फेब्रुअरी १४ मा जन्मिएका सुरज बैद्यको प्रेम कहानीः इरानकी तारीणीदेखि मिस इण्डियासम्म



सुरज बैद्य अर्थात् परिचित एक नेपाली व्यवसायी । करिब ५८ वर्षअघि फेब्रुअरी १४ अर्थात् भ्यालेनटाइन डेका दिन जन्मिएका उनी निकै रोमान्टिक छन् ।

जन्मजात व्यवसायी भएका उनी हरेक डिलमा नाफा घाटा विश्लेषण गरिरहन्छन् । तर प्रेमको मामलामा उनले नाफाघाटा सोचेनन् । उनको प्रेम कहानी पनि निकै रोचक छ ।

कलेज पढ्दै गर्दा २४ वर्षको उमेरमै इरानी नागरिक तारिनी फजलीसँग धर्मसमेत त्यागेर विवाह गरे ।

तर विडम्बना, तारिणीलाई दैवले खोसेर लगिदियो तारिनीलाई । तर, बदलामा भगवानले आफ्ना लागि ऋतु सिंह पठाएको बताउँछन् उनी ।

‘प्रेमको मामलामा म कम छैन, राम्रो चिजको प्रेममा तानिन्छु,’ बैद्य भन्छन् ।

हरेक उद्योगी/व्यवसायीलाई तपाईं सबैभन्दा खुसी भएको दिन कुन हो भनेर प्रश्न गर्दा कस्तो उत्तर आउला ? सबैभन्दा धेरै आम्दानी भएको दिन कतिपयको उत्तर यही हुँदो हो ।

तर, सुरज बैद्यको खुसीको क्षण व्यवसाय र आर्थिक विषयभन्दा फरक छ । उनी पूर्वमिस इण्डिया ऋतु सिंहलाई भेट्दा र बोल्न पाउँदा जीवनमै सबैभन्दा खुसी भएका थिए । त्यो खुसी एक क्षणको लागि मात्र रहेन । विवाहमा परिणत भयो । र, सुरज ऋतुसँगको बैवाहिक जीबनमा अहिले पनि उत्तिकै खुसी छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेका बैद्य आफूलाई रोमान्टिक भन्न रुचाउँछन् । सायद त्यही भएर होला आफूभन्दा १५ वर्ष कान्छी ऋतुलाई मनका हिसाबले आफूभन्दा जेठी ठान्छन् ।

सुनौं उनकै शब्दमा 

मेरो पहिलो प्रेम इरानकी तारिनी फजलीसँग अमेरिकामा भयो । र, दोस्रो प्रेम मिस इन्डिया ऋतुसँग । र, मैले दुबैलाई आफ्नो बनाएँ । सायद यो मेरो प्रेमको सफलता पनि हो ।

तर, उनीहरुलाई आफ्नो बनाउन मैले ठूलै कसरत गरेँ ।

सायद ‘लेडिज क्रेजी’ भएर होला मेरो ‘वान साइडेड लभ अफेयर’ चल्थ्यो । मैलै ज-जसलाई प्रस्ताव राखेँ । र, उनीहरुलाई आफ्नो बनाउन सफल पनि भएँ । रोचक कुरा त के छ भने उनीहरु नै मेरो ‘लेडिज क्रेजी ह्याबीट’ मन पराउँदैनथे ।

तारिनी नेपाली साथीसँग भर्जिनिया घुम्न आएको बेला हाम्रो पहिलो भेट भयो । उनी पेन्सिभेनिया बस्थिन् । म भर्जिनिया । मेरो अर्पाटमेन्टमा ६ जना महिला साथीहरु बस्थे । उनी त्यहीँ बसिन् । त्यही क्रममा मैले उनलाई मन पराएँ । फोन नम्बर आदानप्रदान भयो । लेडिज क्रेजी यो मन थामिएन । तारिनीलाई फोन हान्न शुरु गरिहालेँ । उनलाई मेरो बानी मन पर्दैन थियो । त्यसैले उनले ६ महिनासम्म मेरो फोन उठाइनन् । यद्यपि मैले प्रयास जारी राखेँ । २ वर्षसम्म तारिनीको पछि लागिरहेँ ।

धर्म परिवर्तन गरेँ

पढाइ सकेर म नेपाल फर्किएँ । बिस्तारै सम्पर्क हुन थाल्यो । मेरो आग्रहमा उनी नेपाल घुम्न आइन् । मेरो बुबा–आमालाई भेटिन् । फर्किने बेला उनलाई दिल्लीसम्म छोड्न गएँ । त्यहाँ पुगेपछि उनले इरान जाऊँ भन्ने प्रस्ताव गरिन् ।

भारतस्थित इरानी दूतावास गयौं । तर, भिसा पाइएन । ऊ इरानी भए पनि म विदेशी केटा थिएँ । दूतावासका कर्मचारीले विहे गरेको कागज बनाएर आयौ भने मात्रै भिसा पाइन्छ भने । टेम्पो चढेर पुरानो दिल्लीको एक मस्जिद गयौं । त्यहाका पूजारी (काजी) लाई मुस्लिम परम्पराअनुसार विहे भएको कागज बनाइदिन भन्यौ । निकै जोड गरेपछि मात्र उनले कागज बनाइदिए । मेरो नाम सिराज राखियो । दूतावासले भिसा दियो । तारिनी गएको केही महिनापछि म इरान गएँ । उनका बुबाआमाले तिमीहरु अब विहे गर भन्नुभयो । हामी राजी भयौं । इरानको संस्कार बडो जटिल रहेछ । तारिनीका लागि म छोटो अवधिमै मुस्लिम बने । र, विवाह गरियो ।

तर, बिडम्बना २६÷२७ वर्षअघि काठमाडौंमा भएको थाई एयरको दूर्घटनामा तारिनीको निधन भयो । उनीसँगका दुई छोरी छन् ।

त्यसपछि विहे नगर्ने सोचमा थिएँ । तर, मेरो त्यो सोच ऋतुलाई देखेपछि बदलियो । १६ वर्षअघि उनीसँग वैवाहिक बन्धनमा बाँधिए । सायद ऋतुलाई नभेटेको भए दोस्रो विहे गर्ने थिइँन ।

ऋतुसँगको त्यो भेट…

म बाल मन्दिरमा काम गर्थेँ । बाल मन्दिरको अवस्था दर्दनाक थियो । फेसन शो गर्ने र उठेको रकम बाल मन्दिरका लागि खर्च गर्ने सोच बनाएर नेपालमै पहिलोपटक फेसन शो आयोजना गरेँ । २५ जना भारतीय मोडलसँगै मिस इण्डिया ऋतु सिंह पनि आइन् । उनी यति आकर्षक थिइन् कि उनीसँगको पहिलो भेटमै मेरो मन पग्लियो । यो मन भन्ने चीज बडो अप्ठ्यारो हुँदोरहेछ । कन्ट्रोल नै गर्न नसकिने ।

फेसन शो सकियो । ऋतुलाई मसँगै राखूँजस्तो लाग्यो । कसरी उनलाई मेरा मनका कुरा भन्ने र प्रभावित बनाउने भन्ने सोचमा मग्न थिएँ । ऋतुसँग आएका २४ जना मोडेललाई प्लेन टिकट काटेर पठाएँ । ऋतुलाई ‘तिम्रो चाहीँ टिकट मिलेन’ भनेर यही राखेँ । वास्तवमा टिकटचाहीँ मिलेको थियो । मैले होइन मेरो मनले रोकेको हो । यस्तो कुराहरु दिमागले गर्न सक्दो रहेनछ ।

दुई दिनसम्म ऋतुको मनमा बास बस्नका लागि जग हाल्ने प्रयास गरे । घुमाउन नगरकोट लगेँ । हामीले सँगसँगै हिमाल हे¥यौं, सूर्योदय र सूर्यास्त हे¥यौं । काठमाडौं घुमाएँ । जीवनको बारेमा कुरा ग¥यौं । फ्रेण्डसीप बढ्यो । पहिलो पटक भेट्दा ऋतु मिस इण्डिया हो भन्ने थाहा थिएन । तर, उ मिस वल्र्ड नै हुनुपर्ने केटी थिई जस्तो लागेको थियो ।

ऋतु दिल्ली फर्केपछि फोनमा कुरा हुनथाल्यो । यतिसम्म कि कति रात त साँझ ८ बजेदेखि विहान ४ बजेसम्म फोनमा कुरा गरियो । कहिलेकाहीँ त लाग्छ नेपाल टेलिकम मेरै कारणले पने धनी बनेको हो कि ।

मन थाम्नै सकिएन । उनलाई भेट्न ४/५ पटक दिल्ली धाएँ । दुइटी छोरी भएकोले मलाई निकै अप्ठ्यारो थियो । मिस इण्डिया भइसकेकी ऋतुलाई कन्भिन्स गर्नु सामान्य कुरा थिएन । किनभने उनलाई चाहने धेरै थिए ।

जसरी भएपनि ऋतुलाई आफ्नो बनाउन पाए हुन्थ्यो भन्ने लागेको थियो मलाई । ऋतु नभेटेको भए सायद म आजसम्म पनि अविवाहित नै हुन्थेँ । ऋतुको शरिरले मात्रै होइन, मन र म्याचुरिटीले पनि मलाई आकर्षित गरेको थियो । जब मैले तारिनीको बारेमा ऋतुलाई सुनाएँ । उनी रोइन् ।

चिनजान भएको ६/७ महिनापछि उनलाई प्रेम प्रस्ताव गरेँ ।

विनोद चौधरी उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदा उहाँको नेतृत्वमा हामी भारत घुम्न गएका थियौं । त्यो भ्रमणमा विनोदजीको मिटिङ छोडेर म ऋतुसँग कफी सपमा गफिएर बसेको हुन्थेँ । त्यो बेलादेखि हामी निकै सिरियस भइसकेका थियौं । ऊ परिवारकी जेठी छोरी । बुबा भारतीय सेनाको कर्णेल । घरमा पनि बडो कडा थियो । चौथो पटक दिल्ली गएपछि मैले उनलाई प्रस्ताव गरेँ । उनले बुबालाई सोध्नुपर्छ भनिन् । आधुनिक देखिए पनि ऋतु परम्परावादी छ ।

प्रस्ताव गरेको ७ महिनापछि उनले र उनको परिवारले मलाई स्वीकार गर्यो । हाम्रो सम्बन्ध विवाहमा परिणत भयो । विवाहपछि हाम्रो प्रेम अझ बढी झाँङ्गिएको छ । उमेरमा ऋतुभन्दा म १५ वर्ष जेठो भए पनि मनले १ वर्ष कान्छो छु ।

मलाई कमैले गरे । तर मैले चाहीँ धेरैलाई गरेँ ।

युवा उमेरमा जोश हुन्छ । केटी देख्नेबित्तिकै प्रस्ताव गरेको घटना त दर्जनौ छन् । तारिनी र ऋतु बाहेक अर्की एकजनालाई पनि गम्भीर भएर प्रस्ताव गरेको थिएँ । स्कुलको समयमा भएकाले त्यो घटना बिर्सेँ ।

अहिलेसम्म मैले धेरै केटी साथी बनाएँ । तर मेरा लागि केटीहरुले नै खर्च गर्थे । मैले कहिल्यै खर्च गर्नु परेन । सायद मलाई भगवानले नै विशेष गुण दिएका हुन् कि ?

दुखका ती पलहरु

मेरो बुबा र आमाको विवाह अन्तर्जातीय हो । मेरो आमा शेर्पेनी भएकै कारण हजुरबुबाहरुले घर भित्र्याउनु भएन । त्यकारण बुबा असनमा एउटा कोठा लिएर बस्नुभयो । आमाले सिस्नो टिपेर खुवाउनुहुन्थ्यो । मासु भन्ने कुरा लक्जरी थियो हाम्रो घरमा त्यो मैले विर्सेको छैन । बाल्यकालमा फाटेको कपडा लगाएर खिचेको फोटो अहिले मैले घरमा सजाएर राखेको छु । जसले मलाई विगत सम्झाउँछ । त्यो फोटोले पैसाले होइन व्यवहारले मान्छे बनाउँछ भनिरहे झैं लाग्छ ।

धेरै पछि उहाँहरुको सम्बन्धलाई परिवारले स्वीकार गर्यो । स्वीकार गरिसकेपछिको अवस्थाको पनि मलाई स्मरण छ- हाम्रो घरमा भोज हुँदा आमा र मलाई भर्याङमुनी राख्नुहुन्थ्यो । आमा धेरै रुनुहुनथ्यो । आमा फर्किएर जान चाहनुहुन्थ्यो तर फर्केर जानसक्ने अवस्था थिएन । किनभने उहाँको माइत सोलुको नाम्चे हो । बुबा घुम्न जाँदा उहाँलाई भगाएर ल्याउनुभएको थियो । मैले मेरो आमाको दुःख देखेको छु । त्यसकारण म कसैलाई पनि सानो मान्दिन ।

५६ वर्षअघि बुबाले ६०/७० डलरले व्यापार शुरु गर्नुभयो । हङकङहुँदै जापान गएर टोयाटोको डिस्टव्युटर्स लिएर आउनुभयो । अहिले बैद्य अर्गनाईजेसनको २ सय करोडजति लगानी होला ।


पुष्प दुलाल