कोभिड प्रभावित क्षेत्रमा साढे ९४ अर्ब कर्जाको पुनसंरचना, कस्को कति ?



काठमाडौं । बैंक तथा वित्त कम्पनीले कोभिड प्रभावित क्षेत्रमा साढे ९४ अर्ब रुपैयाँ बढी ऋणको पुनरसंरचना गरेका छन् ।

कोभिड प्रभावित क्षेत्रका ऋणी व्यवसायीको कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना गर्ने समय राष्ट्र बैंकले गत साउनमा पुस मसान्तसम्मको समय दिएको थियो ।

जसअनुसार बैंकहरुले कोभिड प्रभावित क्षेत्रका ऋणीको आग्रहमा कर्जाको पुनरतालिकीकरण बैंक तथा वित्तीय संस्थाहरुले गरेका छन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार ऋणीको व्यवसायीक योजनासहित पुनरसंरचना÷पुनरतालिकीकरणको आग्रहमा पुस मसान्तसम्म भुक्तानी हुनु पर्ने कुल ब्याजमा १० प्रतिशत भुक्तानी भएमा त्यस्तो कर्जाको ५ प्रतिशत प्रोभिजन गरेर पुनरतालिकीकरण गर्न पाउँने व्यवस्था थियो ।

सो व्यवस्था अनुसार अधिकांश बैक तथा वित्त कम्पनीले कोभिड प्रभावित क्षेत्रको ऋणको आग्रहमा यस्तो सहुलियत दिएका छन् भने केही बैंक तथा वित्त कम्पनीले भने कर्जाको पुनरसंरचना गरेका छैनन् ।

राष्ट्र बैंकद्वारा उपलब्ध तथ्यांकअनुसार पुस मसान्तमा २५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ७ वटा वित्त कम्पनीले ऋणीको आग्रहमा ९४ अर्ब ६८ करोड ५० लाख रुपैयाँ कर्जाको पुनरसंरचना गरेका छन् ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २ वटाले कर्जाको पुनरसंरचनाको विवरण राष्ट्र बैंकमा पठाएका छैनन् । त्यसैगरी ९ वटा विकास बैंक र १४ वटा वित्त कम्पनीले कोभिड प्रभावित क्षेत्रको कर्जाको पुनरसंरचना गरेका छैनन् ।

‘कुल कर्जाको २.६ प्रतिशतमात्र पुनसंरचना हुन भनेको बैंकहरुले ऋणीको आवश्यकताअनुसार सहुलियत नदिएको हो भन्ने शंका हुन जान्छ,’ राष्ट्र बैंक नियमनका विभागका एक अधिकारीले क्लिकमाण्डूसँग भने, ‘कोभिड प्रभावित ऋणीले राष्ट्र बैंकमा गरेको सहुलियतका मागअनुसार कुल कर्जाको १० प्रतिशत बढी पुनसंरचना हुने अनुमान गरिएको थियो ।’

अहिले पनि कतिपय व्यवसायी ऋणीले बैंक तथा वित्त कम्पनीबाट राष्ट्र बैंकले तोकेअनुसारको सहुलियत नपाएको गुनासो सार्वजनिकरुपमा नै गर्दै आएका छन् । बैंकहरुले ऋणीको आवश्यकताअनुसार कर्जाको पुनसंरचना नगरेको उनको अनुमान छ ।

यदी बैंकले ऋणीको उचित आग्रहलाई अटेरी गरेर आवश्यकताअनुसार कर्जाको पुनसंरचना नगरेको पुष्टी भएमा राष्ट्र बैंकले दफा १०० बमोजिम कारवाही गर्ने ती अधिकारीको भनाइ छ ।

तर बैंकरहरु भने कोभिड प्रभावित ऋणीले पुस मसान्त अगावै अन्य बैंकबाट थप कर्जा ल्याएर ऋणको साँवा ब्याज भुक्तानी गरेको र कर्जा स्वाप समेत भएको हुँदा पुनरसंरचना थोरै कर्जाको मात्र भएको बताउँछन् ।

कुनले कति पुनसंरचना गरे ?
कोभिड प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको १० प्रतिशत ब्याज लिएर २५ वाणिज्य बैंकले ८७ अर्ब ८४ करोड ५० लाख रुपैयाँ, १० विकास बैंकले ६ अर्ब ५ करोड ३० लाख रुपैयाँ र ७ वित्त कम्पनीले ७८ करोड ७० लाख रुपैयाँ गरी कुल ९४ अर्ब ६८ करोड ५० लाख रुपैयाँ कर्जा पुनरसंचरना गरेका हुन् ।

पुस मसान्तसम्म बैंक तथा वित्त कम्पनीले ३६ खर्ब ५८ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छन् । जसको २.६ प्रतिशत कर्जा पुनरसंरचना भएको हो ।

वाणिज्य बैंकतर्फ
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये राष्ट्र बैंकले दिएको सहुलियत अनुसार ऋणीको आग्रहमा कुमारी बैंक र कृषि विकास बैंक बाहेक सबैले पुस मसान्तमा पुनरसंरचना गरेका छन् ।

कोभिड प्रभावित क्षेत्रका ऋणीलाई भुक्तानी वक्यौतामध्ये १० प्रतिशत ब्याज लिएर ६ वटा वाणिज्य बैंकले ५ अर्ब रुपैयाँदेखि १० अर्ब ५० करोड रुपैयाँसम्म, १४ वटा बैंकले १ अर्ब रुपैयाँदेखि ५ अर्ब रुपैयाँसम्म र ५ वटाले १ अर्ब रुपैयाँभन्दा कम कर्जाको पुनरसंरचना गरेका छन् ।

जसमध्ये सबैभन्दा बढी ग्लोबल आइएमई बैंक र सबैभन्दा थोरै सनराइज बैंकले कर्जाको पुनरसंरचना गरेको छ ।

पुस मसान्तसम्म ग्लोवल आइएमई बैंकले १० अर्ब ५० करोड ४६ लाख रुपैयाँ कर्जा १० प्रतिशत ब्याज लिएर पुनरसंरचना गरेको छ । साथै नेपाल इन्भेष्टमेण्ट बैंकले ९ अर्ब ९५ करोड ६० लाख रुपैयाँ, मेगा बैंकले ८ अर्ब ६३ करोड ७१ लाख रुपैयाँ र सानिमा बैंकले ६ अर्ब २१ करोड ७५ लाख रुपैयाँ कर्जाको पुनरसंरचना गरेका छन् ।

लक्ष्मी बैंकले ५ अर्ब ५९ करोड ८० लाख रुपैयाँ, एभरेष्ट बैंकले ५ अर्ब १ करोड ३९ लाख रुपैयाँ, एनएमबि बैंकले ४ अर्ब ९६ करोड ८ लाख रुपैयाँ र सिद्धार्थ बैंकले ४ अर्ब ८२ करोड २४ लाख रुपैयाँ कर्जाको पुनरसंरचना गरका हुन् ।

सो अवधिमा नबिल बैंकले ४ अर्ब २० करोड ४३ लाख रुपैयाँ, प्राइम बैंकले ४ अर्ब ८ करोड ७५ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूले ४ अर्ब ५ करोड ३६ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले २ अर्ब ८२ करोड ६१ लाख रुपैयाँ कर्जा पुनरसंरचना गरेका छन् ।

साथै, नेपाल एसबीआई बैंकले २ अर्ब १३ करोड ७२ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकले २ अर्ब ११ करोड ३५ लाख रुपैयाँ र हिमालयन बैंकले २ अर्ब ६ करोड १९ लाख रुपैयाँ कर्जाको पुनरसंरचना गरेका छन् ।
यस्तै, सिटिजन्स बैंकले १ अर्ब ९२ करोड ४२ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८५ करोड रुपैयाँ, एनसीसी बैंकले १ अर्ब २९ करोड ३९ लाख रुपैयाँ र सिभिल बैंकले १ अर्ब १५ करोड ४७ लाख रुपैयाँ कर्जाको पुनरसंरचना गरेका हुन् ।

पुस मसान्तसम्म कोभिड प्रभावित क्षेत्रमा कर्जामा एनआएसी एशिया बैंकले ३७ करोड ७८ लाख रुपैयाँ, नेपाल बैंकले २२ करोड १३ लाख रुपैयाँ, सेञ्चुरी बैंकले १६ करोड ५६ लाख रुपैयाँ र सनराइज बैंकले २० लाख रुपैयाँ कर्जाको पुनरसंरचना गरेका छन् ।

विकास बैंकतर्फ
हाल १९ वटा राष्ट्रिय र क्षेत्रीयस्तरका विकास बैंकहरु सञ्चालनमा छन् । जसमध्ये ८ वटा राष्ट्रियस्तरका र बाँकी क्षेत्रीयस्तरका विकास बैंकहरु हुन् ।

विकास बैंकमध्ये ६ वटा राष्ट्रियस्तरका र २ वटा क्षेत्रीयस्तरका विकास बैंकहरुले न्यूनतम ३ करोड रुपैयाँदेखि अधिकतम १ अर्ब ८१ करोड रुपैयाँसम्म कर्जाको पुनरसंरचना पुस मसान्तमा गरेका छन् ।

जसमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले १ अर्ब ८१ करोड ७८ लाख रुपैयाँ कर्जा १० प्रतिशत ब्याज वक्यौता लिएर पुनरसंरचना गरेको छ ।

साथै, गरिमा विकास बैंकले ८४ करोड ४० लाख रुपैयाँ, लुम्बिनी विकास बैंकले ७४ करोड १२ लाख रुपैयाँ, तिनाउ मिसनले ६६ करोड २२ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्टले ५५ करोड ७९ लाख रुपैयाँ कर्जाको पुनरसंरचना गरेको छ ।

सो अवधिमा महालक्ष्मी विकासले ५२ करोड ८२ लाख रुपैयाँ, ज्योति विकासले ५० करोड १३ लाख रुपैयाँ, एक्सल डेभलपमेन्टले ३६ करोड ९२ लाख रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकले ३ करोड ३ लाख रुपैयाँ कर्जाको पुनरसंरचना गरेको हो ।

वित्त कम्पनीतर्फ
हाल २० वटा वित्त कम्पनीहरु सञ्चालनमा छन् । जसमध्ये कोभिड प्रभावित क्षेत्रका ऋणीलाई १० प्रतिशत वक्यौता ब्याज लिएर ६ वटा कम्पनीले कर्जाको पुनरसंरचना गरेका छन् ।

पुस मसान्तसम्म कर्जाको पुनसंरचना ६ वटा वित्त कम्पनीहरु न्यूनतम ७० लाख रुपैयाँदेखि अधिकतम २४ करोड रुपैयाँसम्म गरेका छन् । जसमा सबैभन्दा धेरै युनाइटेड फाइनान्सले २४ करोड ५८ लाख रुपैयाँ कर्जाको पुनरसंरचना गरेको हो ।

साथै, आइसीएफसी फाइनान्सले २४ करोड २८ लाख रुपैयाँ, सेन्ट्रल फाइनान्सले १४ करोड ९८ लाख रुपैयाँ, रिलायन्स फाइनान्सले ११ करोड २५ लाख रुपैयाँ, सिर्जना फाइनान्सले २ करोड ९० लाख रुपैयाँ र प्रोग्रेसिभ फाइनान्सले ७० लाख रुपैयाँ कर्जाको पुनरसंरचना गरेको छ ।


क्लिकमान्डु