नक्सालमा २ करोड लगानीमा ‘फिलिपिनो बेकसप’
काठमाडौं । कोरोना महामारीका कारण अर्थतन्त्र ठप्प प्रायः भयो । कैयन उद्योग बन्द भए भने नयाँ लगानी आउने क्रम सुस्तायो । व्यापार–व्यवसाय नहुँदा कैयनले रोजगारी र पारिश्रमिक कटौती गर्नुपर्यो ।
तर लामो समयसम्म विदेशमा बसेका भेषबहादुर खड्कालाई भने कोरोना माहामारीले थलिएको अर्थतन्त्रमा व्यवसाय गर्ने सोच आयो । फिलिपिन्समा रहँदा बेकरी उद्योगमा काम गरेका खड्काले नेपालीलाई पनि गुणस्तरीय बेकरीको स्वाद चखाउने योजना महामारीकै बीचमा क्याफेको जग हाले ।
‘नेपालमा नाम चलेका अधिकांश बेकरी क्याफेबाट उत्पादन हुने केक, पेस्टिजको स्वाद समान पाएँ, मैले लिइरहेको स्वादको तुलनामा फिका लाग्यो । त्यसपछि नेपालीलाई पनि बेकरी खानेहरुलाई फरक स्वाद चखाउने योजना अनुरुप बेकरी क्याफे खोल्ने निधो गरेँ,’ क्लिकमाण्डूसँगको कुराकानीमा खड्काले सुनाए ।
यही सोचअनुरुप उनले बेकरी सप खोले । अनि नाम राखे ‘फिलिपिनो बेकसप’ ।
नक्सालको नारायणचौरदेखि पूर्वपट्टीको भवनको भुइँतलामा उनले गत अगस्ट महिनादेखि बेकरी सपको तयारी शुरु गरे । र, डिसेम्बरदेखि सञ्चालनमा ल्याए ।
उनको उदेश्य थियो, केकमा र बेकरी आइटममा भेराइटी ल्याउने र हरेक दिन फरक स्वाद फस्कने । सञ्चालन भएको केही समयमै उनको बेकरीको स्वाद मन पराउनेको संख्या बढ्दै गयो ।
उनको बेकसपमा बिहान र दिउँसोको खाजादेखि विभिन्न पार्टीका लागि आवश्यक सम्पूर्ण बेकरी आइटमहरु उपलब्ध छन् । बेकसपमा काम गर्नेहरु अधिकांश फिलिपिनोहरु छन् । जसले फिलिपिन्समै रहँदा सिकेको सीपलाई प्रयोग गरी नेपालीहरुलाई नयाँ र उत्कृष्ट स्वाद फस्किरहेका छन् ।
कर्पोरेट संस्थाको बाहुल्यता भएको नक्साल क्षेत्रमा काम गर्ने अधिकांश कर्मचारीहरुका लागि अहिले फिलिपिनो बेकसपमा खाजा खानु र केक अर्डर गर्न सजिलो भएको छ ।
ग्राहकले बेकरीमा बसेर पनि खान पनि सकुन भन्ने उद्देश्यले १२ देखि १५ जनासम्म बस्न मिल्ने गरी व्यवस्थापन समेत खड्काले गरेका छन् । जहाँ हरेक दिन फरक फरक स्वादका केक र पेस्टिजको स्वाद उनीहरुले लिन सक्छन् ।
‘हामीसँगै बेकरीका हजारौं आइटम छन्, त्यसैले हरेक दिन एउटै स्वादका बेकरी आइटम बनाउँदैनौं, हरेक ५० देखि ७० वटा भेराइटीले क्याफेको र्याक भरिएको हुन्छ, ताकी ग्राहकले हरेक दिन नयाँ स्वाद लिन सकून,’ उनले भने ।
बेकसपमा हाइजेनिकलाई अत्यन्तै ध्यान दिइएको छ । ओपन किचनको कन्सेप्ट लागू गरिएको छ । ताकी ग्राहकले बेकरी आइटमहरु कति हाइजेनिकरुपमा उत्पादन हुन्छन् भन्ने थाहा पाउन भन्ने खड्काको उदेश्य छ ।
खड्काका अनुसार बेकसपमा न्यूनतम १ हजार रुपैयाँदेखि ४० हजार रुपैयाँपर्ने केक अर्डर अनुसार उपलब्ध गराउन सकिन्छ भने खाजाका रुपमा ग्राहकले रेड भेल्भेट केक, बेल्जियम चकलेट केक, तेरामिसु केक, ओरियोलगायतका केकको स्वाद लिन पाउनेछन् ।
हेर्दा शानदार लाग्ने बेकसपमा ग्राहकको बजेट अनुसार खानेकुरा उपलब्ध छ ।
‘ग्राहकको आवश्यकता अनुसार न्यूनतमदेखि अधिकतम खर्चमा बेकरीका प्रडक्टहरु खान सक्नछन्, अर्डर अनुसार विभिन्न स्वाद र डिजाइनका केक पनि उत्पादन गर्न सकिन्छ,’ खड्काले सुनाए ।
हाल बेकसपमा दैनिक १ लाख रुपैयाँभन्दा बढीको केक मात्रै बिक्री हुन्छ भने पेस्टिजलगायतका उत्पादन पनि ग्राहकले औधी मन पराएका छन् ।
काठमाडौंका अन्य बेकरीभन्दा भिन्दै र उत्कृष्ट स्वाद दिने उद्देश्य अनुरुप काम गरिरहेकाले पछिल्लो समयमा नियमित आउने ग्राहकको संख्या बढेको खड्काले बताए ।