरी बजारमा पहिलेदेखि नै सञ्चालनमा रहेका दराज डट कम, सस्तो डिललगायतका ई–कमर्श साइटहरुको व्यापारमा उल्लेख्य वृद्धि भयो भने यसैबीच केही नयाँ ई–कमर्श कम्पनीहरुले पनि व्यवसायको शुरुवात गरे । जसमा मुकुन्डो, स्मार्ट डोकोलगायतका कम्पनी छन् ।
त्यति मात्रै होइन, खाना डेलिभरी गर्ने फूडमाण्डू डट कम, भोज डिल डट कमलगायतका अनलाइनले पनि राम्रो व्यापार गर्न सफल भए ।
दुई वर्षदेखि सञ्चानमा रहेको निर्माण साथीका अध्यक्ष कुमार भट्टका अनुसार कोरोनाले गर्दा ई–कमर्शतर्फ ग्राहकहरूको आकर्षण बताउँछन् ।
उनका अनुसार कोरोनाको समयमा करिब ४ महिनासम्म आफ्ना कर्मचारीलाई फिल्डमै पठाउन असहज भएका कारण बन्द भए पनि बाँकीका दिनमा सेवाग्राहीहरूको दैनिक फोन, कल आउन थालेको बताए ।
‘कोरोनाको समयमा ४ महिना ठप्प भयो । तर, त्यसपछिका दिनमा स्वास्थ्यका मापदण्ड पालना गरेर कार्य शुरु भयो,’ उनले भने, ‘कोरोनाले गर्दा बजार ठप्प भएको अवस्थामा ई–कमर्र्शमार्फत फोन गरेर सेवा लिएका थिए ।’
कोरोनाभन्दा अगाडिका दिनमा आफ्नो घरमा आवश्यक सामग्रीका लागि बजारनै धाउनुपर्ने अवस्था थियो भने पछिल्लो समय फोनको भरमा घरघरमा सेवा प्रादन गर्न पुग्ने भएकाले ग्राहकलाई झन सहज रुपमा सेवा प्रदान गर्ने सक्ने बताए ।
कोरोनाको समय मात्रै नभएर अहिले सम्पूर्ण व्यापार व्यवसायको सञ्चालन हुँदा पनि दैनिक १०/१२ जना ग्राहकले विभिन्न कामको फोन आउने गरेको उनको भनाइ छ ।
त्यसैगरी, सस्तोमेलाका सञ्चालक समिता ओझाले कोरोनाले गर्दा ग्राहकहरू बढेको बताइन् । उनका अनुसार पछिल्लो सयम बजारमा अत्याधिक मात्रामा ई–कमर्शको धेरै विकास हुनका साथै व्यापार उल्लेखनीय भएको उनको भनाइ छ ।
साथै, विश्वव्यापी रुपमा फैलिएको कोरोनाले गर्दा मानिसहरूमा अनलाइनमार्फत आकर्षण बढेको बताउँछन् नेपाल ई–कमर्स तथा अनलाईन डेलिभरी सेवा सञ्चालकहरूको साझा फोरमका संयोजक सागर देव भट्ट । उनका अनुसार कोरोनाले गर्दा ठूलो फड्को मार्न नसके पनि एक खालको विश्वासको पाटो भने सिर्जना भएको बताए ।
ई-कमर्शमा आकर्षणसँगै विश्वास पनि बढ्दै
विकसित देशहरूमा ई–कमर्श प्लेटफर्मले ठूलो फड्को मारिसकेको अवस्था छ । तर, नेपालमा ई–कमर्शमार्फत सामान अर्डर गरी आपूर्ति गर्ने प्रचलन खासै विकास भएको छैन ।
विगत केही वर्षदेखि डिजिटल प्लेटफर्मको तीव्ररुपमा विकास भएसँगै पछिल्लो समय अनलाइनमार्फत् कारोबार गर्ने व्यवसायीको पनि अत्यधिक रुपमा बढ्दै गएको पाइन्छ ।
अझ लकडाउनको समयमै अधिकांश अनलाइन सपिङ खुलेर सोही अवधिमा अवसरको रुपमा लिँदै व्यवसाय चलायमान बनाएका छन् । त्यति मात्रै नभई विगतको दिनमा सटर तथा मलमा सीमित भए व्यवसायीले पनि डिजिटलमार्फत् सामग्री बिक्री वितरण गर्दै आएका छन् ।
विगतको दिनमा ई–कमर्शमा विश्वास नगर्नेले व्यक्तिहरुले पनि पछिल्लो समय ई–कमर्शमा पनि विश्वास गर्न थालेको व्यवसायीहरूले बताउँछन् ।
नेपाल ई-कमर्श तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरममा संयोजक सागरदेव भट्टका अनुसार कोरोनाको समय र कोरोना पछिको तुलनामा केही मात्राले ग्राहक बढेको छ । तर कोरोनाभन्दा अगाडिको समयको तुलना भने अत्यधिक किन्ने ग्राहकको आकर्षण बढ्दो रहेको उनको अनुभव छ ।
‘कोरोनाले लकडाउन भएको अवस्थामा बाध्यताले भएपनि अनलाइनमार्फत् अर्डर गर्नुपथ्र्यो । त्यसैले उक्त समयमा अनलाइनले धान्नै नसक्ने व्यापार गरेको थियो,’ उनले क्लिकमान्डूसँग भने, ‘तर, पछिल्लो समय भने ग्राहक केही मात्रामा कम भएपनि अनलाइनप्रति विश्वास र आकर्षण बढेको पाइन्छ ।’
‘कोरोनाले गर्दा ई–कमर्शले फड्को मारेको भन्न मिल्दैन । तर, धेरै जनालाई अनलाइन जान बाध्य बनाउनुका साथै अनलाइन छ है भन्ने विकल्प देखायो । त्यसैले यसलाई एक खुड्किलो पार गरेको भनेर पनि बुझिन्छ,’ भट्टले भने ।
उनका अनुसार कोरोनाकै समयमा कतिपय अनलाइन आएर बन्द पनि भइसकेको अवस्था छ । त्यसले गर्दा देशभर कति अनलाइन छन् र कति व्यापार गर्योे भन्ने तथ्याङ्क नभएपनि कारोबार भने अत्यधिक बढेको बताए । तर, आगामी दिनमा यस क्षेत्रलाई व्यवस्थित रुपमा चलायमान बनाउनको लागि सरकारसमक्ष बसेर छलफलहरू भइरहेको उनले बताए ।
‘नेपालमा ई–कमर्शमा पूर्वाधारहरू विकास नभएको र सरकार पक्षले पनि ऐन कानून बनाइसकेको छैन । तर, यसलाई विकास गर्न अझ प्रभावकारी बनाउन समय लाग्नेछ,’ उनले भने ।
सेवाग्राहीको सकारात्मक प्रतिक्रिया
कोरोना समयले यस क्षेत्रमा ल्याएको परिवर्तनले गर्दा व्यवसायीहरू आबद्ध भई राम्रो व्यापार गर्न सक्ने वातावरण सिर्जना भइसकेको व्यवसायीहरूको भनाइ छ ।
विगतको दिनमा अनलाइनमार्फत विश्वास नगर्ने व्यक्तिले पनि एक पटक सेवा लिएको अवस्थामा पछिका दिनमा पनि सेवा लिइरहेको उनीहरूले बताएका छन् ।
अनलाइनमा सबैभन्दा पहिलो बजारको उचित मूल्य र समयमै सेवा प्रदान गरेको अवस्थामा अधिकांश व्यवसायीहरूलाई राम्रो प्रतिक्रिया आएको उनीहरूको भनाइ छ ।
साथै, सेवाग्राहीले विगतको किनेको सामग्री सकेको अवस्थामा पुनः सोधपुछ गरेर लिने गरेको उनीहरूको अनुभव छ । त्यसैले आगामी दिनमा ई–कमर्शको प्लेटफर्म निकै ज्यादा भएका कारण व्यवसायीहरूले उचित मूल्य र समयमै सेवा प्रदान गरेमा छोटो समयमै गति लिन सक्ने व्यवसायीहरूले बताएका छन् ।
माघमा मात्रै ९३ करोडको कारोबार
पछिल्लो सयम ई-कमर्शमार्फत आकर्षण बढ्दै गएसँगै कारोबार पनि बढेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँदछ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार माघ महिनामा मात्रै १ लाख २७ हजार २३३ वटा कारोबारबाट ९३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
राष्ट्र बैंकले साउन महिनादेखि यस्तो तथ्यांक पनि सार्वजनिक गर्न थालेको हो । अघिल्लो महिना पुसमा १ लाख २० हजार वटा कारोबारबाट ८४ करोड ३० लाख रुपैयाँको कारोबार भएको थियो ।